आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको सिमेन्टमा कार्बनको मात्रा घटाउनेबारे अध्ययन हुने

मङ्गलबार, ०९ माघ २०८०, १२ : ५८
मङ्गलबार, ०९ माघ २०८०

काठमाडौँ । नेपालको सिमेन्टमा कार्बनको मात्रा घटाउनेबारे अध्ययन हुने भएको छ । काठमाडौँमा एक कार्यक्रमबिच खानी तथा भूगर्भ विभाग, सिमेन्ट उत्पादक संघ, नेपालस्थित स्विस दूतावास र टेक्नोलोजी एन्ड एक्सन फर रुरल एडभान्समेण्ट संस्था (भारत) ले अध्ययन सम्झौतामा संयुक्त हस्ताक्षर गरेका हुन् । 

यस अध्ययनलाई नेपालस्थित स्विस दूतावासको आर्थिक प्राविधिक सहयोग गर्नेछ भने टेक्नोलोजी एन्ड एक्सन फर रुरल एड्भान्समेण्ट संस्था (भारत) ले भूगर्भ विभाग र सिमेन्ट उत्पादक संघको सहयोगमा अध्ययन गर्नेछ । यस अध्ययन परियोजनाले नेपालको सिमेन्ट उद्योगलाई डिकार्बोनाइज कसरी गर्न सकिन्छ भन्नेबारे प्राविधिक परीक्षण गर्नेछ । 

कार्यक्रममा नेपाल खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले अध्ययनले नेपालमा नयाँ प्रकारको सिमेन्ट उत्पादनलाई अगाडी बढाउने नतिजा दिने बताए । उनले नेपालमा भएको रातो वा कमेरो माटो  प्रयोग गरेर क्लिंकरलाई ५० प्रतिशत क्लिंकर अरू ३० प्रतिशत क्ले राखेर र यसलाई क्याल्साइन बनाएर नयाँ मिश्रण बनाइने उल्लेख गरे । 

फेरि यसमा जिप्सम मिसाएर र अरू १५ प्रतिशत लोग्रेट ल्यामुसनलाई मिसाएपछि नयाँ प्रकारको सिमेन्ट बन्ने बताए । यसलाई नै एलसी थ्री सिमेन्ट भनिने उल्लेख गरे ।  यो अध्ययनले नेपालको माटो र क्लिन्करको अध्ययन गरेर सिमेन्ट बनाउन सकिनेबारे निष्कर्ष दिने उनको भनाई छ । एक वर्षसम्म स्थलगत अध्ययन गरेर प्राप्त नतिजालाई औद्योगिक उत्पादनको परीक्षण गरेर मात्र व्यवसायिक उत्पादन गर्न सकिने वा नसकिनेबारे प्रतिवेदन आउने महानिर्देशक घिमिरेले बताए ।  

नेपालमा एलसी थ्री सिमेन्ट उत्पादन गर्न सके सिमेन्ट उत्पादनमा प्रयोग हुने कोइलाको खपत कम हुने उनको जिकिर छ । यसले वातावरणमा जाने कार्बन कम हुने महानिर्देशक घिमिरेको भनाइ छ । 

एलसी थ्री सिमेन्टमा ५०% क्लिंकर, १५% गैर–सिमेन्ट ग्रेडको चुनढुङ्गा, ३०% क्याल्साइन गरिएको माटो (गैर सिरेमिक ग्रेड) र ५% जिप्सम हुन्छ । यो सिमेन्ट उत्पादनमा ४०% भन्दा बढी कार्बन उत्सर्जन घटाउन सक्छ । यो प्रविधि भारत र अन्य २९ देशमा अपनाइसकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप