बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

पालिकाभरी मौरी पाल्ने रुपाको तयारी, २१ सय घार वितरण हुँदै

सोमबार, २२ माघ २०८०, १० : २४
सोमबार, २२ माघ २०८०

पोखरा । कास्कीको रुपा गाउँपालिकाले मौरी पकेट कार्यक्रम सुरु गरेको छ । चालू वर्ष २०८०/०८१ लाई एक घर एक घार अभियानको रूपमा पालिकाले मनाइरहेको छ । ‘हरेक घरमा कम्तीमा १ घर वितरण गर्ने लक्ष्य छ । तर किसानले माग गर्नुपर्छ,’ पालिका अध्यक्ष नवराज ओझाले भने, ‘एउटा घारको लागि किसानले ३५ सय व्यहोर्नुपर्छ । पालिकाले बराबर व्ययभार बेहोर्छ ।’

 उनका अनुसार यो वर्ष प्रत्येक किसानले २० घारसम्म पाल्न मिल्ने गरी अनुदानको व्यवस्था गरिने छ । ‘१ देखि २० घारसम्म जति इच्छा लाग्छ, त्यति पाल्न मिल्छ । प्रत्येक घारमा हामी अनुदान दिन्छौँ,’ उनले अघि भने, ‘पालिकालाई स्वरोजगारमुलक बनाउने हाम्रो लक्ष्य छ ।

मौरीका लागि रुपा निकै प्रख्यात पनि छ र यसको सम्भावना पनि राम्रो छ ।’ मौरी पाल्न चाहने किसानसँग साझेदारी वापतको ३ हजार ५ सय रुपैयाँ प्रति घार जम्मा गर्न पालिकाले सूचना निकालेको छ ।

प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले घार टेन्डरबाट खरिद गर्ने तयारी भइरहेको बताए । ‘एउटा घारलाई ९ हजार जति पर्ने रहेछ । तर टेन्डरमा जाँदा ७ हजारसम्म आउँछ कि भन्ने अनुमान छ । त्यसकै आधारमा किसानसँग ३५ सय मागेका हौँ,’ उनले भने, ‘त्यो भन्दा कम लागत लाग्यो भने किसानको रकम फर्कादिन्छौं ।’

करिब ४ हजार किसानले मौरी पाल्नका लागि प्रारम्भिक निवेदन दिएका छन् । तर यो वर्ष २ हजार १ सय घार मात्रै खरिद गर्न सकिने बरालले बताए । ‘३९ सय भन्दा बढी निवेदन परेका छन् । सबैलाई पु-याउन सक्ने अवस्था चाहिँ छैन,’ उनी भन्छन्, ‘त्यसैले पहिले नै रकम माग गरेका हौँ । उहाँहरूले जम्मा गर्नुभएको रकमको आधारमा खरिद हुन्छ । २१ सय जति घार खरिद गर्छौँ ।’

पालिकाले यो वर्ष १ घर १ घार कार्यक्रमका लागि १ करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ । धेरै पहिलेदेखि रुपामा व्यावसायिक रूपमा मौरी र मह उत्पादन भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप