सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

घरेलु फोहोरको दिगो समाधानका लागि जुट्यो काठमाडौँ महानगर

बुधबार, ०३ माघ २०८०, २१ : ४४
बुधबार, ०३ माघ २०८०

काठमाडौँ । घरेलु फोहोरको दिगो समाधानका लागि काठमाडौँ महानगरपालिकाले विज्ञ समूहले अध्ययन थालनी गर्ने भएको छ । यसका लागि भारतको इन्दोरबाट विज्ञ समूह काठमाडौँ आएको छ ।

८ वर्षको अवधिमा इन्दोरले घरेलु फोहोर व्यवस्थापनमा उल्लेखनीय काम गरेको छ । यसकारण भारतको सफा सहरका रुपमा परिचित भएको छ । ‘त्यस नगरले गरेका काम काठमाडौँसँगको सान्दर्भिकता हामीले अध्ययन गराउन चाहेका हौँ । महानगरपालिकाका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले भने, ‘विज्ञको टोली १ महिना काठमाडौँमै बसेर फोहोरको उत्पादन, प्रकृति, वर्गीकरण, संकलन, ढुवानी र अन्तिम व्यवस्थापनलाई विभिन्न कोणबाट अध्ययन गरेर ढाँचा सिफारिस गर्नेछन् ।’

अध्ययनका लागि आज आएका इन्दोर नगर, घरेलु फोहोर व्यवस्थापन विभाग (सोलिड वेस्ट म्यानेजमेन्ट डिपार्टमेन्ट) का सूचना, शिक्षा र सञ्चार विज्ञ (आइईसी एक्पर्ट) अमित चौहानले, सफाइका लागि सहरबासीको सचेतना र सहभागिता आवश्यक हुने बताए । काठमाडौँ महानगरपालिकाले अहिले फोहोर संकलन, ढुवानी र ल्याण्डफिल साइटमा अन्तिम व्यवस्थापनको काम गरिरहेको छ ।

वातावरण व्यवस्थापन विभागका इञ्जिनियर सरकारदीप श्रेष्ठका अनुसार वडा नं. १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ गरी १० वटा वडामा महानगरपालिकाले मात्र फोहोर संकलन गर्छ । यस्तै राजमार्ग, पार्क, मठमन्दिर तथा सार्वजनिक स्थलको सफाइ महानगरपालिकाका कर्मचारीले गर्ने गरेको छन् । यसबाट दैनिक करिब २४० मेट्रिक टन फोहोर महानगरपालिकाले ल्याण्डफिल साइटमा पु¥याउने गरेको छ । अन्य वडाहरुमा निजी क्षेत्रले फोहोर संकलन गरेर करिब ५ सय मेट्रिक टन फोहोर साइटमा पु¥याउँछन् । उपत्यकासहित नुवाकोट र धादिङका पालिकासहित ल्याण्डफिल साइटमा दैनिक १ हजार ६ सय मेट्रिक टन फोहोर लैजाने गरिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप