शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

तुहियो सोनी–जी मर्जरको योजना

सोमबार, ०८ माघ २०८०, १४ : २५
सोमबार, ०८ माघ २०८०

नयाँ दिल्ली । जापानी मनोरञ्जन कम्पनी सोनी ग्रुप कर्पोरेशनमा भारतीय मनोरञ्जन कम्पनी जी इन्टरटेनमेन्ट गाभिने योजना तुहिएको छ । जनवरी २१ को मध्यरातमा दुई कम्पनी मर्जरको अन्तिम मिति गुज्रिएको छ । 

सोनीले यो मर्जर योजनालाई अगाडि नबढाउने यस मामिलाका जानकारहरुलाई उद्धृत गर्दै इकोनोमिक्स टाइम्सको अनलाइन संस्करणमा सोमबार समाचार छापिएको छ ।

१० अर्ब डलर बराबरको यो मर्जर प्रस्ताव खारेज भएको सूचना सोनीले जी इन्टरटेनमेन्टलाई पठाइसकेको अनुमान गरिएको छ । यी दुई कम्पनीबीचको मर्जर प्रयास सफल भएको भए यसबाट बन्ने मिडिया कम्पनी भारतको सबैभन्दा ठूलो कम्पनी हुने थियो । 

जीले गएको हप्ता मर्जरसम्बन्धी वार्तालाई लम्ब्याउन खोजेको थियो । सन् २०२१ को डिसेम्बरमा मर्जरको घोषणा भएको थियो । मर्जर योजना रद्द भएको घोषणा आगामी केही दिनमा हुने बताइएको छ ।

यसको सूचना जी इन्टरटेनमेन्टको सञ्चालक समिति, कम्पनीका सीईओ र एमडी पुनित गोयन्कालाई दिइसकेको छ । पछिल्लो समय जी इन्टरटेनमेन्टको आर्थिक अवस्था खस्किँदै गइरहेको छ । 

मर्जरपछि बन्ने कम्पनीको सीईओ को बन्ने भन्ने विषयमा पनि दुबै कम्पनी सहमतिमा आउन सकेका थिएनन् । नयाँ कम्पनीमा सोनीले भने गोयन्कालाई सल्लाहकारको भूमिका मात्रै दिन खोजेको थियो । सोनीले मर्जर सम्झौता रोक्न सक्ने भनेर ईटीले जनवरी ९ मै समाचार छापेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप