मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

सेमिफाइनलमा सिनरसँग हारे जोकोभिच, कीर्तिमानी उपाधि चुम्ने सपना चकनाचुर

शुक्रबार, १२ माघ २०८०, १३ : ३२
शुक्रबार, १२ माघ २०८०

काठमाडौँ । सर्बियन टेनिस स्टार नोभाक जोकोभिचको इतिहास रच्ने सपना चकनाचुर भएको छ । कीर्तिमानी रुपमा २५औँ ग्रान्डस्लाम उपाधि जित्ने योजनामा रहेका जोकोभिच शुक्रबार अस्ट्रेलियन ओपनको सेमिफाइनलमै पराजित भएका छन् । जोकोभिच सन् २०१८ पछि पहिलो पटक अस्ट्रेलियन ओपनमा पराजित भएका हुन् ।

३६ वर्षीय जोकोभिचलाई इटालियन युवा खेलाडी यानिक सिनरले हराएका हुन् । २२ वर्षीय सिनरले अनुभवी जोकोभिचलाई ६–१, ६–२, ७–६ (८–६), ६–३ अंकले हराएका हुन् । जोकोभिच कीर्तिमानी २५औँ ग्रान्डस्लाम प्रतियोगिताको उपाधि जित्ने अभियानमा थिए ।

पहिलो वरीयतामा आसिन सर्बियन टेनिस स्टार जोकोभिचले हालसम्म ग्रान्डस्लाम प्रतियोगिताको २४ वटा उपाधि चुमिसकेका छन् । उनले अस्ट्रेलियन ओपनको पुरुष एकलतर्फको उपाधि पनि १० पटक जितिसकेका छन् । यसपटक उपाधि जितेको भए उनले अस्ट्रेलियन ओपनमा पनि इतिहास रच्ने थिए ।

जोकोभिचले हालसम्म तीनपटक फ्रेन्च ओपन, सातपटक विम्बल्डन र चारपटक यूएस ओपनको उपाधि चुमिसकेका छन् । तर, इटालियन खेलाडी सिनरले तुषारापात गरिदिए । सिनर भने पहिलो पटक कुनै पनि ग्रान्डस्लाम प्रतियोगिताको फाइनलमा पुगेका हुन् ।

यसअघि उनी ग्रान्डस्लाम प्रतियोगितामा सेमिफाइनल चरणभन्दा अगाडि बढ्न सकेका थिएनन् । सन् २०२३ मा उनी विम्बल्डनको सेमिफाइनलमा पुगेका थिए । उनी सन् २०२२ मा यूएस ओपन र सन् २०२० मा फ्रेन्च ओपनको क्वार्टरफाइनलमा पुगेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप