सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

हराएका १७ वटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा धनीलाई हस्तान्तरण

शुक्रबार, २६ माघ २०८०, १७ : २२
शुक्रबार, २६ माघ २०८०

काठमाडौँ । विभिन्न समयमा हराएका १७ वटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

शुक्रबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच कार्यालयका प्रहरी उपरीक्षक सन्तोष आचार्यले १४ वटा मोटरसाइकल र ३ ओटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा, केही वास्तविक नम्बर प्लेटमै र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यकाका बौद्ध, माछापोखरी, कालोपुल, बाफल, कालिमाटी, दरबारमार्ग, सिंहदरबार, नारायणटार, कपन, गहनापोखरी, बालाजु, बुढानिलकष्ठ, चुनदेवी, फर्पिङ र नयाँ बसपार्क लगायतका स्थानमा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनको आधारमा खोजी गर्ने क्रममा फेला परेका २ सय ५२ वटा सवारी साधन चालु आर्थिक वर्षको हालसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ । अवैध रुपमा नेपाल भित्रिएका १२ वटा सवारी साधन भन्सार कार्यालयमा बुझाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।  चालु आर्थिक वर्षको हालसम्म चोरीका २० वटा २ पाङ्ग्रे सवारी साधनसहित चोरीमा संलग्न २४ जना व्यक्तिलाई कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ । 

सवारी साधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत  सुरक्षा साइरनहरु जडान गरी सवारी साधन चोरी तथा हराउनबाट रोक्न विभिन्न उपायहरु अवलम्बन गर्नुका साथै मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रहरी वरिष्ठ उपरीक्षक भट्टले सम्पूर्णलाई अनुरोध गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप