समर्थन मूल्यमा चैते धान बिक्री नहुँदा किसान निराश

झापा । सरकारले चालु वर्षका लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको भए पनि यहाँका किसानले तोकिएको मूल्यमा धान बिक्री गर्न नपाएको गुनासो गरेका छन् ।
सरकारको सक्रिय खरिद प्रक्रिया नहुँदा किसान दलाल र स्थानीय व्यापारीको भर पर्न बाध्य भएका छन् ।
सरकारले यस वर्षका लागि चैते धानको समर्थन मूल्य प्रतिक्विन्टल रु दुई हजार ८०० तोकेको छ । झापाका किसानले रु एक हजार ५ सय प्रतिक्विन्टल मूल्य पाउन पनि मुस्किल परेको छ ।
उक्त मूल्यमा बिक्री गर्दा हाम्रो लागत नै नउठ्ने बाह्रदशीका स्थानीय किसान मनकुमार सङ्ग्रौला बताउनुहुन्छ । सरकारले हामीले उत्पादन गरेको धान किनिदिने हो भने हामीलाई ठूलो राहत मिल्ने उनको भनाइ छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मुख्य शाखा कार्यालय विर्तामोडका प्रमुख राजबहादुर राईका अनुसार कम्पनीसँग धान सुकाउन आवश्यक मेसिनको अभाव भएकाले यस वर्ष चैते धान खरिद गर्न सकिने अवस्था छैन । तर, आगामी वर्षदेखि चैते धान खरिद गर्न सकिने व्यवस्था मिलाउने तयारी भइरहेको उनले बताए ।
अर्जुनधारा नगरपालिका वडा नम्बर ४ का किसान भीष्मप्रसाद हुमागाईंले सरकारले मूल्य तोके पनि त्यसअनुसार खरिद प्रक्रिया अगाडि नबढाएको गुनासो गरे ।
“सरकारको उदासीनताका कारण व्यापारीले सस्तो मूल्यमा धान किनेर मनपरी नाफा लिइरहेका छन्”, उनले भने,“अर्को वर्षदेखि चैते धानको विकल्प खोज्नुपर्ने अवस्था आएको छ ।”
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीका अनुसार गत वर्ष झापामा २० हजार हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएको थियो ।
प्रतिहेक्टर पाँच दशमलव ८१ मेट्रिकटनका दरले एक लाख १६ हजार २०० मेट्रिकटन चैते धान उत्पादन भएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा सिन्डिकेट अन्त्य, १ हजार ४३ कम्पनी तोकिएको देशमा काम गर्न पत्राचार
-
बेरिङटनको शतक, नेपालसामु विशाल लक्ष्य
-
आयल निगमका गण्डकी प्रदेश प्रमुखलगायतलाई भ्रष्टाचार मुद्दा
-
प्रधानमन्त्रीलाई चेपाङ समुदायबाट चिउरी उपहार
-
नेपाल सद्भावना पार्टी बिक्रीमा !
-
प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता : भलिबलतर्फ बझाङ र कैलालीलाई उपाधि