बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
उत्पादन

एउटै पालिकामा एक सिजनमा २५ करोडको सुन्तला, बारीबाटै बिक्री हुन थालेपछि किसान दङ्ग

शुक्रबार, २० पुस २०८०, ०९ : २४
शुक्रबार, २० पुस २०८०

धनगढी । कैलालीको चुरे गाउँपालिका–१, घरखेडाका लालसिंह धामी ७ वर्षदेखि सुन्तला खेतीमा रमाएका छन् ।

पुर्ख्यौली घर दार्चुलाबाट २०७३ पुस ३ गते कैैलालीको चुरेमा बसाइ सरेका धामी सुन्तला र तरकारी खेतीबाटै जीविकोपार्जन गर्दै आएका छन् । बजारको समस्या नभएपछि उनी सुन्तला र तरकारी खेतीको आम्दानीले दङ्ग छन् ।

‘दार्चुलाबाट आएर घरखेडामा ७० लाखमा ५ रोपनी १२ आना जग्गा किनेको हुँ । ६ वर्षको अवधिमै सबै लगानी सुन्तलाबाट उठिसक्यो । यो मेरो सातौँ वर्ष हो,’ धामीले भने ।

उनको बारीमा जम्मा २५० बोट सुन्तला छ । तीमध्ये २ सय वटा बोटले फल दिन थालेका छन् । पुस १५ गतेसम्ममा ५८ क्विन्टल सुन्तला बिक्री गरिसकेको उनले सुनाए । अझै २० क्विन्टल जति सुन्तला बोटमै रहेको उनी बताउँछन् ।

हालसम्म ४ लाखभन्दा बढीको सुन्तला बिक्री गरिसकेका धामीले सिजनमा ७ लाखसम्म आम्दानी हुने जानकारी दिए ।

उनले उत्पादन गरेको सुन्तलाको मुख्य बजार अत्तरिया, धनगढी र महेन्द्रनगर हो । व्यापारीहरु बारीमै आएर सुन्तला किनेर लैजान थालेपछि उनी दङ्ग छन् ।

उनले भने, ‘हामीले बजारको लागि यताउती जानु पर्दैन । व्यापारीहरु यहीँ आउँछन् र लैजान्छन् । हामीले टिप्ने र तौलिनेमात्रै हो । बजारको समस्यै छैन ।’

Suntala bari (3)

घरखेडाका किसान रमेश कडेललाई पनि सुन्तला बिक्री गर्न आजभोलि भ्याइनभ्याइ छ । कडेलले यो सिजनमा मात्रै डेढ सय क्विन्टल सुन्तला बिक्री गरिसकेको जानकारी दिए ।

३ सय बोट सुन्तला रोपेका कडेलले यो सिजनमा १२ लाखको सुन्तला बिक्री गरेका छन् । जसमा मल, पानी, श्रमको गरी जम्मा १ लाखसम्मको खर्च गरेको उनको भनाइ छ ।

चुरे गाउँपालिकाका १ नं. वडामा मात्रै ४२ जना किसानले सुन्तला खेती गर्छन् । उनीहरुले बारीबाटै थोक रुपमा प्रति किलो ७५ देखि ८० रुपैयाँमा सुन्तला बिक्री गर्दै आएका छन् ।

सुन्तला बालीको पकेट क्षेत्र मानिने कैलालीको पहाडी जिल्ला चुरे गाउँपालिकामा एक हजारभन्दा बढी किसानको प्रमुख खेती सुन्तला र तरकारी खेती हो ।

चुरेमा एक टोल एक उत्पादन, एक किसान एक पेसाको अवधारणा

चालु सिजनमा मात्रै २५ करोडको सुन्तला उत्पादन भएको चुरे गाउँपालिकाका अध्यक्ष चक्र बोगटी बताउँछन् । पछिल्लो समय यहाँका किसानले आधुनिक तरिकाले खेती गर्दै आएकाले यहाँको उत्पादकत्व बर्सेनि बढोत्तरी भएको उनले सुनाए ।

एउटै किसानले सिजनमा ३० लाखसम्मको सुन्तला बिक्री गर्दै आएको बताइएको छ । सुन्तला र तरकारी खेती चुरे गाउँपालिकाको अर्थतन्त्रको मुख्य आधार रहेको अध्यक्ष बोगटीको भनाइ छ । जसको बृद्धि र विकासका लागि गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उनी बताउँछन् ।

Suntala bari (4)

चुरेमा ग्राप नेपाल नामक गैरसरकारी संस्थाको ७० लाख र गाउँपालिकाको ७० लाखको लागत साझेदारीमा कृषि क्षेत्रको विकासका लागि कार्यक्रम भइरहेको छ ।

जस अन्तर्गत सिँचाइ तथा पानी रिचार्ज पोखरी निर्माण, फलफूलका बोट बिरुवा उत्पादन, नर्सरी बनाउने, माटो परीक्षण प्रयोगशाला स्थापनालगायतका कार्य गरिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष बोगटीले रातोपाटीसँग भने, ‘एक टोल एक उत्पादन, एक किसान एक पेसाको अवधारणा अनुसार काम गर्दैछौँ । ६ वटा वडा रहेको हाम्रो पालिकामा प्रत्येक वडामा एक जना भेटेनरी र एक जना कृषि प्राविधिकको व्यवस्था गरिरहेका छौँ ।’

सिट्रस रोगले समस्या भयो : अध्यक्ष बोगटी

तर सुन्तलामा देखिएको सिट्रस भन्ने रोगले किसानहरु निकै समस्यामा परेको अध्यक्ष बोगटीले सुनाए । बोटको पात पहेँलो हुने, बोटको टुप्पो सुक्ने र मलजल राम्रोसँग नपाएको अवस्थामा वर्ष दिनमै बोट मर्ने समस्या आउने गरेको बताइएको छ । यस रोगको उपचारका लागि औषधि नभएकाले समस्या भएको बोगटी बताउँछन् ।

Suntala bari (5)Suntala bari (1)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप