शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
प्रशासन

सहसचिव सरुवामा मुख्यसचिवको अड्को !

आफैँ सामान्यमा पुगेर सरुवा प्रस्ताव पठाउन भने, तर भएन निर्णय
मङ्गलबार, ०२ माघ २०८०, १६ : ०८
मङ्गलबार, ०२ माघ २०८०

काठमाडौँ । केही प्रदेश र स्थानीय तहमा लामो समयदेखि सहसचिव पठाउन नसकेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही सहसचिवको सरुवा लिष्ट तयार गर्‍यो । मन्त्रालयले पुसको तेस्रो साता सरुवा लिष्ट तयार गर्दा मुख्यसचिव डा. वैकुण्ठ अर्याल स्वयं मन्त्रालयमा पुगेका थिए । 

मुख्यसचिव अर्याल, मन्त्रालयका सचिव विनोद प्रकाश सिंह र कर्मचारी प्रशासन महाशाखाका प्रमुख एवं सहसचिव रामकुमार महतो बसेर फाइनल लिष्ट तयार गर्दा ३२ जना सहसचिव सरुवा गर्नुपर्ने देखिएको थियो । मुख्यसचिवको भनाई उद्धृत गर्दै बैठकमा उपस्थित एक अधिकारीका अनुसार उनले ‘ल छलफल भए अनुसार सरुवाको प्रस्ताव ल्याउनुस्’ भनेर आफ्नो कार्यालय गएका थिए ।

गत पुस २३ मा मन्त्रालयले सहसचिवको सरुवा सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठायो । त्यसयता दुई पटक मन्त्रिपरिषद्को बैठक बसिसक्यो तर सहसचिवको सरुवा भएको छैन । विश्वस्त स्रोतका अनुसार एक÷दुई दिनमै १९ जना सहसचिवहरु बढुवा भएर आउँदै छन् ।

बढुवा लिष्टमा १० जना सहसचिवहरु राजश्वसँग सम्बन्धित छन् । उनीहरु आएपछि सरुवा र पदस्थापना एकै पटक गर्ने उद्देश्य अनुरुप अहिले सरुवा रोकिएको हो । धेरै सहसचिवको रोजाई गृह र अर्थमा हुने भएकाले पनि सरुवा पेचिलो बनेको हो । 

मुख्यसचिव अर्यालले भने आफूले सरुवा नरोकेको बताए । उनले भने,‘ म सामान्यमा पुगेको थिएँ, सहसचिवको सरुवा गर्नुछ भन्नु भयो, मैले हुन्छ प्रस्ताव ल्याउनुस् भनेको हुँ । सरुवा प्रस्ताव आएको छ, अब बस्ने मन्त्रिपरिषद्को बैठकले गर्छ होला ।’ प्रदेशमा लामो समयसम्म काम गरेका सहसचिवलाई संघमा ल्याउने र संघकालाई प्रदेशमा पठाउने तयारी अनुरुप सरुवा सूची बनेको थियो । मन्त्रालयका एक अधिकारीले भने,‘ हामीले पुस २३ मै सरुवा प्रस्ताव लगेका हौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप