बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

बालेनले रुचाएका प्रमुख प्रशासकीय अधिकृत परियारले काठमाडौँ महानगरमा थाले काम

बुधबार, १० माघ २०८०, १८ : ००
बुधबार, १० माघ २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले महानगरमा काम थालेका छन् । महानगरका मेयर बालेन शाहले रुचाएका प्रमुख प्रशासकीय अधिकृत परियारले बुधबारदेखि काम सुरु गरेका हुन् ।

मेयर शाहको अनुरोधमा माघ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले परियारलाई काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा गरेको थियो । यसअघिका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी कर्मचारी भर्नामा अनियमितता गरेको आरोप लागेपछि मेयर शाहले कार्यालय प्रवेशमा रोक लगाएका थिए । 

पदवहालीपछि विभागीय प्रमुखहरुसँगको परिचयात्मक कार्यक्रममा उनले वार्षिक नीति तथा कार्यक्रममा साझा दृष्टि बनाएर समूहगत कार्य प्रणालीबाट लक्ष्य प्राप्त गर्नुपर्ने बताए । उनले भने,‘स्थानीय सरकार लोकतन्त्रको प्रयोगशाला हो । हाम्रो सेवा प्रणालीबाट यसको परीक्षण हुन्छ । यसका लागि हामीले काम गर्नुपर्नेछ ।’

सांस्कृतिक पहिचान र पर्यटन प्रवर्धनमा काठमाडौँले काम गर्नुपर्ने बताउँदै उनले महानगर गौरव र स्वर्णिम योजनालाई सफल बनाउन, जनप्रतिनिधिको नीति र कार्यक्रमलाई कर्मचारी संयन्त्रले प्रभावकारी कार्यान्वयन गरेर सफलता प्राप्त गर्ने काममा दृढ रहेको उल्लेख गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप