मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
कुटपिट प्रकरण

चिनियाँ महिला कुटपिट प्रकरण : गोरखबहादुरले मुछेपछि के भन्छिन् विमला ?

आरोप पुष्टि भए माओवादीमा रहन्नँ : केसी
सोमबार, ०८ माघ २०८०, १२ : २०
सोमबार, ०८ माघ २०८०

काठमाडौं । चिनियाँ महिला कुटपिट प्रकरणमा जोडिएका माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य गोरखबहादुर केसीले कर्णाली प्रदेशका अध्यक्ष विमला केसीलाई समेत अनियमिततामा मुछेका छन् । तर, केसीले गोरखबहादुरले लगाएको आरोप आधारहीन रहेको केसीको दाबी छ ।

आइतबार रातोपाटीसँग कुराकानी गर्दै उनले भनिन्, ‘उहाँले ममाथि लुटेराको आरोप लगाउनुभएको छ । यो पर्टीभित्रको कुरा भएकाले मिडियामार्फत किन सार्वजनिक गर्ने भनेर चुप लागेर बसें । म विषयवस्तुलाई सामान्य रुपले बुझ्ने मान्छे हुँ । षड्यन्त्र गर्न मलाई आउँदैन । तर ममाथिको आरोप पार्टीले पुष्टि गरोस्, म पार्टी सदस्य रहने हैसियत पनि राख्दिनँ ।’

‘ग्लोबल कोअपरेशन फर डेभ्लोमेन्ट’ नामक चिनियाँ संस्थाका प्रमुख टोली प्रमुख सोउ सिच्याङ, सोही फाउन्डेसनका नेपाल कन्ट्री मेनेजर मुक्ति मरासिनीसहित राहत वितरणका लागि मंसिर २० गते जाजरकोटको रिम्झा पुगेका थिए । राहत वितरण सहजीकरण गर्नका लागि माओवादीबाट प्रदेश अध्यक्ष विमलासहित प्रदेश इन्चार्ज मात्रिका यादव, महासचिव देव गुरुङ, जाजरकोट जिल्ला अध्यक्ष जीवन खड्का मंसिर १८ गते नै केसीका घरमा पुगेका थिए ।

 राहत सामाग्री केसीकै घरमा राखिएको थियो । कात्तिक १८ गते जाजरकोट केन्द्रविन्दू भएर गएको विनासकारी भूकम्पका प्रभावित क्षेत्रमा राहतस्वरुप चिनियाँ कम्युनिस्ट पार्टीले माओवादीसहित, कांग्रेस, एमाले र एकीकृत समाजवादीलाई पाँच÷पाँच सय पिसको दरले दुई हजार पिस सामाग्री दिएको थियो ।

राहत वितरण गर्ने विषयमा विमलासहितका माओवादी नेताहरूको टोली गोरखाबहादुर केसीकै घरमा बास बसेका थिए । राहत वितरण विषयमा त्यस दिन नेताहरूबिच कुनै असमझदारी नभएको उनको स्मरण गरिन् । ‘केन्द्रीय महासचिव गुरुङ, मरासिनीसँग कुराकानी भएपश्चात भूकम्प बढी प्रभावित क्षेत्र जाजरकोटको नलगाडा नगरपालिका–१, भेरी नगरपालिका–१ वडा र रुकुम(पश्चिम)को आठबिसकोट  नगरपालिका–१४ र सानीभेरी गाउँपालिका–१ मा राहत वितरण गर्ने सहमति भएको थियो’, बिमलाले भनिन्, ‘केन्द्रबाट महासचिव आफै आउने भएपछि मैले केसीलाई फोन गरें । उहाँको घर रिम्झामा छ । उहाँकै घरमा राहत सामाग्री राखिएको रहेछ । मलाई थाहा थिएन । नेताहरूलाई उहाँकै घरमा बस्ने व्यवस्था मिलाइयो । म पनि उहाँकै घरमा बस्न गएँ । राति चार वडामा राहत वितरणको कार्ययोजना बनाएर हामी सुत्यौं । तर उहाँले राति नै मेराविरुद्ध फेसबुक स्टाटस राख्नुभएको रहेछ । राति उहाँले के सपना देख्नुभयो म आश्चर्यचकित भएँ ।’

जाजरकोटमा दुई सय, रुकुम(पश्चिम)मा दुई सय र एक सय सल्यानमा वितरण गर्ने प्रस्ताव आफूले मारासिनीसँग राखेको तर समाज सल्याण परिषदसँग स्वीकृति नलिएकाले चार वडामा वितरण गर्ने सहमति भएको उनले दाबी गरिन् । चार वडामध्ये जाजरकोटमा तीन सय पिस र रुकुम(पश्चिम)मा दुई पिस वितरण गर्ने मरासिनिको प्रस्तावलाई आफूले स्वीकार गरेको उनले बताइन् ।

‘जाजरकोटमा तीन सय र रुकुम(पश्चिम)मा दुई सय पिस राहत वितरण गर्ने सहमति भएको थियो तर आठबिसकोटमा सम्पर्क भएन भनेर सानीभेरीमै थप एक सयको लिस्ट बनाइएको रहेछ । जाजरकोटमा पनि भेरी–१ लाई सच्याएर वडा नम्बर ४ बनाइएको देखियो । पूर्वसहमतिविपरित वडा किन परिवर्तन भयो भन्ने विषयमा त्यतिबेला मैले प्रश्न उठाएँ । मरासिनीले सम्पर्क नहुँदा कर्मचारीले गल्ति गरेछन् सच्याउँछु भन्नुभयो । त्यतिबेला मसहित महासचिव, प्रदेश इन्चार्ज, मरासिनी र जिल्ला इन्र्चाज सँगै थियौं । केसी पनि त्यहीँ थिए ।

त्यसपछि १४ नम्बरमा झरेको सामान आफूले नबुझ्ने केसीले भन्नुभयो । विवाद देखिएपछि उहाँलाई मनाएर राहत वितरण गर्ने प्रयास गरियो । उपमहासचिव प्रभाकरलाई पनि फोन गरी जानकारी गराइयो । उहाँले फोन गर्दासमेत नमानेपछि आठबिसकोटको सामान छोडेर तीनवटा वडामा राहत वितरण गर्न हामी हिड्यौं’, त्यतिबेलाको घटनाबारे उनले भनिन् ।

राहत वितरणकै क्रममा २० गते दिउँसो १२ बजेतिर रिम्झामा उक्त घटना भएको थाहा भएको उनले बताइन् । चाइनिज महिलामाथि केसीको कामदारले हातपात गरेको भन्ने कुरा आफूले महासचिव गुरुङबाट थाह पाएको उनले जिकिर गरिन् । यस विषयमा पार्टीले गम्भीर छानविन गर्नुपर्ने उनले माग राखिन् ।

‘अहिले यो विषयमा बाहिर म धेरै बोल्न चाहन्नँ । यस विषयमा पार्टीभित्र छलफल चलाउनुपर्छ । अहिले म कसैलाई आरोपित गर्ने पक्षमा छैन । यो बाहिर ल्याउनुपर्ने विषय पनि होइन । बाहिर ल्याउन खोजेको भए म त्यहिँ दिन ल्याउँथें । म प्रदेशको अध्यक्ष भएको नाताले घटनाप्रति क्षमा माग्दै चिनियाँ टोली प्रमुख सोउसँग यस विषयलाई पार्टीभित्र छलफलको विषय बनाउने जानकारी गराएको हुँ’, घटनापछिको अवस्थाबारे उनले जानकारी गराउँदै उनले भनिन्’, सामान कमसल थियो कि थिएन । अपुग थियो वा थिएन यस विषयमा मैले कुनै चासो राखेको छैन । पार्टीले यस विषयमा छानविन गर्ला । फाउन्डेसनले पनि पुष्टी गर्ला । महासचिवमाथिको आरोप उहाँले पुष्टि गर्लान् । केसीले स्पष्टिकरणमा मेरो नाम पनि मुछेपछि यतिसम्म बोल्न बाध्य भएँ ।’

आठबिसकोटको सामान लुट्ने षड्यन्त्र गरेकोे भए आफू केसीको घरमा नै नजाने विमलाले बताइन् । प्रदेश अध्यक्ष भएकाले कर्णालीको १० वटै जिल्ला र पालिकालाई समान व्यवहार गरेको उनको दाबी छ । राहत वितरणमा त्यतिसम्म गम्भीर घटना होला भन्ने कसैले कल्पना नगरेको उनले सुनाइन् । ‘राहत वितरणमा यति गम्भीर घटना होला भन्ने हामीले कल्पनासमेत गरेका थिएनौं । त्यस दिन हामी त्यहाँ कोही थिएनौं । नहुनुपर्ने घटना भयो । राहत वितरण विधिवत नै भएको छ । घोटला हो कि होइन भन्ने विषय भोलि छानविनको कुरा होला । दोषी भए कारवाही होला’, उनले भनिन् ।

अघिल्लो शनिबार बसेको माओवादी स्थायी समिति बैठकले केसीमाथि महिलामाथि कुटपिटको रमिते बनेको आरोमा स्पष्टिकरण सोध्ने निर्णयसहित परिपत्र जारी गरेको थियो । पार्टीले स्पष्टिकरण सोधेपछि जवाफमा महासचिव गुरुङ र विमलामाथि राहत सामाग्रीमा भ्रष्टाचार गरेको गम्भीर आरोप लगाएका थिए ।

यसैगरी मुक्ति मरासिनीले समेत ग्लोल कोअपरेसन फर डेभलपमेन्टसँग सम्वन्धित समाचारप्रति  ध्यानाकर्षण भएको बताएका छन् । जाजरकोट केन्द्रबिन्दु बनाएर विगतमा गएको भूकम्पबाट पिडितहरुको सहयोगार्थ संस्थाले प्राप्त अनुदान सहयोग नेपाल सरकारका सम्वन्धित  निकायबाट स्वीकृती  लिइ नियमपूर्वक वितरण गरेको उनको दाबी छ । 

समाचार खण्डन गरिएको सम्वन्धमा

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप