सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

विचार, सिद्धान्त एवम् राजनीतिक सोचसहितको पुस्तान्तरण : रामकुमारी झाँक्री

शनिबार, २० माघ २०८०, २१ : ०७
शनिबार, २० माघ २०८०

हेटौँडा । नेकपा एकीकृत समाजवादीकी सचिव एवम् पूर्व सहरी विकास मन्त्री रामकुमारी झाक्रीले पार्टीमा विचार, सिद्धान्त एवम् राजनीतिक सोचसहितको पुस्तान्तरण हुनुपर्ने बताएकी छिन् । पार्टी नेतृत्वको उमेरभन्दा पनि विचार, सिद्धान्त र राजनीतिक चेत सहितको पुस्तान्तरणको बहस गर्नुपर्ने बताइन् ।

शनिवार एकीकृत समाजवादी, हेटौँडा उपमहानगरपालिका कमिटीको आयोजनामा हेटौँडा १६ मा भएको बृहत् वनभोज तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेतृ झाक्रीले पार्टीका नेताहरूको उमेर पाको हुँदैमा पुस्तान्तरण गर्ने कुराको चर्चा गर्नु उचित नहुने बताइन् । उनले उमेरका आधारमा भन्दा पनि विचार, राजनीति तथा सोचसहित पुस्तान्तरण ठिक हुने नेतृ झाक्रीले तर्क गरिन् । 

पार्टीभित्र हुने विचारविहीन, सिद्धान्तहीन पुस्तान्तरणको विषयलाई सच्याइनुपर्ने उनले बताइन् । नेतृ झाक्रीले राजनीति भनेको उद्यमीहरूको समूह हो भन्ने बनाउनुपर्ने आवश्यकता औँल्याइन् । 

‘पार्टीमा एउटा मान्छेले परिवर्तनका लागि के योगदान गर्‍यो भन्ने कुरा हामी हेर्दैनौँ । पाको उमेर भएकोको अनुभव हामीले हेर्नुपर्छ’ झाक्रीले भनिन्, ‘हामीले आज बाँचेको तथा भोगेको समस्याको समाधान गर्नतिर लाग्नुपर्छ । प्रत्येक कार्यकर्ता उद्यमी बन्दै राजनीतिमा लागे सफलता मिल्नेछ । बेरोजगारहरूलाई राजनीतिमा ल्याएकै कारण पनि राजनीति बेरोजगारहरूको जमघटको थलोजस्तो भयो । बेरोजगारको पल्टनका पल्टन मान्छे राखेर समाजवाद हुँदैन । सकिन्छ स्वरोजगार बन्ने नभए रोजगार त हुनै पर्छ ।’ 

नेतृ झाँक्रीले विगतमा अवसर नहुँदा असजिला बाटाहरू पार गर्दै राजनीतिमा लागेको तर अहिले अवसर भएकाले आफ्नो कर्तव्य सम्झँदै नागरिकलाई सुसूचित गराउन लाग्नुपर्ने बताइन् ।

सात दशकमा ल्याइएका सातवटा संविधानमा अधिकारका कुरा गरिएको तर अर्थतन्त्रलाई बलियो बनाउने र नागरिकलाई काम गर्न योग्य वातावरण बनाउने विषयमा ध्यान नदिइएको उनले बताइन् । अहिलेको व्यवस्था ठिक भए पनि केहीले आफ्नो राजनीतिका लागि लोकरिझ्याँईको भाष्य खडा गरेको झाँक्रीले टिप्पणी गरिन् । 

‘त्यस्ता पाटोमा ध्यान नदिँदा अहिले हरेक पेशाबाट राजनीतिमा आएर चुनाव लड्ने चुनावी मौसमको राजनीति हामीकहाँ बनिरहेको छ’ उनले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप