आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय
कर्णाली प्रदेश

कर्णालीमा टालटुले नीति तथा कार्यक्रम ल्याइएको प्रतिपक्षको आरोप

आइतबार, २५ जेठ २०८२, १६ : ०७
आइतबार, २५ जेठ २०८२

समाचार सारांश

  • कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रममा नेकपा माओवादी केन्द्रले असन्तुष्टि जनाएको छ, जसलाई 'सुमेरु पर्वत' र 'टालटुले' को संज्ञा दिइएको छ।
  • विपक्षी दलका नेता राजकुमार शर्माले नीति तथा कार्यक्रम र बजेटबीच तालमेल नभएको र कृषि क्षेत्रलाई उपेक्षा गरिएको आरोप लगाए।
  • शर्माले मुख्यमन्त्रीले एउटा आयोजना रोक्न धम्की दिएको र खेलकुद विकास परिषद्को सदस्य सचिव नियुक्त गर्न नसकेको भन्दै आलोचना गरे।

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष (०८२/०८३) का लागि ल्याएको नीति तथा कार्यक्रममाथि संसदमा छलफल सुरु भएको छ । आइतबार भएको छलफलमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले नीति तथा कार्यक्रमलाई सुमेरु पर्वत, चुनावी प्रतिबद्धता तथा पूर्वाग्रहीको पोकोको रूपमा अर्थ्याएको छ । 

विपक्षी दलका नेता राजकुमार शर्माले धेरै काटकुट गरी टालटुले नीति तथा कार्यक्रम आएको बताए । ‘यो सुमेरु पर्वतमा कहाँ के रोप्ने, कहाँ खन्ने,’ उनले भने, ‘ कुनै अत्तोपत्तो छैन ।’ साथै नीति तथा कार्यक्रम र बजेटको तादम्यता नमिल्ने पनि उनको भनाइ छ ।  ‘मैले सुने अनुसार कृषि र वनको बजेट पर्याप्त छैन,’ उनले भने, ‘अनि कसरी कर्णालीको कृषि क्षेत्र फराकिलो हुन्छ, यहाँको जनशक्ति सबै कृषिमा आधारित छ ।’

विगतका सरकारले नियुक्त गरेका ‘एक पालिका, एक प्राविधिक’ को अभियान अहिलेको सरकारले हटाउँदै गएको भन्दै शर्माले आपत्ति जनाए । साथै उनले सरकार प्रमुख (मुख्यमन्त्री) नै गएर एउटा आयोजना रोक्न धम्की दिएको विषय संसदमा उठाए । 

केही समयअघि मुख्यमन्त्री यामलाल कँडेल पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा सञ्चालित जुम्ल्याहा मूल (ठुलो बृहत् पोखरी) आयोजना रोक्न धम्की दिएको शर्माको आरोप छ । त्यस्तो गर्न नहुने उनले बताए ।

साथै उनले नीति तथा कार्यक्रममा कर्णाली समृद्धिको कुनै ठोस प्लान नै नभएको दाबी गरे ।  ‘अनुभवी मुख्यमन्त्रीले प्लेनमै कर्णाली उडाउनुहुन्छ भन्ने सोचेका थियौँ,’ उनले थपे, ‘तर जनतामा छारो हाल्ने, टालटुले नीति तथा कार्यक्रम ल्याइयो ।’

जल्दोबल्दो अनुभवी मुख्यमन्त्रीले अहिलेसम्म जाबो एउटा खेलकुद विकास परिषद्को सदस्यसचिव समेत नियुक्त गर्न नसकी गैरजिम्मेवारीपना प्रदर्शन गरेको शर्माको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप