आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रथम महिलाको डियोर ब्यागका कारण दक्षिण कोरियाको राजनीति तरङ्गित

शुक्रबार, १२ माघ २०८०, १२ : ०९
शुक्रबार, १२ माघ २०८०

सोल । दक्षिण कोरियाकी प्रथम महिला किम किओल हिले लक्जरी ब्याग उपहारमा लिएपछि सत्तारुढ दल समस्यामा फसेको छ । गएको वर्ष सार्वजनिक गरिएको जासुस क्यामराको फुटेजमा एक जना पादरीले किमलाई फ्रान्सेली लक्जरी गूड्ज कम्पनी डियोको ब्याग दिइरहेको देखिएको थियो । 

केही विश्लेषकहरूले यो घटनाले अप्रिलको चुनावमा राष्ट्रपति युन सुक यिओलको पार्टीको सम्भावना जोखिममा पारेको बताइरहेका छन् । यस मामिलामा मतदाताहरूले यूनबाट स्पष्टीकरण चाहेको जनमत सर्वेक्षणहरूले देखाइरहेका छन् । विपक्षी दलले भने यो विषयलाई राष्ट्रपति माथि हमला गर्ने साधन बनाएको छ ।

वामपन्थी युट्युब च्यानल भ्वाइस अफ सोलले सार्वजनिक गरेको सो भिडियो पादरी चोई जाय–योङगले आफ्नो घडीभित्र लुकाएको क्यामराले खिचेको बताइएको छ । चोई ३० लाख वन (२ हजार २०० अमेरिकी डलर) पर्ने खैरो निलो रङ्गको बाछाको छालाको ब्याग किन्न स्टोरमा गएको देखिन्छ । त्यसपछि चोई सोलस्थित प्रथम महिलाको कम्पनी कोभाना कन्टेन्ट्समा गएका छन् । त्यहाँ प्रथम महिलालो पादरीलाई तपाई किन सधैँ मेरा लागि चिजविज ल्याउनु हुन्छ भनेर भन्छिन् ।

ब्याग हिलाई सन् २०२२ को सेप्टेम्बरमा दिइएको स्थानीय सञ्चार माध्यमले बताएका छन् । भिडियोमा प्रष्टसँग किमले ब्याग लिएको देखाइएको छैन । तर कोरिया हेराल्डले भने राष्ट्रपति कार्यालयले ब्याग लिएको पुष्टि गरेको अनि यसलाई सरकारी सम्पत्तिको रूपमा राखिएको भन्दै समाचार छापेको थियो ।

यही महिनाभित्र यूनको कार्यालयले यो विषलाई सम्बोधन गर्ने योजना बनाइरहेको योन्ह्याप न्युज एजेन्सीले अज्ञात स्रोतलाई उद्धृत गर्दै समाचारमा भनेको छ । हालै भएको जनमत सर्वेक्षणमा ६९ प्रतिशत कोरियालीहरूले प्रथम महिलाको यस व्यवहारबारे स्पष्टीकरण दिन राष्ट्रपतिसँग माग गरेका थिए । डिसेम्बरमा भएको अर्को जनमत सर्वेक्षणमा ५३ प्रतिशत सहभागीहरूले किमका यो व्यवहार अनुपयुक्त बताएका थिए । 

दक्षिण कोरियामा विधान सभाको निर्वाचन आउन तीन महिना मात्रै बाँकी छ । यो काण्डलाई केही राजनीतिक विश्लेषकहरूले राजनीतिक बमको संज्ञा दिएका छन् । दक्षिण कोरियामा सरकारी अधिकारी र तिनका पत्नीले सर्वसाधारणबाट एक पटकमा १० लाख वन र एक आर्थिक वर्षमा ३० लाख वनभन्दा बढीको उपहार लिन पाउँदैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप