आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भारतीय विदेशमन्त्रीसँग नेपालले भोगिरहेको समस्याबारे आवाज उठाउन आवश्यक : रिजाल

बुधबार, १८ पुस २०८०, २० : ४०
बुधबार, १८ पुस २०८०

काठमाडौँ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा विदेश विभागका उपप्रमुख विष्णु रिजालले भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउँदा नेपालका सरकारले देशको हितमा अडान लिनुपर्ने बताएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले छिमेकी मुलुकसँग आफ्नो देशको हितमा अडान राख्दा कुनै पनि राष्ट्र नरिसाउने उनले बताए । 

उनले आफ्नो पार्टीको तर्फबाट भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको सफलताको शुभकामना व्यक्त गरे । नेपालको तुलनामा भूगोल, अर्थतन्त्र र जनसङ्ख्याको आधारमा भारत ठुलो भए पनि सार्वभौम सत्ताको दृष्टिले दुवै देश समान हैसियतमा रहेको उनको भनाइ छ । सार्वभौमसत्ता र देशको हितलाई ध्यानमा राखेर सरकारले आफ्ना कुराहरू राख्नुपर्ने उनले बताए । 

केपी शर्मा ओली प्रधानमन्त्री भएको बखत संविधान संशोधन गरेर नेपालको वास्तविक भूभागसहित राखेर नक्सा सार्वजनिक गर्दा आफूहरूले भारत सरकारसँग वार्ता र छलफलबाट समाधान खोज्न आग्रह गरेको उनले स्मरण गराए । त्यसपछि सरकार परिवर्तन भएको र वर्तमान सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण हुँदा यस विषयलाई कार्पेटमुनि लुकाइएको उनको टिप्पणी छ । 

एमालेले कसैलाई पनि नहेप्ने र आफू पनि नहेपिने उनको भनाइ छ । एमाले समस्याहरूलाई वार्ताका माध्यमबाट समाधान गर्नुपर्छ भन्ने कुरामा विश्वास गर्ने दल भएको उनले बताए । 

भारतीय विदेश मन्त्रीको नेपाल भ्रमणका क्रममा नेपालले भोगिरहेको समस्याबारे जोडदार रूपमा आवाज उठाउन आवश्यक रहेको उनले बताए । भारतमा चिकित्सा अध्ययन गरिरहेका नेपालीहरूलाई त्यहाँ समान कामको समान ज्याला नरहेको र भारत भ्रमणका क्रममा नेपालीहरूले त्यहाँ सहज रूपमा सिम कार्ड नपाउनेलगायतका विषयमा पनि जोडदार रूपमा कुरा राख्नुपर्ने उनको माग छ । 

नेपाल र भारतबिच रहेका जति पनि समस्यालाई वार्ता र संवादको माध्यमबाट समाधान खोजेर समाधान हुन नसकेका कुरालाई पुनः वार्ता र संवादको वातावरण बनाउनुपर्ने उनको भनाई छ । एस जयशंकरको नेपाल भ्रमणका क्रममा राष्ट्रिय हित, मर्यादा, स्वाभिमान र राष्ट्रिय स्वार्थको कुरा राख्न उनले नेपाल सरकार र परराष्ट्रमन्त्री एनपी साउदलाई आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप