शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
सन्दर्भ : गजेन्द्रनारायण स्मृति दिवस

गजेन्द्रका आदर्श किन अपनाउँदैनन् मधेसी दल ?

बुधबार, १० माघ २०८०, १६ : ३५
बुधबार, १० माघ २०८०

काठमाडौँ । नेपाल सद्भावना पार्टीका संस्थापक नेता स्व.गजेन्द्रनारायण सिंहको आज २२औँ स्मृति दिवस मनाइँदै छ । २०५८ माघ १० गते हृदयाघातका कारण काठमाडौँमा उनको निधन भएको थियो ।

सिंहको स्मृति दिवसका अवसरमा काठमाडौँलगायत तराई मधेसका विभिन्न ठाउँमा कार्यक्रम आयोजना गरिएको छ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले आफ्नो पार्टी कार्यालयमा सिंहको स्मृति दिवस मनाइरहेको छ भने सोही पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठानमार्फत छुट्टै कार्यक्रम आयोजना गरेका छन् ।

मधेस केन्द्रित दलका नेताहरूले गजेन्द्र नारायण सिंहलाई वर्षमा दुई पटक सम्झन्छन्, एक पटक उनको जन्मजयन्ती र अर्कोपटक स्मृति दिवसमा । त्यसबाहेकका दिन उनलाई कसैले सम्झेका हुँदैनन् ।

नेपाली कांग्रेसले बीपी कोइरालालाई आदर्श मान्दै उनको तस्बिर र विचारलाई पार्टीमा प्रयोग गरेको हुन्छ । एमालेले पुष्पलाललाई र माओवादीले माओको विचार र दर्शनलाई मानेका हुन्छन् । तर मधेसवादी दलले न गजेन्द्रलाई आदर्श मानेका छन्, न अरु कसैलाई ।

गजेन्द्रनारायण सिंहले नै उठाएको मधेस मुद्दाका आधारमा अहिलेका मधेसवादी दलहरुले आफ्नो राजनीति गरिरहेका छन् । यो २१ वर्षमा धेरै कुरा परिवर्तन भएको छ । २०४७ सालमा गजेन्द्रनारायण सिंहले गठन गरेको नेपाल सद्भावना पार्टी अस्तित्वमै छैन । उनका साथमा काम गरेका नेताहरु पनि विभिन्न दलमा बिलिन भइसकेका छन् । गजेन्द्रनारायण सिंहलाई आदर्श मानेर राजनीति गरेका हरेक नेता कुनै न कुनै पार्टीमा छन् । यहाँसम्म कि उनीहरू ठुला पार्टी भनिने कांग्रेस, एमाले, माओवादी पार्टीमा पुगेका छन् । तर सबैले गजेन्द्रबाबुको आदर्श र विचारलाई बिर्सिसकेको बताउँछन् गजेन्द्रका साथा लामो समय काम गरेका जीपी सिंह । ‘गजेन्द्रनारायण सिंह मधेसका आदर्श भए पनि मधेसी नेता तथा मधेसवादी दलका लागि अब आदर्श रहेनन्,’ उनले भने ।

जुन बेला नेपालमा मधेसको नाम लिन पनि मानिसहरु डराइरहेका हुन्थे, मधेसमाथि विभेदको चरम सीमा नाघिसकेको थियो, त्यो बेला गजेन्द्र नारायण सिंहले धोती, कुर्ता लगाएर मधेसको पहिचानका लागि संघर्ष गरेको मधेस सरकारका मुख्यमन्त्री सरोज यादवका प्रेस सल्लाहकार सीताराम अग्रहरी बताउँछन् ।

गजेन्द्रले धोती, कुर्ता लगाएर संसदमा हिन्दी भाषामा आफ्नो मन्तव्य राखेका थिए । हिन्दीमा भाषा आफ्नो कुरा राख्दा उनलाई बोल्न रोक लगाइएको थियो । उनले हिन्दी भाषामा आफ्नो कुरा जबरजस्ती राखेपछि उनको त्यो मन्तव्य रेकर्डबाट हटाइएको थियो ।

त्यस्तै, तत्कालीन अवस्थामा टुँडिखेलमा आयोजना गरिएको आमसभामा उनले हिन्दी भाषामा आफ्नो मन्तव्य राख्दा हुटिङ भएको थियो । कार्यक्रमस्थलमा झडपसमेत भएको थियो । तैपनि उनले आफ्नो संघर्षलाई विश्राम नलिएको उनको साथमा लामो समय काम गरेका र हाल जसपाका केन्द्रीय सदस्य रहेका विकास तिवारी बताउँछन् ।

‘गजेन्द्रनारायण सिंहले मधेसका लागि संघर्ष गरिरहँदा थुप्रै पटक अपमानित हुनु पर्‍यो, प्रहरीले उहाँलाई आफ्नो बुटले कुल्चिने काम गर्‍यो, सदनमा बोल्नबाट रोक लगाइयो, टुँडिखेलमा हिन्दीमा भाषण गर्दा कार्यक्रम भाँड्न लगाएको जस्ता थुप्रै उदाहरण छन्,’ तिवारीले भने, ‘उहाँ यो राज्यबाट जति अपमानित हुनुभयो, जति विभेदको सिकार हुनुभयो, त्यति अहिलेका कुनै पनि नेताले सास्ती पाउनु भएको छैन ।’

आफूमाथि राज्यले जस्तोसुकै दमन गरे पनि गजेन्द्र नारायण सिंहले आफ्नो संघर्षलाई निरन्तरता दिएको तिवारी सम्झन्छन् । उनका अनुसार गजेन्द्र नारायणको राजनीति सेवामूलक थियो । त्यो भावना अहिलेका कुनै पनि नेतामा नभेटिने उनले बताए ।

गजेन्द्र नारायण सिंहले आफ्नो व्यक्तिगत स्वार्थका लागि कहिले कुनै कार्य नगरेको तिवारीको दाबी छ ।

मधेसको विषयमा कुरा नमिल्दा नेपाली कांग्रेस छाडेर २०४० मा नेपाल सद्भावना परिषद् गठन गरी मधेसी पहिचानका लागि संघर्षमा उत्रिएका गजेन्द्रनारायण सिंहले २०४७ सालमा नेपाल सद्भावना पार्टी गठन गरेका थिए । त्यो पार्टीले मधेसका लागि गरेको संघर्ष र योगदान स्मरणीय छ । त्यो पार्टीबाट थुप्रै नेता जन्मे, ठुलै नेता बने, पटक पटक मन्त्री भए, पार्टीको नेतृत्व पनि गरे तर गजेन्द्रनारायण सिंहलाई उनीहरूले पनि आदर्श मानेर हिँडेको देखिएन ।

आफूलाई गजेन्द्र नारायणको अनुयायी र उत्तराधिकारी दाबी गर्ने राजेन्द्र महतो, अनिलकुमार झा, अमृता अग्रहरी, सरिता गिरी, मनिष सुमन, लक्ष्मणलाल कर्ण, विकास तिवारी, रामेश्वरराय यादव, बद्री मण्डल, हृदयेश त्रिपाठी, श्रीमननारायण, देवेन्द्र मिश्र, नरसिंह चौधरी, गोविन्द चौधरी, रामबाबु यादव, मृगेन्द्रकुमार सिंहलगायत थुप्रै नेता अहिले विभिन्न दलमा सक्रिय छन् । तर उनीहरू कसैले कहीँ कतै गजेन्द्रनारायण सिंहको आदर्श र विचारलाई सम्बोधन नगरेको मधेसका मुख्यमन्त्रीका सल्लाहकार अग्रहरी बताउँछन् । उनी भन्छन्, ‘मधेसमा गजेन्द्रनारायण सिंहको छत्रछायामा थुप्रै नेताले काम गरे, त्यहाँबाट नेता बने तर उहाँको निधनपछि सबैले उहाँलाई बिर्सिए ।’

गजेन्द्रनारायण सिंह नै यस्ता नेता थिए, जसले धोती कुर्ता लगाउने पनि नेपाली नै हो भन्ने बुझाउन निकै संघर्ष गरे । धोती कुर्ता लगाएर सदनमा जाँदा उनी अपमानित पनि भएका थिए । तै पनि उनले धोती कुर्तालाई कहिल्यै छाडेनन् । उनले मधेसका लागि संघर्ष गरे पनि नेपालप्रतिको मायामा कहिल्यै कमी ल्याउन नदिएको जीपी सिंह बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप