शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अदालत

छिटो न्याय दिने विशेष अदालतको हुटहुटी, अंग पुगेका मुद्दा चालु आवमै  किनारा लाउने योजना

शुक्रबार, २६ माघ २०८०, १७ : ११
शुक्रबार, २६ माघ २०८०

काठमाडौँ । विशेष अदालतले मुद्दा फर्छ्यौटलाई तीव्रता दिन थालेको छ । पछिल्लो २ महिनाको अवधिमा अदालतले १०९ थान मुद्दा फर्स्यौट गरेको छ भने आर्थिक वर्षको अन्त्यसम्ममा अङ्ग पुगेका  सबै मुद्दा फर्स्यौट हुने अदालतले जनाएको छ । अङ्ग नपुगेका मुद्दामात्रै बाँकी रहने सम्भावना छ ।

विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवरले चालु आवको अन्त्यसम्ममा अङ्ग पुगी एक वर्ष कटेका सबै मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिइएको बताए । चालु आर्थिक वर्षमा दर्ता भएका मुद्दाहरूमध्ये पनि धेरै प्रतिवादी नभएका र धेरै बुझ्न नपर्ने मुद्दाहरूमा छिटो सुनुवाइ गरी छिटै फैसला दिने तयारी गरिएको छ ।

कुँवरले भने, ‘हामी अहिले पूर्ण क्षमतामा काम गरिरहेका छौँ । यही गतिमा काम गर्न सकियो भने गत वर्षसम्म दर्ता भएका अङ्ग पुगेका सबै मुद्दा फर्स्यौट गर्ने हाम्रो लक्ष्यमा पुग्न सफल हुनेछौँ । त्यसबाहेक यस वर्ष दर्ता भएकामध्ये पनि आधा मुद्दा सक्ने हाम्रो तयारी छ ।’

‘अर्को इजलास करिब एक महिनादेखि ललिता निवासको सुनुवाइमा छ । त्यो सकिएपछि कामको गति अझ बढ्न सक्छ । हामी अङ्ग पुगेका मुद्दा रोक्नु हुँदैन भन्ने पक्षमा छौँ र छिटोभन्दा छिटो न्याय दिने कोसिसमा छौँ ।’

विशेष अदालतका प्रवक्ता उपरजिष्ट्रार धन बहादुर कार्कीले चालु आर्थिक वर्षको सुरुमा अंग आर्थिक वर्षबाट ३ सय ५९ थान मुद्दाको लगत सरेर आएको र चालु आवको माघ १८ गतेसम्म थप ८६ थान मुद्दा भएको जानकारी दिए । यसरी मुद्दाको कुल सङ्ख्या ४४५ थान पुगेकोमा माघ १८ गतेसम्म १८८ थान मुद्दा फर्स्यौट भइसकेको छ भने २५७ थान मात्रै मुद्दा बाँकी छ । 

अदालतले भ्रष्टाचार, घुस रिसवत, सम्पत्ति शुद्धीकरण, अनियमितता, नक्कली सर्टिफिकेटलगायतका विशेष प्रकृतिका मुद्दाहरूको सुनुवाइ गर्दछ । कुँवरसहितका ५ सदस्यले गत मङ्सिर १८ गते काम थालेसँगै मुद्दा फछ्यौटले तीव्रता पाएको हो । ६ जना न्यायाधीशको दरबन्दी रहने विशेष अदालतमा डा. खुसीप्रसाद थारु मात्र पुराना हुन् ।

५ वर्षका लक्ष्य अपुरै 

Tek narayan kunwar (13)

अदालतको विगत ५ वर्षको तथ्याङ्क हेर्ने हो भने लक्ष्य अनुसारको फर्स्यौट कहिल्यै हुन सकेको थिएन । यसअघि सबैभन्दा राम्रो फर्स्यौट आर्थिक वर्ष २०७५/०७६ मा लक्ष्यको ८५ प्रतिशत फर्स्यौट भएकामा सबैभन्दा खराब आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यको १५ प्रतिशतमात्रै मुद्दा फर्स्यौट भएको थियो । यद्यपि उक्त समय कोभिड १९ को महामारी भएकाले इजलास गठनमै समस्या भएको थियो ।

आर्थिक वर्ष २०७६/०७७ मा सबैभन्दा बढी मुद्दा लगतमा रहेको देखिन्छ । उक्त आर्थिक वर्षमा कुल ८४३ थान मुद्दा लगतमा रही २३१ थान मात्रै फर्स्यौट गर्ने लक्ष्य लिइएको थियो । यद्यपि त्यतिबेला पनि १७८ थान मात्रै मुद्दा फर्स्यौट हुन सकेको थियो ।

हेर्नुहोस्, आर्थिक वर्ष अनुसार पछिल्ला ५ वर्षका कुल लगत र फर्स्यौटको विवरण ग्राफमा

Bishesh Adalat Faisala (1)

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप