आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
बालकुमारी घटना

आयोगले मन्त्री ज्वालालाई बयानका लागि बोलायो

प्रजिअ र एसएसपीसहित ३१ जनाले दिए बयान
मङ्गलबार, १६ माघ २०८०, २३ : १०
मङ्गलबार, १६ माघ २०८०

काठमाडौँ । बालकुमारी घटना जाँचबुझ आयोगले घटनाबारे बयान दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बोलाएको छ । मन्त्री ज्वालालाई आयोगमा उपस्थित हुन पत्राचार गरिएको आयोगका एक जना सदस्यले रातोपाटीलाई बताए । उनले भने– ‘मन्त्रिपरिषद्मा जानकारी गराएर उहाँलाई पत्र पठाएका छौँ ।’

मन्त्री ज्वालाले माघ १७ मा आयोगमा गएर आफ्ना कुरा राख्ने आयोगलाई जानकारी गराएका छन् । पुस १३ मा बालकुमारीमा प्रहरीको ‘घातक’ बल प्रयोगबाट वैदेशिक रोजगारीमा जान चाहने अछामका वीरेन्द्र शाह र दैलेख घर भएका सुजन रावतले ज्यान गुमाए ।

प्रदर्शनस्थलमा अकस्मात् भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला उपस्थित भएपछि भिड थप आक्रोशित बनेको जानकारहरु बताउँछन् । मन्त्री ज्वाला चढ्ने बा.२ झ ५८६१ नम्बरको गाडी प्रदर्शनकारीले जलाएका थिए ।

प्रदर्शन स्थलमा मन्त्री र प्रदर्शनकारीको बिचमा भनाभन भएको भिडियो सार्वजनिक भएको छ । दृश्यमा प्रदर्शनकारीले मन्त्रीलाई पछाडिबाट धकेलेका छन् । त्यसपछि पैदल हिँड्दै उनी कान्तिपुर गार्डेनस्थित नेकपा (समाजवादी) पार्टीको बैठक स्थलमा प्रवेश गरे, दिनभर निस्केनन् ।

जाँचबुझ आयोगले अहिलेसम्म ३१ जनाको बयान लिएको छ । ललितपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र प्रहरी वरिष्ठ उपरिक्षक सिद्धिविक्रम शाहसहित ३१ जनासँग बयान लिएको आयोगका अध्यक्ष (पूर्व न्यायाधीश) शेखर पौडेलले रातोपाटीलाई बताए ।

घटनास्थलमा प्रहरीले सेल्फ लोडिङ्ग राइफल (एसएलआर)बाट ३० राउन्ड गोली चलाएको छ । घटनास्थलमा २१ राउन्ड रबर बुलेट प्रहार गरिएको छ । त्यस्तै अश्रुग्याँस ११४ राउन्ड प्रहार गरेको छानबिनबाट थाहा भएको छ । ललितपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले आफूले गोली चलाउने आदेश नदिएको आयोगमा बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप