सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
महानगरविरुद्ध व्यापारी

मेयर बालेनविरुद्ध एकैदिन दुईतिर आन्दोलन, फिर्ता होला निर्णय ?

बुधबार, १० माघ २०८०, १४ : ५४
बुधबार, १० माघ २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध एकै दिन दुई स्थानमा आन्दोलन भएका छन् । बुधबार मेयर बालेनको निर्णयविरुद्ध काठमाडौँको प्रमुख व्यापारिक केन्द्र मानिने न्युरोड र काठमाडाँै महानगरपालिकाको कार्यालय रहेको कमलादीमा आन्दोलन भएका हुन् ।  

दुवैतिर आन्दोलन गर्नेहरु भने व्यापारी नै हुन् । न्युरोडका व्यापारीले सो क्षेत्रमा पार्किङ हटाएको विरोधमा र कमलादीमा फुटपाथमा व्यापार गर्न नदिएको विरोधमा मेयर बालेनविरुद्ध आन्दोलन गरेका हुन् ।

काठमाडौँ महानगरपालिकाले सरोकारवालाहरूसँग परामर्श नगरी पार्किङ निषेध गरेको विरोधमा व्यापारीहरूले बुधबार पनि विरोध प्रदर्शन गरेका छन् । धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक तर्फको सडक खण्ड खिचापोखरी, प्युखा, महाबौद्ध, पाको लगायतका क्षेत्रमा सञ्चालित पार्किङहरुमा निषेध गरेको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् ।    

काठमाडौँ महानगरपालिकाले माघ ९ गतेदेखि लागू हुने गरी न्युरोड क्षेत्रको पार्किङ हटाउने निर्णय गरेको थियो । सो निर्णयले उक्त क्षेत्रको व्यापार व्यवसायमा गम्भीर असर पर्ने भन्दै पार्किङ निषेधको निर्णय खारेज गर्नुपर्ने भन्दै न्युरोडका व्यापारीहरुले विरोध गरेका हुन् । 

न्युरोडका व्यापारीहरुले मंगलबार पनि प्रदर्शन गरेका थिए । उनीहरुले संयुक्त संघर्ष समिति नै गठन गरेर आन्दोलनलाई थप चर्काउने नीति लिएका छन् । संयुक्त संघर्ष समितिका संयोजक अमृत मानन्धरले सरोकारवालाहरुसंग परामर्श नगरी र विकल्प समेत नदिएर धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक तर्फको सडक खण्ड खिचापोखरी, प्युखा, महाबौद्ध, पाको लगायतका क्षेत्रमा सञ्चालित पार्किङ निषेध गरिएकाले आन्दोलन गर्नुपरेको बताए ।

‘स्थानीय जनप्रतिनिधीहरु व्यवसायी संघ संस्था तथा स्थानीय सामाजिक संघ संस्थाको मनोभावना विपरीत पार्किङको उचित विकल्प प्रदान नगरी, यथेष्ट समय पनि प्रदान नगरी जबरजस्ती रुपमा काठमाडौँ महानगरको एकलौटी नियम लाद्ने कुरामा कुनै पनि प्रजातान्त्रिक अभ्यास देखिँदैन’, संयोजक मानन्धरले भने, ‘यस कारणले व्यवसायीक संघसंस्थाहरु, स्थानीय संघसंस्थाहरु तथा सरोकारवालाहरु संगठित भएर यस कार्यको घोर विरोध गर्दछौँ । साथै यथाशीघ्र बन्द भएको पार्किङ व्यवस्थित तथा वैज्ञानिक ढंगले सञ्चालन गर्न माग गर्दछौँ ।’

यता फुटपाथमा व्यवसाय गरेर जिविकोपार्जन गर्दै आएका व्यापारीहरुले पनि बुधबार काठमाडौँ महानगरको कार्यालय घेराउ गरेका छन् ।

रत्नपार्कमा भेला भएका फुटपाथ व्यापारीहरु र्‍यालीसहित कमलादीस्थित महानगरपालिकाको कार्यालय पुगेर घेराउ गरेका हुन् । उनीहरु ‘स्वरोजगार श्रमिकका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन व्यवस्था गर,सडकमा व्यापार गर्नु रहर होइन बाध्यता हो,हामीलाई गरिखान देऊ’, लगायतका प्लेकार्ड बोकेर प्रदर्शन र घेराउमा उत्रेका थिए । फुटपाथका व्यापारीहरुले महानगर प्रहरी प्रमुख राजु पाण्डेको सम्पत्ति समेत छानबिन गर्नुपर्ने माग राखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप