मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश सरकार

कोशी प्रदेश सरकार विस्तारको भाका सरेको सर्‍यै

आकाङ्क्षीहरू दौरा–सुरुवाल लाउँदै फुकाल्दै
मङ्गलबार, २३ माघ २०८०, २० : २२
मङ्गलबार, २३ माघ २०८०

विराटनगर । कोशी प्रदेश सरकार विस्तारको भाका पुनः सरेको छ । मुख्यमन्त्री केदार कार्कीले मन्त्री नियुक्तिको भाका लामो समयदेखि सार्दै आएका छन् । उनले राष्ट्रियसभा निर्वाचन अगाडि ‘केही घण्टामै सरकार विस्तार हुने’ बताएका थिए । तर, निर्वाचन सम्पन्न भएको दुई हप्ता पुग्न लाग्दा पनि उनले सरकार विस्तार गर्न सकेका छैनन् ।

पार्टीको आन्तरिक किचलोमा फसेका उनले माघ २२ गते सोमबार सरकार विस्तार गर्ने अन्तिम तयारी गरे पनि पुनः पछि धकेलिएको छ । सोमबारको नियुक्ति मंगलबारलाई सारियो, मंगलबार पनि नभएपछि बुधबार बिहान ८ बजे मन्त्री नियुक्तिको काम हुने भन्दै मुख्यमन्त्री कार्की काठमाडौँ प्रस्थान गरेका छन् ।

तर स्रोतले दिएको जानकारी अनुसार अबको तीन दिन अझै मन्त्रीमण्डल विस्तार हुँदैन । किनकि झापाका कांग्रेस नेता केशवप्रसाद बुढाथोकीको निधनप्रति कांग्रेसले तीन दिन शोक मनाउने निर्णय गरिसकेको छ । ‘शोकको बेला पार्टीका नेताहरूले मन्त्री बनेर अबिर तथा फूलमाला लगाउने, हर्षबढाइँ गर्ने कुरा आएन,’ उक्त स्रोतले भन्यो, ‘त्यसैले अबको तीन दिनपछि मात्रै मन्त्रीमण्डल विस्तार हुन्छ ।’

उता, सोमबार बेलुका ५ बजे शपथग्रहण हुने भन्दै मन्त्री बन्ने सांसदहरूलाई बिहानै खबर भएको थियो । आफ्नै जिल्ला उदयपुरमा रहेका सांसद रामकुमार खत्री र नारायण बुर्जा मगर भने हतारहतार मन्त्री बन्नकै लागि विराटनगर आएका थिए ।

शपथग्रहण हुने निश्चित भएको भन्दै दौरा सुरुवाल लगाएर बसेकाहरू पनि अन्तिम समयमा मन्त्रीमण्डल विस्तार रोकिएपछि थन्किएका थिए । राज्यमन्त्री बन्न लागेकी कांग्रेस सांसद इन्दिरा थापा भने सोमबार एक कार्यक्रममा सहभागी हुन जनकपुरमा थिइन् । उनी आइपुग्ने सम्भावना कमजोर भएपछि शपथग्रहण नै रोकिएको बहाना गरियो ।

कांग्रेसका सांसद प्रदीपकुमार सुनुवार र खत्रीलाई मन्त्री तथा धनकुटाकी थापालाई राज्यमन्त्रीको रूपमा शपथ गराउने मुख्यमन्त्री कार्कीले निर्णय गरिसकेका थिए । यस्तै गठबन्धन दल माओवादी केन्द्रबाट उदयपुरका नारायण बुर्जा मगर र सङ्खुवासभाका राजेन्द्र कार्कीलाई मन्त्री बनाउने तयारी थियो ।

सोही अनुसार गठबन्धन दलहरूसँग सहमति लिएर शपथग्रहण गराउने तयारीमा पुगेका मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङलाई आइतबार नै फोन गरेर सोमबार विराटनगर आइदिन अनुरोध गरेका थिए । बिदा लिएर काठमाडौँ गएका खापुङ शपथग्रहणकै लागि सोमबार दिउँसो विराटनगर आइपुगेका थिए ।

‘प्रमुखज्यू खासमा बिदा लिएर काठमाडौँ जानु भएको थियो,’ स्रोतले भन्यो, ‘शपथग्रहणकै लागि आउनु भएको हो । तर, शपथ सरेको सर्‍यै भयो ।’

  • गठबन्धनमा सहमति, कांग्रेसभित्र विमति

यसैबिच सत्ता गठबन्धन दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबिच मन्त्रालय बाँडफाँटमा भने सहमति भएको छ । स्रोतले दिएको जानकारी अनुसार गठबन्धन दलहरूबिच कांग्रेसलाई मुख्यमन्त्रीसहित ५, माओवादीलाई ३ र नेकपा (एकीकृत समाजवादी)लाई १ मन्त्रालय दिने गरी सहमति भएको हो । जसपा भने तत्काल सरकारमा नजाने भएको छ । जसपाले मन्त्रालय माग गरेको समयमा पुनः अर्को छलफल हुने गठबन्धन स्रोत बताउँछ ।

सहमति अनुसार कांग्रेसले अब आर्थिक मामिला तथा योजना मन्त्रालय, स्वास्थ्य मन्त्रालय र उद्योग, कृषि तथा सहकारी मन्त्रालय, माओवादी केन्द्रले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय र सामाजिक विकास मन्त्रालय लिने भएको छ । जसका लागि कांग्रेसले आर्थिक मामिलामा तत्कालका लागि राज्यमन्त्रीको रुपमा इन्दिरा थापा, उद्योग, कृषि तथा सहकारीमा प्रदीपकुमार सुनुवार र स्वास्थ्य मन्त्रालयमा रामकुमार खत्रीलाई पठाउने भएको छ ।

माओवादीबाट बुर्जालाई सामाजिक विकास मन्त्रालय र खानेपानीमा कार्कीलाई पठाउने तयारी गरेको छ । यद्यपि मन्त्री नियुक्ति भएर मन्त्रालयको जिम्मेवारी नदिएसम्म जिम्मेवारी हेरफेर हुनसक्ने सम्भावना पनि छ । तर, कांग्रेसमा भने मन्त्री पठाउने विषयमा विवाद रहेको स्रोत बताउँछ । त्यही विवादका कारण मुख्यमन्त्रीले मन्त्री नियुक्तिलाई पछि धकेलिरहेका छन् ।

कांग्रेसका विद्रोही ८ सांसद र एमालेका ३९ सांसदको सहयोगमा कार्की गत असोज २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । २७ गते नियुक्त भएर २८ गते शपथग्रहण गरेकै दिन उनले एमालेबाट रामबहादुर राना र कांग्रेसबाट शम्शेर राईलाई मन्त्री नियुक्त गरेका थिए । आफू मुख्यमन्त्रीमा नियुक्ति भएको २० दिनपछि कार्कीले कार्तिक १७ गते माओवादीबाट गणेश प्रसाद उप्रेती र नेकपा (एकीकृत समाजवादी)बाट कमल प्रसाद जबगूलाई मन्त्री पदमा नियुक्त गरे । उनीहरूलाई नियुक्त गर्न लागेपछि एमालेबाट मन्त्री बनेका राना मगरले भने राजीनामा दिएका थिए ।

मुख्यमन्त्री कार्कीले बाँकी रहेका तीन मन्त्रीहरूलाई मङ्सिर १७ गते जिम्मेवारी दिए । जसअनुसार राई सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन, जबेगूलाई भौतिक पूर्वाधार विकास र उप्रेतीलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो । जबेगू नेकपा (एकीकृत समाजवादी)बाट मन्त्री बनेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप