आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
पर्यटन बोर्ड

पर्यटन बोर्डको रिक्त तीन पदमा व्यवसायीहरूको दौडधुप, १९ जनाको आवेदन

आइतबार, २१ माघ २०८०, १३ : ३४
आइतबार, २१ माघ २०८०

काठमाडौँ । नेपाल टुरिजम बोर्ड (एनटीबी) मा राजनीतिक नियुक्ति लिन पर्यटन व्यवसायीहरूको तीव्र प्रतिस्पर्धा चलेको छ । माघ २२ गतेदेखि रिक्त हुने तीन पद (बोर्ड सदस्य) का लागि १९ जना व्यवसायीहरूको आवेदन परेको हो । 

२०८० माघ २२ गते आफ्नो तीन वर्षे कार्यकाल पुरा गर्दै उपाध्यक्ष चन्द्र रिजालसहित सदस्यद्वय कृष्ण शाह र नवाङ मिया शेर्पा बोर्डबाट बाहिरिँदै छन् । सोही तीन पदका लागि हाल बोर्डमा नियुक्ति लिन व्यवसायीहरूको तीव्र दौडधुप चलिरहेको हो । 

निजी क्षेत्रका पर्यटन व्यवसायीहरू यतिखेर राजनीतिक शक्ति केन्द्र, पार्टी र तिनका नेताहरू, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्रधानमन्त्रीसम्म नियुक्तिको सिफारिस बोकेर पुगिरहेका छन् । 

नेपाल पर्यटन बोर्ड नेपालको पहिलो पब्लिक–प्राइभेट सेक्टर पार्टनरशीप (पीपीपी) मोडको नमुना संस्था हो । सोही बोर्ड सदस्य नियुक्तिमा हुन सक्ने सम्भावित चलखेललाई मध्यनजर गर्दै सरकारले यसपटक मन्त्रिपरिषद्बाट बोर्ड सदस्य छनोट गर्ने तयारीका साथ सिफारिस समिति गठन गरेको छ । 

तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सहसचिव गोविन्द कार्कीको संयोजकत्वमा निजी क्षेत्रका दुई जना प्रतिनिधिसहित तीन सदस्यीय सिफारिस समिति गठन गरिएको छ । 

उक्त समितिले आवेदन परेका व्यवसायीहरूबाट सम्भावित ५ जनाको नाम छनोट गरेर मन्त्रिपरिषद्मा पठाउनेछ । सोही ५ जनाबाट मन्त्री परिषद्ले तीन जनालाई बोर्ड सञ्चालक समिति सदस्यको रूपमा नियुक्त गर्नेछ ।

हालसम्म बोर्ड सदस्यका लागि १९ जना आकाङ्क्षीको दरखास्त परेको छनोट समितिका संयोजक कार्कीले रातोपाटीसँग बताए । तर ती १९ जना आकाङ्क्षी कोको हुन् ? भन्ने प्रश्नमा उनले कसैको नाम पनि खुलाउन चाहेनन् । गोप्य आवेदनका कारण कुनै पनि आवेदकहरूको विवरण सार्वजनिक गर्न नमिल्ने उनले भनाइ छ । 

तर, १९ जना आवेदकहरूमध्ये केही चर्चित अनुहार भएको र तिनले राजनीतिक भागबन्डाका आधारमा बोर्ड सदस्यको नियुक्ति लिन निकै दौडधुप गरिरहेको स्रोतले रातोपाटीसँग बतायो । 

खासगरी सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी र केही साना दलका प्रतिनिधिहरूले समेत बोर्ड सदस्यका लागि शक्ति केन्द्र रिझाउन लागि परेका छन् । अर्कोतर्फ प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट पर्यटन व्यवसायीहरूले समेत बोर्ड सदस्यका लागि लबिङ गरिरहेका छन् । 

‘राजनीतिक भागबन्डाका आधारमा धेरैको आकाङ्क्षा देखिएको छ । तर सम्भावित अनुहार मध्ये व्यवसायीहरू कमल सापकोटा, नरेन्द्र भट्ट, सिर्जना राणा, देवीकृष्ण रोकाया, देवराज जैशी, नवराज दाहाल, अभिषेक विक्रम शाह, ऋषि भण्डारी, मोहन लम्साल, खुमबहादुर सुवेदी लगायतको उम्मेदवारी छ । यीमध्ये पनि सापकोटा, भट्टराई, राणा, जैशी र शाहको अन्तिम पाँचमा पर्ने उच्च सम्भावना छ’ स्रोतले रातोपाटीसँग भन्यो ।

खासगरी तीन जना बोर्ड सदस्यका लागि मुख्य सत्ता साझेदार दल माओवादी केन्द्र र कांग्रेस निकट व्यवसायीहरूबिच नै मुख्य प्रतिस्पर्धा हुने देखिएकाले उनीहरूबाट आएका व्यवसायीहरू नै बोर्ड सदस्यमा नियुक्त हुने सम्भावना बलियो रहेको स्रोतको भनाइ छ ।  

  • कांग्रेस कोटाबाट राणा पनि प्रतिस्पर्धामा

नेपाल होटल संघ (हान) का निवर्तमान अध्यक्ष सिर्जना राणा पनि पर्यटन बोर्ड सदस्यमा आकाङ्क्षी देखिएकी छिन् । राणाले कांग्रेस कोटाबाट बोर्ड सदस्य खान लागि परेको स्रोतको दाबी छ । 

यस्तै, कांग्रेस कोटाबाटै शेरबहादुर देउवा निकट मानिने व्यवसायी नरेन्द्र भट्टको समेत उत्तिकै सम्भावना भएको स्रोतको भनाइ छ । राणा र भट्टराई दुवै जना कांग्रेसबाट भएको हुँदा एक जना बाहिरिने र एक जना बोर्डमा भित्रिने सम्भावना रहेको स्रोतको दाबी छ । 

यसैगरी नेकपा माओवादी केन्द्रबाट धादिङबाट कमल सापकोटा, पश्चिम कर्णाली र सुदुर पश्चिमबाट प्रतिनिधित्व गर्दै व्यवसायी देवीकृष्ण रोकाया र देवराज जैशीले बोर्ड सदस्यका लागि दौडधुप गरिरहेका छन् । 

माओवादी कोटाबाट सापकोटाको उच्च सम्भावना भएपनि  रोकाया बोर्ड सदस्यमा आउनसक्ने उच्च सम्भावना रहेको स्रोतको दाबी छ । 

आकाङ्क्षी सापकोटा ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को यसअघिको निर्वाचनमा अध्यक्षमा हारेका व्यवसायी हुन् भने जैशी र्‍याफ्टिङ व्यवसायबाट र रोकाया हिमाली पर्यटन, होटल तथा ट्राभल एजेन्सी व्यवसायबाट आएका हुन् ।

यसैगरी टानका पूर्वअध्यक्ष नवराज दाहाल र निवर्तमान अध्यक्ष खुमबहादुर सुवेदीले समेत बोर्ड सदस्यका लागि तीव्र आकाङ्क्षा देखाएका छन् । दाहाल माओवादी निकट र सुवेदी कांग्रेस निकट पर्यटन व्यवसायी हुन् ।

पर्यटन व्यवसायी अभिषेकविक्रम शाहले समेत बोर्ड सदस्यका लागि इच्छा देखाएका छन् ।

  • बोर्डको मर्मलाई कसैले बुझ्न सकेन: उपाध्यक्ष रिजाल

आफ्नो तीन वर्षे कार्यकाल पुरा गर्दै माघ २२ गतेदेखि बिदा हुँदै गरेका बोर्ड सदस्य एवम् उपाध्यक्ष चन्द्रप्रसाद रिजालले पर्यटन बोर्डको मर्मलाई कसैले बुझ्न नसकेको गुनासो गरेका छन् । राजनीतिक भागबन्डा, नियुक्ति र स्वार्थका कारण मुलुककै एकमात्र सफल मानिएको निजी–सार्वजनिक साझेदारीको नमुना संस्था, पर्यटन बोर्डले सफलता हासिल गर्न नसकेको उनको भनाइ छ । 

‘पर्यटन बोर्डले धेरै राम्रा कामहरू गर्न सक्थ्यो । तर, केही स्वार्थ समूहका कारण त्यो सम्भव भएन । समाज नकारात्मक दिशामा गइरहेकोले नबोल्ने कि भन्ने लाग्छ तर बोल्नु त पर्‍यो । मुलुकको राजनीतिक गति जस्तो छ ठ्याक्कै यसको प्रतिविम्ब पर्यटन बोर्डमा पनि देखिएको छ,’ रिजालले रातोपाटीसँग भने । 

आफ्नो तीन वर्षे कार्यकालमा उपाध्यक्ष पदलाई स्थापित गराउन सफल भएको उनको दाबी छ । ‘पर्यटन बोर्ड भनेको निजी क्षेत्रको प्रतिनिधित्व गर्ने र आफ्नै लागि ऐन, कानुन बनाउने र कार्यान्वयन गर्ने निकाय हो । यति मात्र होइन निजी क्षेत्रको पहलमा पर्यटन क्षेत्रको विकासमा ठुलो काम गर्ने निकाय पनि हो । जुन व्यवस्था पर्यटन बोर्ड ऐन, २०५३ ले गरेको छ’ रिजालले भने, ‘यसको जिम्मेवारी कसको हो भने बोर्डको उपाध्यक्षको हो । जुन पदीय जिम्मेवारी मैले आफ्नो कार्यकालमा राम्रोसँग निर्वाह गरे भन्ने लाग्छ । यद्यपि, जति गर्न सकिने थियो, गर्नुपर्ने थियो सो भने केही बोर्ड भित्रैबाट र मन्त्रालय, राजनीतिक निकायबाट असहयोगका कारण गर्न सकिएन । यसका लागि बोर्डमा सक्षम नेतृत्वको खाँचो छ’ उनले बताए । 

निजी क्षेत्रबाट ५ जना र सरकारी निकायबाट ५ जना गरी १० जना बोर्ड सदस्य रहनेमा निजी क्षेत्रबाटै जाने एक जना सीईओले निजी क्षेत्रकै प्रतिनिधित्व गरेर व्यवसायीहरूको पक्षमा काम गर्नुपर्ने उनको भनाइ छ । 

आफ्नो चार वर्षे कार्यकाल पुरा गरेर डा.धनञ्जय रेग्मी बाहिरिएसँगै हाल पर्यटन बोर्ड प्रमुख कार्यकारी अधिकृत (सीईओ) विहीन अवस्थामा छ । बोर्डको सीईओ पदका लागि पनि झण्डै आधा दर्जन व्यवसायीहरूको आकाङ्क्षा देखिएको बुझिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप