शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्रिय सभा निर्वाचन

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनी प्रदेशको दुई सिटमा ७ जना उम्मेदवार

सोमबार, २३ पुस २०८०, १९ : ०४
सोमबार, २३ पुस २०८०

बुटवल । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशमा दुई सिटका लागि हुन गइरहेको चुनावमा सात जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । सत्तारुढ गठबन्धनबाट दुई, नेकपा एमालेबाट दुई, राप्रपाबाट दुई र जनमत पार्टीबाट एक उम्मेदवार मैदानमा उत्रिएका छन् ।

सत्ता गठबन्धनका तर्फबाट रोल्पाका झक्कुप्रसाद सुवेदी र गुल्मीकी विष्णुकुमारी सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा माओवादी केन्द्रका सुवेदीले ०६४ सालको निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर २ मा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई पराजित गरेका थिए । उनी २०७४ सालमा पनि काठमाडौँ क्षेत्र ६ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका थिए ।

कांग्रेसकी सापकोटा भने पार्टीको लुम्बिनी प्रदेश समिति सदस्य हुन् । उनले गुल्मी पार्टी सचिव तथा महिला संघ सभापतिको जिम्मेवारी निर्वाह गरिसकेकी छन् ।

उनी ०७४ को स्थानीय तह चुनावमा मुसिकोट नगरपालिकाको उपमेयरमा पराजित भएकी थिइन् । नेपाली कांग्रेसको संस्थापन पक्षले लुम्बिनीबाट राष्ट्रिय सभामा अर्घाखाँचीकी पुष्पा भुसाललाई उम्मेदवार बनाउने तयारी गरेको थियो । तर इतर समूहले अस्वीकार गरेपछि आइतबार राति अबेर सापकोटाको टिकट फाइनल भएको नेपाली कांग्रेसका एक नेताले रातोपाटीलाई बताए ।

यता एमालेबाट दाङ, घोराहीकी तुलसाकुमारी केसी र पाल्पाका झपेन्द्र जीसीले उम्मेदवारी दिएका छन् । केसी एमालेको लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् । उनी अनेमसंघ केन्द्रीय सदस्य पनि हुन् ।

अर्का उम्मेदवार जीसी पाल्पाको तत्कालीन जिल्ला विकास समिति सभापति हुन् । हाल उनी एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य हुन् । उनी शंकर पोखरेल मुख्यमन्त्री हुँदा मुख्यमन्त्रीको राजनीतिक सल्लाहकार समेत थिए ।

यता, राप्रपाले पनि दुवै सिटमा उम्मेदवारी दर्ता गराएको छ । रुपन्देहीका निरञ्जन थापा र कपिलवस्तुकी विजय लक्ष्मी सिंहलाई राप्रपाले राष्ट्रियसभामा उम्मेदवार बनाएको छ ।

भैरहवा निवासी थापा पटकपटक मन्त्री हुनका साथै पूर्व राजदूतसमेत हुन् । थापा राप्रपाका केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष छन् । यस्तै कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका–३ निवासी विजया सिंह पार्टीको जिल्ला अध्यक्ष हुन् ।

यस्तै, जनमत पार्टीको तर्फबाट नवलपरासीको सरवाल गाउँपालिका–५ निवासी बाल गोविन्द चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । उनी जनमत पार्टीमा सुरुदेखि लागेका नेता हुन् । उनी हाल पार्टीको केन्द्रीय कार्यकारी सदस्य छन् ।

जनमत पार्टीका केन्द्रीय सचिव भूपेन्द्र यादवले सत्ता गठबन्धनभित्र रहे पनि आफ्नो पार्टीसँग राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारी दिने समयमा समन्वय नगरेको र समावेशी नबनाएको कारण पार्टीले उम्मेदवारी दिएको रातोपाटीलाई बताए ।

लुम्बिनीबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्दै आएका नेकपा एमालेका कुमार दसौंदी र नेपाली कांग्रेसकी अनिता देवकोटाको कार्यकाल सकिन लागेकाले ती दुई सिटका लागि निर्वाचन हुन लागेको हो ।

राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनीमा ८७ प्रदेशसभा सदस्यका साथै पालिकाका २ सय १८ प्रमुख–उपप्रमुख गरी ३ सय ५ जना मतदाता छन् ।

प्रदेशमा कुल मत भार ८७५३ मध्ये सत्ता गठबन्धन दलको ५४३० मतभार देखिएको छ भने एमालेको २८१० मतभार छ । 

11

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप