शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
बदलियो समय

कलाकार राजनीतिमा, नेता फिल्ममा !

सोमबार, १५ माघ २०८०, १५ : ०३
सोमबार, १५ माघ २०८०

काठमाडौँ । नेपालका नेताहरु राजनीतिको अलवा अव सिनेमाको पर्दामा पनि देखिने भएका छन् । यो सातामात्रै नेपालका तीन जना चर्चित नेताहरु बन्दै गरेका र बन्न लागेका चलचित्रमा कलाकारको भूमिकामा देखिने समाचारहरु प्रकाशित भए । यसअघि कलाकारहरु राजनीतिमा आएका समाचार लेखिने, सुनिने र देखिने गरेकोमा अव नेताहरु चलचित्रमा देखिने भएका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता समेत रहेका जुम्लाका प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रबहादुर शाही र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राई चाँडै चलचित्रको पर्दामा देखिने भएका हुन् ।

धरान उपमहानगरका स्वतन्त्र मेयर साम्पाङले चलचित्र ‘खजुरे ब्रो’मा अभिनय गरेका छन् । धरानमा केही समयदेखि छायांकन भइरहेको चलचित्रमा साम्पाङले अतिथि कलाकारको भूमिका निर्वाह गरेका छन् ।

निर्माणाधीन सिनेमामा साम्पाङको चरित्रको छायांकन सकिएको निर्माण पक्षले भनाई छ । ‘खजुरे ब्रो’सिनेमाका कार्यकारी निर्माता डायमण्ड उप्रेतीले धरानको आइकनिक व्यक्तिको विषयलाई लिएर स्थानीय सांस्कृतिक पक्ष उजागर गर्ने उद्देश्यले नगरप्रमुख साम्पाङलाई चलचित्रमा विशेष भूमिकामा खेलाइएको बताए ।

‘खजुरे ब्रो’ पारिवारिक व्यंग्यामत्मक ‘लाइट कमेडी’ जनरामा आधारित हुने बताइएको छ ।

उक्त चलचित्रमा मेयर राईका अलवा कलाकारहरु महेश त्रिपाठी, नीति शाह मुख्य भूमिकामा रहनेछन् । 

यता एसिड आक्रमण घटनाका पीडितको कथावस्तुमा निर्माण हुन लागेको फिल्म ‘नमेटिने घाउ’ मा पूर्वप्रधानमन्त्री ओली र सांसद शाहीले अभिनय गर्ने भएका छन् । ‘नमेटिने घाउ’ का निर्देशक निर्माता रमित ढुंगाना रहेका छन् ।

निर्देशक ढुंगाना निर्देशित ‘नमेटिने घाउ’ चलचित्रको आइतबार काठमाडौँमा एक समारोहका बिच शुभमुहर्त गरियो । उक्त चलचित्रको शुभमुहर्त अध्यक्ष ओलीले नै गरे । कार्यक्रममा सांसद शाही पनि सहभागी थिए । कार्यक्रममा निर्माण पक्षले फिल्ममा शाहीको पनि अभिनय रहने जानकारी गराइए पनि  फिल्ममा उनी के भूमिकामा देखिने हुन् त्यो भने खुलाइएको छैन ।

‘नमेटिने घाउ’ चलचित्र ३३ जना एसिड पीडितहरूको कथामा आधारित रहेको बताइन्छ । शिव अधिकारीको कथा, ओम सुनारको संगीत रहने यो चलचित्रमा सुरवीर पण्डित र रामचन्द्र अधिकारी पुराना कलाकारले समेत अभिनय गर्नेछन् । अन्य कलाकारको रूपमा मुस्कान खातुन, सिम्रन खड्का, सुप्रज्ञा शर्मा, इभा गिरी, प्राप्ति पौडेल, सन्जोग रसाइली, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईँ, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्रसिंह कुसुहा लगायत रहनेछन् ।

यसअघि कलाकारहरु कोमल वली, करिष्मा मानन्धर, रेखा थापा राजनीतिमा प्रवेश गरेका थिए । वली एमालेबाट राष्ट्रियसभा सांसद बनेकी थिइन् । करिष्मा मानन्धर हाल एमालेसँग आबद्ध छन् भने थापा राप्रपा निकट मानिन्छिन् । हाल अमेरिकामा रहेकी थापा गत २०७९ को निर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएकी थिइन् ।

यस्तै कलाकार तथा निर्माता रोज राणा हाल लुम्बिनी प्रदेशको यातायात मन्त्री छन् । त्यस्तै चर्चित र्यापर बालेन शाह काठमाडौँ महानगरपालिकाको प्रमुख बनेका छन् ।  कलाकार सञ्जय श्रेष्ठ राप्रपा निकट रहेपनि गत निर्वाचनमा काठमाडौँ ६ बाट पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यस्तै हिमेस पन्त रास्वपा र ‘सिते वा’ भनेर चिनिने मधुसूदन पाठक लौरो चुनाव चिन्हबाट चुनाव लडेका थिए ।

यस्तै प्रसिद्ध कलाकार मदन दास श्रेष्ठ पनि काठमाडौँ महानगरपालिकाको स्वतन्त्र उम्मेदवार बनेका थिए । उता फिल्म निर्माता तथा नायकको भूमिका निर्वाह गरेका मधुकुमार श्रेष्ठ बागमती प्रदेशको सांसद छन् । मधु नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् । हाल चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका नायक भुवन केसी पनि ७० सालको संविधान सभा चुनावमा काठमाडौँ १ बाट नेकपा एमालेले टिकट दिएपनि विवाद भएपछि पछि हटेका थिए । यस्तै निर्देश मनोज पण्डित पनि गत निर्वाचनमा काभ्रेबाट स्वतन्त्र उम्मेदवार बनेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप