आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
सडक पूर्वाधार

बुटवल–नारायणगढ सडक स्तरोन्नति : म्याद सकिन ५ महिना बाँकी, काम ४५ प्रतिशत

मङ्गलबार, २३ माघ २०८०, ०९ : १७
मङ्गलबार, २३ माघ २०८०

बुटवल । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्डको ११४ किलोमिटर स्तरोन्नतिको काम ठेक्का लिएको चिनियाँ कम्पनीले विभिन्न कारण देखाउँदै समयमा पूरा गर्न नसकेपछि सरकारले साउन ६ गते सम्मको लागि म्याद थप गरेको थियो । थपिएको म्याद सकिन अब ५ महिना मात्रै बाँकी हुँदा पनि स्तरोन्नतिको काम ४५ प्रतिशत पनि पूरा हुन सकेको छैन ।

दुई खण्डमा विभाजन गरेर काम गरिएको यो सडकमा बर्दघाट–बुटवल सडक खण्डको पश्चिममा हालसम्म ४२ प्रतिशत काम सम्पन्न भएको छ । पूर्वमा पनि ४६ प्रतिशत मात्र काम भएको छ ।

दाउन्नेपूर्व ४८ किलोमिटर र पश्चिमखण्ड ६५ किलोमिटर पर्छ । पश्चिम खण्डका अहिले मासिक सरदर एक प्रतिशत काम भएकोले आगामी ५ महिनाभित्र ५० प्रतिशत पुर्‍याउने आङ्कलन गरेको  पश्चिमी खण्डका सूचना अधिकारी इन्जिनियर शरद श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘तोकिएको समयमा पुरा हुने सम्भावना छैन । पछि म्याद थप अथवा जरिवानाको अन्य प्रक्रिया फरक पाटो होला ।’ 

यता दाउन्नेपूर्व खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले म्याद सकिने बेला सम्म यताको काम ७० प्रतिशत पुग्न सक्ने आङ्कलन गरिएको रातोपाटीलाई बताए । उनले भने, ‘हामीले पनि दबाब दिएका छौँ, उनीहरूले समस्या सल्टाउने प्रतिबद्धता जनाएका छन् । त्यसैले यताको काम पनि केही प्रतिशत वृद्धि होला ।’ 

44

सङ्घीय सरकारले एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा सडक स्तरोन्नतिको काम अघि बढाइरहेको छ । तर ठेकेदार कम्पनीको ढिलासुस्ती र आलटालकै कारण यो मुख्य राजमार्गको महत्त्वपूर्ण खण्डमा यात्रा गर्ने सर्वसाधारणले सास्ती बेहोर्नु परिरहेको छ ।

तीन वर्षमा सक्ने गरी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन’ ले वि.सं. २०७५ देखि काम सुरु गरे पनि अहिलेसम्म जम्मा ४५ प्रतिशत मात्र भौतिक प्रगति भएको अवस्था छ । थपिएको म्याद सकिन जम्मा ५ महिना मात्र बाँकी रहँदा पनि ५५ प्रतिशत काम बाँकी रहनुले अझै दुई वर्ष यो सडक सम्पन्न हुने सम्भावना नभएको इन्जिनियरहरू नै स्वीकार गर्छन् । 

यो सडक निर्माण सम्पन्न भए बुटवलबाट नारायणगढ डेढ घण्टामै पुग्न सकिने छ । विस्तारित सडक बस्तीमा छ लेन र जङ्गलमा चार लेनको हुने गरी डिजाइन गरिएको छ । 

  • किन भइरहेको छ ढिलाइ ?

पूर्वपश्चिम महेन्द्र राजमार्गमा पर्ने बुटवल–नारायणगढ सडकखण्डमा अत्यधिक सवारी चाप छ । यस्तै दाउन्ने, बर्दघाट जस्ता ठाउँमा सवारी दुर्घटना धेरै हुने गरेका छन्  । यही समस्यालाई मध्यनजर गरेर सरकारले सडक स्तरोन्नतिको प्रक्रिया सुरु गरेको हो । 

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ठेक्का पाएपछि सुरुमा रुख कटान, बिजुलीको तार सार्ने र त्यसपछि कोभिडका कारणले सडक विस्तारमा ढिलाइ भएको थियो । अहिले कम्पनीसँग रकम र निर्माण सामग्रीको अभाव हुँदा काम सुस्त भएको इन्जिनियरहरू बताउँछन् ।

6

निर्माण सामाग्रीका लागि सडक विस्तार परियोजनाले हालै रुपन्देहीको देवदह नगरपालिकामा ५० हजार घन मिटर ढुङ्गा, बालुवा र मिस्कट) सुनिश्चित गरिदिएको छ । बुटवल–नारायणगढ सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर शरद श्रेष्ठले भने, ‘ठेकेदारको समस्या निर्माण सामाग्री मुख्य हो । त्यसका लागि हामीले देवदह नगरपालिकाबाट ५० हजार घन मिटर सुनिश्चित गरेका छौँ ।’

गत आर्थिक वर्षमा नवलपरासीमा धेरै स्थानीय तहमा नदीजन्य पदार्थको उत्खनन पनि भएन जसका कारणले नजिकबाट ठेकेदारले खरिद गर्न पाएको अवस्था पनि थिएन । अर्को तिर ठेकेदार कम्पनीले यहाँ सडक कार्यालयले दिने पेस्की रकमले मात्रै नपुग्ने भएकोले अन्य रकम पनि आफैँ खोज्न सकेको छैन ।

बुटवल–नारायणगढ सडक आयोजना पूर्व खण्डका इन्जिनियर शिव खनालले भने, ‘रकम अभाव पनि समस्या हो । हामीले पेस्की रकम मात्रै दिएर हुँदैन अब केही दिनमा उताबाट धेरै रकम आउँछन् भनेका छन् । त्यसपछि कामले तीव्रता पाउँला ।’  

११४ किलोमिटर सडक निर्माण ढिलाइ हुँदा नागरिकलाई धुलो र पानी आउँदा हिलोको समस्या बेहोर्नु परेको छ । निर्माण गर्ने नामका जताततै भत्काउने र ठाउँ ठाउँमा निर्माण सामाग्री राख्दा यात्रु मात्रै नभएर बसहरू पनि छिटो बिग्रने भएको पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप