सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बैंकहरुको निक्षेपको आकार ६१ खर्ब ३६ अर्ब पुग्यो

बुधबार, १७ माघ २०८०, १२ : १६
बुधबार, १७ माघ २०८०

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूद्वारा सङ्कलन गरेको निक्षेपको आकार ६१ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ । माघ १४ गतेसम्म वाणिज्य बैंक, विकास बैक, फाइनान्स तथा वित्त कम्पनीहरूले सङ्कलित निक्षेपको आकार साढे ६१ खर्ब नजिक पुगेको हो ।

माघ १३ गते बेलुकासम्म बैंकहरुद्वारा सङ्कलित निक्षेप ६१ खर्ब ३४ अर्ब रुपैयाँ थियो । तर, भोलिपल्ट नै थप २ अर्ब रुपैयाँ थपिँदै कूल निक्षेपको आकार ६१ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको हो ।

यद्यपि, पछिल्लो तथ्याङ्कमा निक्षेपको तुलनामा बैंकहरुको कर्जा लगानी केही बढेको केन्द्रीय बैंकले जनाएको छ । माघ १३ गतेसम्म ६१ खर्ब ३६ अर्ब निक्षेप सङ्कलन गर्दै बैंकहरुले कूल ५० खर्ब ८१ अर्ब कर्जा लगानी गरेका छन् । यस्तो कर्जा लगानी माघ १३ गतेसम्म ५० खर्ब ७८ अर्ब रुपैयाँ हाराहारी मात्र रहेको थियो ।

वाणिज्य बैंक र अन्य वित्त कम्पनीहरूको लगानी समीक्षा अवधिमा कुल सङ्कलित निक्षेपको ८८.४८ प्रतिशत अर्थात् ५४ खर्ब २९ अर्ब रुपैयाँ २० वटा वाणिज्य बैंकहरुले मात्र उठाएका छन् । 

बाँकी ७ खर्ब ६ अर्ब रुपैयाँ बराबरको निक्षेप विकास बैंक, फाइनान्स, माइक्रो फाइनान्स लगायतका वित्त कम्पनीहरूले उठाएका हुन् ।

यस्तै यता कर्जा लगानी तर्फ पनि कूल कर्जामध्ये ८८.४१ प्रतिशत (४४ खर्ब ९२ अर्ब  रुपैयाँ) वाणिज्य बैंकहरुले आफैले लगानी गरेर बाकी रहेको ५ खर्ब ८९ अर्ब रुपैयाँ मात्र अन्य बैंक तथा वित्तीय कम्पनीहरूले लगानी गरेका छन् ।

तथापि, निक्षेप सङ्कलनको तुलनामा बैंकहरुले लगानी गर्न नसक्दा बैंकहरुसँग अधिक तरलता थुप्रिन पुगेको छ । माघ १५ सम्ममा ८०.४८ प्रतिशत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम गरेका बैंकहरुसँग ६ खर्ब माथि तरलता रहेको छ । यसले पनि केन्द्रीय बैंक माथि निक्षेप सङ्कलन उपकरण वा रिभर्स रिपो मार्फत बैंकिङ प्रणालीबाट तरलता तान्नुपर्ने दबाब परेको हो ।

पछिल्लो दुई दिनमा (मंगलबार र बुधबार) केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरण मार्फत बैंक तथा वित्तीय कम्पनीहरूबाट ५० अर्ब रुपैयाँ तरलता प्रशोधन गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप