अघिल्ला पटकका भूकम्पबाट शिक्षा लिएर पुनर्निर्माण गर्छौँ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७२ सालमा गएको महाभूकम्प र त्यसपछि आएका पटक पटकका भूकम्पबाट शिक्षा लिएर पुनर्निर्माणको काम गर्ने तयारीमा सरकार रहेको बताएका छन् । बुधवार ललितपुरमा आयोजित भूकम्प प्रभावित क्षेत्रमा विपत् व्यवस्थापन तथा पुनर्निर्माण सम्बन्धी बृहत् अन्तरक्रियामा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।
‘प्रभावित क्षेत्रमा क्षतिको आकलन र आवश्यकता पहिचानको काम करिब करिब सम्पन्न भएको छ । यसका आधारमा उपयुक्त कार्य योजना तय गरी प्रदेश र स्थानीय तहको अगुवाइ तथा तीनै तहको समन्वयमा पुनः निर्माणको कार्य प्रारम्भ गर्नेछौँ’, प्रधानमन्त्रीले भने, ‘घरहरू मात्रै बनाएर पुग्दैन, त्यहाँ सार्वजनिक संरचनाको पुनर्निर्माण तथा आर्थिक, सांस्कृतिक सहित समग्र पुनर्निर्माणको योजना बनाएर अघि बढ्ने योजना हुनुपर्दछ ।’
पुनर्निर्माणको काम अघि बढाउँदा कर्णाली र सुदूरपश्चिमका जनताको सामाजिक, सांस्कृतिक पहिचान र संस्कृतिको सम्मानका साथै उनीहरूसँगको छलफल र सहमतिका आधारमा निर्णय गर्ने र विपत् व्यवस्थापनमा स्थानीय तहको क्षमता अभिवृद्धि हुने गरी कार्य योजना बनाउन प्रधानमन्त्रीले निर्देशन दिए ।
पुनर्निर्माणको कार्यमा स्थानीय स्रोत साधनको उपयोग र परिचालन, सीप विकास तथा रोजगारी सिर्जनाको अवसर, मौलिक तथा भूगोल र जलवायु अनुकूल बस्ती विकासलाई समेत विशेष ध्यान आग्रह गर्दै प्रधानमन्त्रीले भने ‘२०७२ को गोरखा र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको भूकम्पको अनुभवबाट पाठ सिक्दै नेपाललाई कसरी विपत् र जलवायु परिवर्तन उत्थानशील बनाउने भन्ने चुनौती हाम्रासामु छ ।’ उनले २०७२ मा गठन गरिएको पुनर्निर्माण प्राधिकरण जस्तो छुट्टै निकाय बनाउने बाटोमा नजाने पनि बताए ।
‘राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई अझै सशक्त बनाउन ऐन परिमार्जन गरेर भए पनि यसलाई साधन स्रोत सम्पन्न गरेर र यस प्राधिकरणको साङ्गठनिक संरचनालाई मजबुत बनाएर यसैमार्फत पुनर्निर्माणको काम अघि बढाउँछौँ’, प्रधानमन्त्रीको भनाइ छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण