शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

खेलकुद क्षेत्रमा लगानी अनुसारको प्रतिफल आउन सकेन : नगरप्रमुख पौडेल

मङ्गलबार, ०९ माघ २०८०, २१ : ५८
मङ्गलबार, ०९ माघ २०८०

बारा । जीतपुर सिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेलले उपमहानगरले खेलकुद क्षेत्रमा लगानी गरे अनुसारको परिणाम पाउन नसकेको बताएका छन् ।  

मंगलबार उपमहानगरले आयोजना गरेको राष्ट्रपति रनिङ  शिल्ड प्रतियोगिता कार्यक्रममा बोल्दै नगर प्रमुख पौडेलले खेलकुद क्षेत्रमा लगानी अनुसारको प्रतिफल गर्न नसकेको बताएका हुन् ।  

‘हामीले खेलकुद क्षेत्रलाई अगाडि बढाउने हो भने विद्यालय तहका खेलकुदहरुलाई व्यवस्थित ढंगले अगाडी बढाउनुपर्छ, हाम्रा लगानीहरु विद्यालय तहमा केन्द्रित हुनुपर्छ’, नगरप्रमुख पौडेलले भने, ‘विद्यालय खेलकुदका लागि १५ लाख बजेट छुटाउँदा धेरै सोचको हुन्छौँ तर अन्य खेलकुदमा लाखौँ लाख बजेटहरु खर्च भइरहेको हुन्छ ।’ 

नगरप्रमुख पौडेलले कार्यक्रममा सहभागी सामुदायिक र संस्थागत विद्यालयका शिक्षकहरुलाई राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतियोगितामा महत्त्व राख्ने खेलहरुलाई विद्यालय तहमा सञ्चालन गर्न सुझाव दिए ।  

उपमहानगरको १० लाख बजेटमा जीतपुर सिमरा वडा नं १४ स्थित जनता मावि कृषि प्राविधिक शिक्षालयले सञ्चालन गरेको खेलकुद प्रतियोगितामा २१ वटा सामुदायिक र १६ वटा संस्थागत विद्यालयका १८ वर्ष उमेर नपुगेका छात्र/छात्रा सहभागी छन् ।  जसमा २९४ छात्रा र ४११ जना छात्र रहेका छन् ।  माघ १३ गतेसम्म  सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तेक्वान्दो, कराँते, क्रिकेट, भलिबल, एथलेटिक्स, कबर्डी, फुटबल खेल हुनेछ । 

७ प्रकारका खेलकुद प्रतियोगिता मध्ये क्रिकेटमा छात्रहरु मात्रै र फुटबलमा छात्राहरु मात्रै सहभागी हुनेछन् भने अन्य खेलको हकमा छात्र र छात्रा दुवै सहभागी हुने खेलकुद सञ्चालनको जिम्मा लिएको जनता माविका प्रधानाध्यापक राजु अधिकारीले जनाएका छन् । 

उपमहानगरले चालु आर्थिक वर्षमा खेलकुद क्षेत्रमा ३ करोड ५५ लाख ५० हजार ४३५ रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमा सबैभन्दा बढी बजेट फुटबल क्षेत्रमा रहेको उपमहानगरले जनाएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप