मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
अर्थ

किसानले कति पाउन बाँकी छ दुधको भुक्तानी ?

छैन कसैसँग वास्ताविक तथ्याङ्क
आइतबार, २२ पुस २०८०, १७ : ४७
आइतबार, २२ पुस २०८०

काठमाडौँ । पछिल्लो समय किसानले दुध बिक्री गरेबापत रकम भुक्तानी पाउन सकेका छैनन् । तर किसानले पाउनुपर्ने रकम कति छ भन्ने वास्तविक तथ्याङ्क भने सरकारी निकायसँग छैन ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उद्योगी र किसानसँग आफ्नो प्रत्यक्ष सम्पर्क नहुँदा तथ्याङ्क नभएको जनाएको छ । ‘निजी क्षेत्रको सम्पर्क हामीसँग सिधै हुँदैन,’ मन्त्रालयकी सूचना अधिकारी सबनम सिवकोटी अर्यालले भनिन्, ‘त्यसकारण तथ्याङ्क छैन, उत्पादनमा ठुलै उतारचढाव भएमा मात्रै आइपुग्छ, अनुमानित रकममात्रै छ ।’

मन्त्रालयका सहसचिव सूर्य प्रसाद पौडेलका अनुसार हाल दुधको मूल्य प्रतिलिटर ७० रुपैयाँ छ । हाल डीडीसी र निजी क्षेत्रका डेरी उद्योगले करिब १ सय देखि १ सय २० दिनको दुधको रकम भुक्तानी गर्न बाँकी छ । औसतमा १ सय १० दिनको दुधको रकम भुक्तानी गर्न बाँकी देखिन्छ । दुग्ध विकास संस्थान (डीडीसी) र निजी क्षेत्रका डेरी उद्योगले करिब ९ लाख २५ हजार लिटर दुध दैनिक संकलन गर्छन् ।

डीडीसीले दैनिक १ लाख २५ हजार लिटरको हाराहारीमा दुध संकलन गर्दै आएको पौडेलले बताए । सो दुधको प्रतिलिटर ७० रुपैयाँका दरले १ सय १० दिनको रकम भुक्तानी नहुँदा डीडीसीले मात्रै करिब ९६ करोड २५ लाख रुपैयाँ किसानलाई भुक्तानी गर्न बाँकी हुन्छ ।

पौडेलले निजी क्षेत्रका डेरी उद्योगले एक दिनमा करिब ८ लाख लिटर दुध संकलन गरेको बताए । आठ लाख लिटर दुधको प्रतिलिटर ७० रुपैयाँका दरले करिब १ सय १० दिनको भुक्तानी ६ अर्ब १६ करोड रुपैयाँ हुन आउँछ ।

पौडेलका अनुसार डीडीसी र निजी डेरी उद्योगले ९ लाख २५ हजार लिटर दुधको रकम किसानलाई भुक्तानी गर्न बाँकी देखिन्छ । सो बराबर दुध प्रतिलिटर ७० रुपैयाँका दरले १ सय १० दिनको करिब ७ अर्ब १२ करोड २५ लाख रुपैयाँ हुन आउँछ ।

यता, राष्ट्रिय दुग्ध विकास बोर्डले देशभरका किसानलाई सरकारी स्वामित्वमा रहेको डीडीसी लगायत निजी क्षेत्रका साना, मझौला र ठुला गरी ६ सय दुग्ध उद्योगले करिब साढे दुई अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी भएको जनाएको छ ।

यस्तै, केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अम्बर बहादुर कुँवरले मोटामोटी ४ देखि ५ अर्ब दुधको रकम किसानले भुक्तानी पाउन नसकेको रातोपाटीलाई बताए । उनले भने, ‘ठ्याक्कै यति रकम भुक्तानी हुन बाँकी छ भन्न सकिँदैन तर मोटामोटी ४ देखि ५ अर्ब रुपैयाँ किसानले पाउन सकेका छैनन् ।’

कुँवरका अनुसार देशभर दुध उत्पादन गरी बेच्ने १ हजार ८ सय ७५ वटा सहकारी छन् । संघमा ८ सय ३३ सहकारी आवद्ध भएका छन् ।

किन भएन दुधको रकम भुक्तानी ?

देशभर ३० लाख दुध उत्पादक किसान छन् । यसमध्ये अधिकांश किसानले दुधको रकम पाउन नसकेको बोर्डले जनाएको छ । पछिल्लो समय देखिएको आर्थिक मन्दी, उपभोक्ता क्रय शक्ति घटेकाले दुधको रकम भुक्तानी हुन नसकेको जानकार बताउँछन् । बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवका अनुसार दुईदेखि तीन महिना यता दुधको रकम भुक्तानी हुन सकेको छैन । ‘सानो रकममा कारोबार गर्ने डेरी उद्योगमा दुधको रकम भुक्तानी गर्न समस्या देखिँदैन,’ यादवले भने, ‘ठुलो रकममा कारोबार गर्ने डेरी उद्योगमा भुक्तानीको समस्या छ ।’

दुधको कारोबार र बजार नभएकाले भुक्तानी हुन नसकेको केन्द्रीय दुग्ध सहकारी संघको अध्यक्ष अम्बर बहादुर कुँवरले बताए ।

रकम भुक्तानी गर्न पहल

किसानलाई दुधको रकम नदिएका डेरी उद्योगीलाई पत्राचार गर्दै मन्त्रालयले तत्काल रकम भुक्तानी गर्न भनेको छ । यता, आगामी माघ मसान्तभित्र दुग्ध उद्योगले दुधको बाँकी रकम भुक्तानी गर्नुपर्ने गरी बोर्डले निर्देशन दिएको छ । बोर्डका कार्यकारी निर्देशक यादवका अनुसार दुध खरिदको अधिकतम बाँकी रकम यही पुसभित्र भुक्तानी गर्नुपर्ने र माघको मसान्तसम्ममा देशभरका किसानलाई रकम चुक्ता गर्नुपर्ने छ ।

‘किसान र डेरी उद्योगहरुबिच आउँदो माघभित्र सबै रकम भुक्तानी गर्नुपर्ने सहमति भएको छ,’ उनले भने, ‘यदि दुध उद्योगीले बाँकी रकम भुक्तानी नगरेमा कारबाही गरिने छ ।’ त्यसपछि किसानबाट दुध खरिद गरी नियमित रुपमा उद्योगी व्यवसायीले १५÷१५ दिनमा रकम भुक्तानी गर्नुपर्ने उनले उल्लेख गरे ।

सहकारी संघका अध्यक्ष कुँवरले केही उद्योगले रकम भुक्तानी गरिरहेको जानकारी दिए । ‘सरकारले दिएको समयावधिसम्म हामी कुर्छौं,’ उनले भने, ‘सो समयाधिमा रकम भुक्तानी भएन भने हामीले के गर्ने हो, सोच्ने छौँ । ’

दुध उत्पादन गर्दा नगद लगानी गर्ने तर दुधको रकम समयमा भुक्तानी नपाउँदा आफू मर्कामा परेको किसानले गुनासो गरेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप