बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

मृत्युको ५८ वर्षपछि ग्रान्डमास्टरको उपाधि !

पाकिस्तानले पायो बुद्धिचालको पहिलो ग्रान्डमास्टर
मङ्गलबार, २३ माघ २०८०, १४ : ५७
मङ्गलबार, २३ माघ २०८०

काठमाडौँ । पाकिस्तानका बुद्धिचाल मीर सुल्तान खानले फिडे ग्रान्डमास्टरको उपाधि पाएका छन् । विश्व बुद्धिचाल महासंघ (फिडे) ले मीर सुल्तान खानलाई मानार्थ फिडे मास्टरको उपाधि प्रदान गरेको हो । फिडेका पदाधिकारीहरू हाल पाकिस्तान भ्रमणमा छन् ।

अध्यक्ष अर्काडी डभोर्कोभिचको नेतृत्वमा रहेको फिडेको प्रतिनिधिमण्डलले पाकिस्तान भ्रमणकै क्रममा मीर सुल्तान खानलाई मानार्थ फिडे ग्रान्डमास्टरको उपाधि प्रदान गरेको हो । फिडेको यो घोषणासँगै पाकिस्तानले बुद्धिचाख खेलको इतिहासमै पहिलो फिडे ग्रान्डमास्टर पाएको छ ।

तर रमाइलो पक्ष के हो भने, आफ्नो समयका चर्चित बुद्धिचाल खेलाडी मीर सुल्तान खानको आजभन्दा ५८ वर्षअघि नै निधन भइसकेको छ । सन् १९०३ मा तत्कालीन ब्रिटिस इन्डियामा जन्मिएका मीर सुल्तान खानको निधन सन् १९६६ को अप्रिल २५ तारिखमा पाकिस्तानमा भएको थियो । उनको निधन क्षयरोगका कारण भएको थियो ।

मीर सुल्तान खान आफ्नो समयका प्रभावशाली बुद्धिचाल खेलाडी थिए । त्यतिबेला उनलाई एसियाकै उत्कृष्ट बुद्धिचाल खेलाडी मानिन्थ्यो । भारत र पाकिस्तान छुट्टिनुअघि उनले भारतको तर्फबाट खेलेका थिए । तर, यी दुई देश छुट्टिएपछि भने उनी पाकिस्तानी नागरिक बनेका थिए ।

उनको जन्मस्थान सरगोधा अहिले पाकिस्तानमा पर्छ । त्यसैले अहिले फिडेले उनलाई ग्रान्डमास्टरको उपाधि दिएपछि उनी पाकिस्तानको पहिलो ग्रान्डमास्टर बन्न पुगेका हुन् । मीर सुल्तानले सन् १९२९, सन् १९३१ र सन् १९३२ मा ब्रिटिस बुद्धिचाल च्याम्पियनसिपको उपाधि जितेका थिए ।

मीर सुल्तान खानले फ्रैंक मार्शल र सेविली टार्टाकोवरजस्ता आफ्नो समयका प्रभावशाली खेलाडीहरूलाई पनि हराएका थिए । उनले विश्व बुद्धिचालका पूर्वच्याम्पियन जस राउल केपबेलैंकालाई पनि पराजयको स्वाद चखाएका थिए ।

मीर सुल्तान खानले आफ्ना पिताबाट बुद्धिचाल खेल्न सिकेका थिए । मीर सुल्तान खान त्यतिबेला मेजर जनरल नबाब सर उमर हायात खानको घरमा सहयोगीका रुपमा काम गर्थे । जनरल खान त्यतिबेला पन्जाबका निकै धनाढ्य जमिनदार थिए । मीर सुल्तान खानको प्रतिभा चिनेपछि जनरल खानले नै उनलाई खेलमा अगाडि बढाएका थिए ।

‘आफ्नो समयका प्रभावशाली पञ्जाबी बुद्धिचाल खेलाडी थिए, मीर सुल्तान खान । उनी आफ्नो समयमा एसियाकै सबैभन्दा उत्कृष्ट खेलाडी थिए । उनले पाँच वर्षभन्दा कम समयमा तीन पटक ब्रिटिस च्याम्पियनसिपको उपाधि पनि चुमेका थिए । उनले आफ्नो समयका विश्व बुद्धिचालका महारथी खेलाडीहरूलाई समेत माथ गरेका थिए । उनलाई ग्रान्डमास्टरको उपाधि प्रदान गर्न पाउँदा हामी खुसी छौँ । उनी पाकिस्तानका पहिलो ग्रान्डमास्टर बनेका छन्,’ फिडेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप