आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कपडा व्यवसायी एसोसिएसन कास्कीको २२ औँ वार्षिक साधारण सभा सम्पन्न

शनिबार, २८ पुस २०८०, १९ : ५२
शनिबार, २८ पुस २०८०

पोखरा । कपडा व्यवसायी एसोसिएसन कास्कीको २२ औँ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । उक्त साधारण सभाको उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रवन प्रजापतिले व्यवसायीहरू बैङ्क तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदर र अत्यधिक कर वृद्धि लगायतका समस्याहरूले पीडित बनेको बताए । यी समस्याहरू सम्बोधनका लागि व्यवसायीहरूको छाता संस्थाका हैसियतले पोखरा उद्योग वाणिज्य संघले सम्बन्धित सरोकारवाला निकायहरूसँग निरन्तर छलफल र संवाद गरिरहेको अध्यक्ष प्रजापतिको भनाई थियो। 

विभिन्न कारणले विस्थापित हुने अवस्थामा आइपुगेका व्यवसायीहरूको संरक्षणका लागि सहायता लगायत दबाबमूलक कार्यक्रमहरू गरिरहेको उनले बताए । राज्यलाई ठुलो मात्रामा कर तिरेर वैधानिक व्यवसाय गरिरहेका व्यवसायीहरूको पक्षमा राज्य उदासीन देखिएको प्रति सचेत रहन उनले आग्रह समेत गरे ।

सो अवसरमा २०५ वर्ष अघि व्यवसायी मेहरमान पालिखेको पालादेखि निरन्तर सञ्चालनमा रहेको इरसन बस्त्रालयका सञ्चालक ईश्वर कुमार पालिखेलाई सम्मान समेत गरिएको छ । संस्थाका सदस्य बाबुराम पौडेललाई सक्रिय सदस्य सम्मान प्रदान गरिएको छ । उत्कृष्ट शैक्षिक नतिजा हासिल गरेका संस्थामा आबद्ध व्यवसायीहरूका छोराछोरीहरूलाई नगद र सम्मान पत्रले सम्मान गरिएको छ । 

एसोसिएसनले विगत एक वर्षमा मिटर जाँच एवं नवीकरण, बैङ्क तथा वित्तीय समस्याहरूको विरोध कार्यक्रम, संस्थाको स्थापना दिवस, शुभकामना आदान प्रदान, स्वास्थ्य शिविर, रक्तदान, भित्तेपात्रो विमोचन, विभिन्न विषयहरूमा अन्तरक्रिया, छात्रवृत्ति वितरण, वृक्षारोपण लगायतका कार्यक्रमहरू सहित पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आयोजित विभिन्न कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाएको छ । 

साधारण सभाले संस्थामा सम्पूर्ण सदस्यहरूलाई सदस्यता कार्ड वितरण गर्ने, संस्थाको सचिवालय स्थापनाका लागि कोष खडा गर्ने, नियमित सम्मानका कार्यक्रमहरूलाई निरन्तरता दिने, व्यवसाय प्रवर्द्धनका लागि सिप विकास, अध्ययन अवलोकन भ्रमण, छात्रवृत्ति सङ्ख्या थप गर्ने, दैविक प्रकोप कोष गठन गर्ने, विपत्तिमा परेका व्यवसायीहरूको क्षतिको मूल्याङ्कन गरी अधिकतम रु.२५ हजार सम्म सहयोग गर्ने, विशेष मापदण्ड बनाई सदस्यता वितरणलाई प्रभाकारी बनाउने, सम्भाव्य संयुक्त उद्यम विकास गर्ने, ३/३ महिनामा सदस्यहरूका बिचमा विस्तारित बैठक बस्ने, कपडा व्यवसायी महासङ्घ गठनका लागि पहल गर्ने, भाडा ढुवानीमा एकरूपता कायम गर्न सम्बन्धित सरोकारवालासँग आवश्यक समन्वय गर्ने लगायतका प्रस्तावहरू पास गरेको छ । यस्तै महासचिव र कोषाध्यक्षको प्रतिवेदन समेत सर्वसम्मतिले पास भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप