आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कोरियामा ‘स्पोर्टस ग्लोबल टुरिजम कन्भेन्सन २०२४’ सम्पन्न, कसले के भने ?

बुधबार, २४ माघ २०८०, १९ : ३७
बुधबार, २४ माघ २०८०

काठमाडौँ । दक्षिण कोरियामा स्पोर्टस ग्लोबल टुरिजम कन्भेन्स सम्पन्न भएको छ । खेल पर्यटनमार्फत नेपालको विकासलाई अगाडि बढाउन नेपालको प्राकृतिक तथा भौगोलिक पर्यावरणअनुसारको पर्यटक खेलकुदलाई सम्बद्र्धन तथा प्रवर्धन गर्ने उद्देश्यले दक्षिण कोरियामा ‘स्पोर्टस ग्लोबल टुरिजम कन्भेन्सन २०२४’ (एसजीटी–२०२४) को सम्मेलन आयोजना गरिएको हो ।

 राजधानी सोलस्थित हान्याङ विश्वविद्यालयमा नेपाली राजदूतावास, ग्लोबल एनआरएन फाउण्डेसन र हान्याङ विश्वविद्यालयको संयुक्त आयोजनामा सम्पन्न सो सम्मेलनलाई नेपालका प्रधानमन्त्री प्रचण्डदेखि विभिन्न व्यक्तिहरुले शुभकामना दिएका थिए ।  

प्रधानमन्त्री प्रचण्डले सम्मेलनमा शुभकामना सन्देश दिँदै अपार सम्भावना बोकेको नेपाली खेलकुद पर्यटनको विकासका लागि चासो र सोचसहितको सम्मेलन गरेकोमा आफू निकै खुसी व्यक्त गरे । विश्वमा एक सुन्दर पहिचान बोकेको नेपालसँग एक अर्को महत्त्वपूर्ण आर्थिक र समृद्धिको आधार खेलकुद पर्यटनको सम्भावना रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ, “हाम्रो राष्ट्रको उन्नतिको लागि खेलकुद पर्यटनको अपार सम्भावनालाई सदुपयोग गर्ने हाम्रो यात्रामा यो सम्मेलन एउटा महत्त्वपूर्ण कोसेढुङ्गातर्फ साबित हुनेछ ।”

प्रधानमन्त्रीले खेल क्षेत्रको व्यापकता खेलमा मात्रै नभएर यसले आर्थिक, सामाजिक र सांस्कृतिक विकास र उन्नतिमा पनि उत्ति नै महत्त्वपूर्ण भूमिका खेल्ने भएकोले यसलाई नेपाल जस्तो अपार सुन्दरतासँग जोडेर लग्न सकिने भएपनि अझै नसकिएको उल्लेख गरिएको छ ।

कार्यक्रममा परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले पनि सम्मेलनलाई शुभकामना दिँदै दक्षिण कोरियाले औद्योगिक र प्रविधिमा मात्रै विकास नगरेर खेलकुदको क्षेत्र र संस्कृति तथा पर्यटन क्षेत्रमा पनि अभूतपूर्व विकास गरेको र नेपालीले त्यसबाट धेरै सिक्न सकिने बताएका छन् । नेपाल पनि अथाह पर्यटकिय खेलको सम्भावना बोकेकोले यस विषयमा सम्मेलन गरेकोमा आयोजकलाई धन्यवादसमेत दिएका छन् ।

यसैगरी संस्कृति,पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सेर्पाली ठकुरीले सम्मेलनमा सरोकारवाला पक्षकारुपमासँगै बसेर छलफल गर्न पाउँदा निकै खुसी भएको बताइन् ।

त्यसैगरी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले आयोजकलाई धन्यवाद दिँदै नेपाल बिस्तारै खेल क्षेत्रमा प्रगति गर्दै गरेको मुलुक भएको र पर्यटन खेलकुदमा पनि जोड दिएको बताए ।

सम्मेलनका मुख्य वक्ता ग्लोबल एनआरएनए फाउण्डसनका संरक्षक डा.शेश घलेले नेपालजस्तो प्राकृतिक सुन्दरताले भरिपूर्ण देशको विकासका लागि पहिलो कुरा उचित नीति–नियम अख्तियार गर्ने, त्यपछि पर्यटन क्षेत्रका क्षमतावान तथा जानकार मान्छे भर्ती गर्ने र विश्वभरिका पर्यटनसँग सम्बद्ध ख्याति प्राप्त संघसंस्थासँग सहकार्य गर्न जरुरी रहेको बताए ।

कार्यक्रममा एनआरएन आईसीसीका अध्यक्ष विनोद कुँवारले सम्मेलनको मुख्य उद्देश्य नै पर्यटनमा खेल क्षेत्र जोडेर आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रको उन्नति गरेर नेपाललाई समृद्धिका साथै विश्वमा थप परिचय बनाउनु रहेको धारणा राखे ।

आयोजक संस्था ग्लोबल एनआरएन फाउण्डेसनका अध्यक्षसमेत रहेका कुँवरले हिमालयमा गल्फ, प्याराग्लाइडिङ, ह्वाइट वाटर र्फ्टीङ, साहसिक खेलहरु लगायतका खेलहरु खेलेर विश्वभरबाट पर्यटक भित्र्याउन सकिने धारणा राखे । हिमाली स्वर्गकोरुपमा विश्वमा परिचित नेपालका हिमाली तथा पहाडी क्षेत्रमा अनेकन् खेलहरु खेल्न सकिने धारणा व्यक्त गरे ।

सम्मेलनमा कोरियाको हान्याङ विश्वविद्यालयका अध्यक्ष डा.कि–जेओङ लीले खेलकुद पर्यटनको लागि निकै नै सम्भावना भएको नेपालको बारेमा आफ्नो विश्वविद्यालयमा सम्मेलन गर्न पाउँदा निकै खुसी लागेको बताए । खेल र पर्यटन क्षेत्रबिच आन्योन्याश्रीत सम्बन्ध हुने एकाले त्यसको उजागर गर्न सम्मेलन सफल हुने विश्वास लिए ।

कार्यक्रममा एनआरएन आईसीसीकी महासचिव जानकी गुरुङले अाफूले विश्वभरका नेपालीहरुलाई नेपालको पर्यटनलाई खेलक्षेत्रमा जोड्न सहयोगको लागि अपिल गरिन् ।

नेपाल खेलकुद अनुसन्धान तथा प्रबद्धन प्रतिष्ठान(नेस्पो)का अध्यक्ष साम्राज्यविक्रम पाण्डेले बहुआयामीक उद्देश्यसहित भएको सम्मेलनले नेपाल र नेपालीको आर्थिक तथा सांस्कृतिक क्षेत्रमा नयाँ आयाम ल्याउने विश्वास व्यक्त गरे ।

एनआरएन आईसीसी कोरियाका अध्यक्ष बिपिन कुमार गुरुङले सम्मेलनले कोरिया र नेपालबिचको सम्बन्धलाई अझै प्रगढ बनाउन सहयोग पुग्ने धारणा राखे ।

हान्याङ विश्वविद्यालयका खेलकुद उद्योग तथा विज्ञान विभाग प्रमुख तथा कार्यक्रम अध्यक्ष डा.जोङ–ही किम, सो वश्वविद्यालयका एसोसियट प्रोफेसर तथा कार्यक्रम संयोजक सिद्धार्थ विक्रम पाण्डे र सो विद्यालयमा ‘ग्लोबल हेल्थ एण्ड डेभलपमेन्ट’विषयमा विद्यावारिदी गरिरहेकी तथा कार्यक्रमकी सह–संयोजक संगिता कुवरले स्वागत मन्तव्य दिएका थिए ।

हान्याङ विश्वविद्यालयको कलेज अफ पर्फमिङ अर्टस एण्ड स्पोर्टसका डिन प्राध्यापक सेओङ–नो लीले केभिड–१९ पछि विश्वमा आर्थिक, सामाजिक र सांस्कृतिक हरेक हिसाबले परिवर्तन भएको परिवेशमा मानव जीवनलाई त्यही ढंगले अगाडी बढाउनु पर्ने धारणा राखे ।  

सम्मेलनमा सेजोङ विश्वविद्यालयका डिपाटमेन्ट अफ होटल एण्ड टूरिजम म्यानेजमेन्टका प्रोफेसर होयुङगोङ किमले पछिल्लो समयमा पर्यटन क्षेत्रमा सबैभन्दाबढी समस्या आएकोले यसलाई माथि उठाउन खेलकुद क्षेत्र जोड्दा सफल हुने धारणा राखे ।

ग्लोबल एनआरएन फाउण्डेसन उपाध्यक्ष भोमादेवी लिम्बुले नेपाल प्राकृतिक तथा सांस्कृतिक सम्पदाको धनी देश भएकाले यसमा पर्यटन जोड्दा अझ बढी सफलता मिल्ने बताइन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकी उपसचिव कृष्णकुमारी श्रेष्ठले सन २००८ को १५ औँ आवधिक नीति तथा कार्यक्रममा नेपालको मुख्य आर्थिक आधारकारुपमा पर्यटनलाई पनि मानिएको र त्यसमा खेल क्षेत्र जोड्दा थप बलियो हुने विश्वास रहेको बताइन् ।

डालिम् मोनोरेलका प्रमुख कार्यकारी अधिकृत सोङ्ग बु–सोपले अटोनोमस ड्राइभिङ मोनोरेल सिस्टम हिमाली तथा पहाडी क्षेत्रमा उचित हुने र नेपालमा त्यस किसिमको प्रविधि सहितको मोनोरेलको व्यवस्थाले पर्यटनमा सघाउने सुझाए ।

पुसान न्यास्नल युनिभर्सिटीका डिपार्टमेन्ट अफ स्पोर्टस साइनसका प्रोफेसर डा.डेभि ओसुलिभानले सम्मेलनको सत्र सञ्चालन गरेका थिए ।

हान्याङ विश्वविद्यालयका डिभिजन अफ स्पोर्टस इन्डस्ट्री एण्ड साइन्सका प्राध्यापक डा.सुङ मिन किम,अमेरिकाको वासिङ्टन राज्यका लागि नेपालका अवैतनिक महावाणिज्य दूत एसी र्षेर्पा, अमेरिकाको ३६० भ्यू रिसोर्ट एलएलसीका निर्देशक स्यामबहादुर तामाङले नेपाल खेलकुद पर्यटनको लागि अति उत्तम भएकाले त्यसको विकासमा ध्यान पुर्यान सुझाए ।

त्यसैगरी, हान्याङ विश्वविद्यालयको ग्लोबल हेल्थ एण्ड डेभलपमेन्टका अध्यक्ष डा.दोङउन हान, सिओल न्यास्नल युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीका प्राध्यापक तथा सोलुसनएक्स को.लिमिटेडका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डा.सेवान चोई, एमआईटी ग्रुप पाउण्डेसनकी फाउण्डर जमुना गुरुङलगायतले खेलकुद पर्यटन सम्मेलनले आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रको बहुआयामिक विकासमा नयाँ दृष्टिकोणको विकास गरेको धारणा राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप