आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
बालकुमारी घटना

बालकुमारी घटना जाँचबुझ आयोगको म्याद १५ दिन थप्न प्रस्ताव

मङ्गलबार, १६ माघ २०८०, १६ : ४१
मङ्गलबार, १६ माघ २०८०

काठमाडौँ । ललितपुरको बालकुमारीमा सुरक्षाकर्मीको दमनबाट दुई जना युवकको मृत्यु भएको घटना जाँचबुझ गर्न गठित आयोगको म्याद थप गर्न प्रस्ताव गरिएको छ । पुस १६ मा मन्त्रिपरिषद्ले पूर्व न्यायाधीश शेखर पौडेलको नेतृत्वमा ३ सदस्यीय आयोग गठन गरेको थियो । आयोगमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक अरुण बिसी र सहसचिव नारायणप्रसाद भट्टराई सदस्य छन् ।

आयोगलाई मन्त्रिपरिषद्ले एक महिनामा प्रतिवेदन पेश गर्न कार्यादेश दिएको थियो । तर, समय अपुग भएको भन्दै आयोगको तर्फबाट म्याद थप्नुपर्ने प्रस्ताव आएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृतले भने, ‘आयोगको तर्फबाट १५ दिनको समय थप्न प्रस्ताव आएको छ ।’

सिंहदरबारमा कार्यालय स्थापना गरेर आयोगले पुस २० देखि जाँचबुझ शुरु गरेको थियो । पुस १३ मा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरूले गरेको प्रदर्शनमा प्रहरीले दमन गरेको हो । प्रहरीको दमनबाट दैलेख घर भएका सुजन रावत र अछामका वीरेन्द्र शाहले ज्यान गुमाएका थिए। सो घटनापछि ललितपुरका प्रजिअ र एसएसपी परिवर्तन भएका छन् । बालकुमारी क्षेत्रमा गोली हान्न आदेश गर्ने डिएसपी उमेश लम्साललाई निलम्बन गरिएको छ ।  

हाल जिल्ला प्रहरी परिसर ललितपुरमा प्रहरी बरिष्ठ उपरिक्षक शेखर खनाल र प्रमुख जिल्ला अधिकारीमा तुल्सी बहादुर श्रेष्ठलाई पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप