सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
सामाजिक सञ्जाल र पत्रकारिता

सामाजिक सञ्जालमा स्टन्टबाजहरू मात्रै किन छ्यापछ्याप्ती हुन्छन् ?

शनिबार, २७ माघ २०८०, १५ : २९
शनिबार, २७ माघ २०८०

नेपालको पत्रकारिता अलिक अप्ठ्यारोमा परेको छ । हुन त पत्रकारितालाई धेरै कुराले अप्ठ्यारो पारेको छ । आज म सामाजिक सञ्जालको पाटोतिर केन्द्रित छु । किनभने मनोरञ्जनका साथै समाचार र विचारका लागि पनि रिडर, भ्युअर र युजर सामाजिक सञ्जालतिर बढी आकर्षित भइरहेका छन् । रिडर, भ्युअर र युजरले सामाजिक सञ्जाल र पत्रकारिताका कन्टेन्टबिच फरक छुट्ट्याउन नसक्ने भएका छन् । 

यो सामान्य हो कि असामान्य हो ? हामीलाई छुट्ट्याउन मुस्किल परेको छ । पत्रकारिताले भने सामाजिक सञ्जाललाई कुनै अप्ठ्यारो पारेको छैन । सामाजिक सञ्जालको फङ्क्सन र प्रयोगहरूलाई ध्यानदिएर हेर्‍यो भने सामाजिक सञ्जालको प्रेरणाको स्रोत पत्रकारिता र सञ्चारमाध्यम नै भेटिन्छन् । सामाजिक सञ्जाल मास–कम्युनिकेसनकै माध्यम हो । त्यसैले सामाजिक सञ्जालमा प्रकाशित सामग्रीमा पत्रकारिताको सूत्रको प्रयोग हुनु अचम्म मान्नुपर्ने कुरा होइन । 

‘एक क्लिकले तपाईं सञ्जाल र संसारसँग जोडिनुहुन्छ,’ अहिलेको लोकप्रिय वन–लाइनर बनेको छ यो वाक्य । 

२० वर्षअघि साइबर क्याफेमा घन्टाको २० रुपैयाँ तिरेर हटमेल, याहु र मेसेन्जर खोल्न पाउँदा के के न पाएकोजस्तो हुन्थ्यो हामीलाई । त्यसपछि युट्युब आयो, गुगल आयो, फेसबुक आयो, स्मार्ट फोन आयो, एपहरू आए । अनि हामीले संसारलाई औँलामा नचाउन थाल्यौँ । एउटा एप थिच्नुस् र स्क्रोल गर्दै जानुस् । बसस्टप नआएसम्म, प्रेसरकुकरमा सिटी नलागेसम्म, फोनमा घन्टी नबजेसम्म— हामी संसारलाई औँलामै नचाइरहेका हुन्छौँ ।

च्याट जीपीटीको प्रयोग सुरु भएको ६ महिना नपुग्दै २०२३ को मेमा अमेरिकाको हलिउडका कर्मचारीहरू एआईको विरोधमा हडताल गर्दै सडकमा उत्रिए । हजारौँ कर्मचारीबाट सुरु भएको प्रदर्शनमा हलिउडका कलाकार समेत सामेल भएपछि प्रदर्शनकारीको संख्या लाखौँमा परिणत भयो ।

सञ्चार–माध्यमको विकासको लहर कहाँ पुगेको छ त अहिले ? आर्टिफिसियल इन्टेलिजेन्स र च्याट जीपीटीसम्म आइपुगेको छ ।

च्याट जीपीटीका निर्माणकर्ताले यसलाई प्राविधिक क्रान्ति भने, तर यसले क्रान्तिबाट पाइने आनन्द दिन सकेन । बरु, आतङ्क नै मच्चायो । च्याट जीपीटीको प्रयोग सुरु भएको ६ महिना नपुग्दै २०२३ को मेमा अमेरिकाको हलिउडका कर्मचारीहरू एआईको विरोधमा हडताल गर्दै सडकमा उत्रिए । 

स्क्रिन राइटर्स, कन्टेन्ट क्रियटर्सको काम एआईले गर्न थालेपछि फुलटाइम काम गर्नेहरू पार्टटाइमर भए । पार्टटाइमरहरूको कामै रहेन । हजारौँ कर्मचारीबाट सुरु भएको प्रदर्शनमा हलिउडका कलाकार समेत सामेल भएपछि प्रदर्शनकारीको संख्या लाखौँमा परिणत भयो । उनीहरूको दाबी थियो— एआईले मजदुरको पेटमा मात्र होइन, मानव अस्तित्वमै संकट ल्याएको छ । 

एक सय ४८ दिन लामो विरोध प्रदर्शनपछि कम्पनीहरू आफ्ना कर्मचारीहरूसँग सम्झौता गर्न बाध्य भए । सम्झौतामा च्याट जीपीटीको प्रयोगका सीमाहरू निर्धारण गरियो । 

अमेरिकाकै भर्खरको अर्काे एउटा घटना छ । करिब दश दिनअघि अमेरिकाको सिनेटमा पाँचवटा सामाजिक सञ्जालका सीईओहरूलाई सिनेटरहरूले प्रत्यक्ष प्रश्नहरू सोधेर र्‍याखर्‍याख्ती पारे । सिनेटरहरूले सीईओहरूलाई ती आमाबाबुका प्रश्न सोधिरहेका थिए, जसका छोराछोरीहरू सामाजिक सञ्जालका सिकार भएका थिए । कतिले आत्महत्या पनि गरेका थिए । ती आमाबाबु पनि त्यहीँ उपस्थित थिए । 

विज्ञापनसँग उहिलेदेखि प्रेम र घृणाको सम्बन्ध छ समाचारको । चाहे त्यो प्रिन्टमा होस् वा टेलिभिजनमा । जब सामानको उत्पादन हुन्छ, तब कम्पनीहरूले प्रचारका लागि मिडियाको प्रयोग गर्छन् । यहाँ त औद्योगिकीकरण आएकै छैन । जुन जुन मुलुक औद्योगिकीकरणको बाटोमा लागे, ती सबै ठाउँहरूको पत्रिकामा गम्भीर विषयले ठाउँ पाउन छाड्यो । तैपनि समाचार र विज्ञापनबिच संघर्ष जारी छ । 

यी घटनाले तीनवटा तथ्य देखाउँछन् । 

१) डेढ सय वर्षपहिले कार्ल माक्र्सले लेखेको सिद्धान्तको सान्दर्भिकता अहिले पनि कायम छ । मजदुुरको पेट संकटमा पारेर ल्याएको उत्पादन र समृद्धि लामो समय टिक्न सक्दैन । 

२) हामीले पत्रकारिताको क ख ग पढ्दादेखि सुन्दै आएको उक्ति ‘सूचना र ज्ञानमाथि जसको नियन्त्रण हुन्छ, शक्ति उसैको नियन्त्रणमा हुन्छ ।’ र, अहिले त्यो नियन्त्रणको माध्यम प्रविधि भएको छ । वा भनौँ प्रविधि सञ्चालक भएका छन् । 

३) कल्पना र सिर्र्जनशीलता मानव अस्तित्वसँग अविभाज्य विषय हो । कल्पना र सिर्जना बिनाको ज्ञान वा भनौँ कल्पना र सिर्जनालाई प्रोत्साहन गर्न नसक्ने ज्ञानले मानिसलाई दास बनाउँछ । 

यी थिए, विकसित मुलुकका केही उल्लेखनीय घटना । प्रविधि विकसित मुलुकमै छ । प्रविधिको उपयोग र दुरुपयोगबाट पीडित भएपछि उनीहरूकै नागरिकले आवाज उठाएका छन् र त्यसको सुनुवाइ पनि उनीहरूकै राज्यले गरेको छ ।

  • यी तथ्यले हाम्रो समाजमा के अर्थ राख्छन् ? 

सामाजिक सञ्जाल हाम्रा लागि पनि टाउको दुखाइ भएको छ, तर के अमेरिका, युरोपको जस्तो हो त हाम्रो टाउको दुखाइ ?

समाधान खोज्नुअघि हामीले आफ्ना समस्याको मौलिक पक्षलाई बुझ्नु महत्त्वपूर्ण हुन्छ । अन्य उपभोग्य सामग्रीको आयात गरेजस्तै हामी प्रविधि र सामाजिक सञ्जालका पनि उपभोक्ता मात्र हौँ । हामी प्रविधिका ‘क्रियटर’ पनि होइनौँ, ‘इनोभेटर’ पनि होइनौँ । अन्तरिक्षमा हाम्रो आफ्नै सेटेलाइट पनि छैन । र, तीतो सत्य के भने सामाजिक सञ्जालका ती सीईओहरू जसलाई अमेरिकी सिनेटरहरूले बालबालिका र समाजप्रतिको उत्तरदायित्व वहन गर्न कठघरामा उभ्याए, त्यसो गर्ने हाम्रोे हैसियत पनि छैन । त्यो हैसियत त धेरै टाढाको कुरो भयो । एउटा पर्सनल अकाउन्टदेखि न्युज साइटसम्म ह्याक भयो भने पनि उद्धार गर्ने कोही माइबाप छैन यहाँ । 

अक्सर सरकारी साइट पनि ह्याक भइरहेका हुन्छन् । त्यसैले कम्प्युटर प्रणालीमा जोडिएका तथ्य समेत भ्रमात्मक हुने गरेको सुनिन्छ, सरकारी स्रोतहरूबाटै । 

अफ्गानिस्तान भनेर गुगल सर्च गर्नुस्, बन्दुकधारी र बुर्काबाहेक केही देखाउँदैन । सिरिया खोज्नुभयो भने युद्ध मात्र भेट्नुहुन्छ । अमेरिकामा गुगल गर्नु भयो भने त झन् पाकिस्तान, अफ्गानिस्तान र सबै इस्लामिक देशमा बन्दुकधारी आतङ्कवादीहरू देखाउँछ । हो, एकै क्लिकमा हामी सञ्जाल र संसारसँग त जोडिन्छौँ, तर कुन संसारसँग जोडिने हो, त्यसको निर्णय हाम्रा लागि अरु कसैले गरिरहेको हुन्छ ।

तिनै प्रविधि र सामाजिक सञ्जाल यहाँ सफ्ट–पावर प्लेको सबैभन्दा ठूलो हतियारका रूपमा प्रयोग भइरहेका छन् । न हामी कहाँ तेलको कुवा छ धनी हुनलाई । हामीलाई न कुनै मुलुकसँग युद्ध गर्नु छ, न न्युक्लियर हतियारको कारोबार गर्नुछ । त्यसैले नेपालजस्तो निरन्तर विकासोन्मुख रहँदै आएको ‘शान्तिप्रिय’ मुलुकमा चलखेल र नियन्त्रण गर्ने हतियार भनेको सफ्ट–पावर नै हो । 

आर्टिफिसियल इन्टेलिजेन्स र च्याट जीपीटीको प्रभावका बारेमा त हामीले चर्चासम्म सुरु गरेका छैनौँ । आर्टिफिसियल इन्टेलिजेन्सले हावाबाट इन्फर्मेसन ल्याउने होइन । सिस्टममा कन्टेन्ट राखेको हुनुपर्‍यो । प्रयोगकर्ताले पनि त्यही भएको इन्फर्मेसनलाई खोज्ने हो । गुगल पनि आर्टिफिसियल इन्टेलिजेन्स हो । अफ्गानिस्तान भनेर गुगल सर्च गर्नुस्, बन्दुकधारी र बुर्काबाहेक केही देखाउँदैन । सिरिया खोज्नुभयो भने युद्ध मात्र भेट्नुहुन्छ । अमेरिकामा गुगल गर्नु भयो भने त झन् पाकिस्तान, अफ्गानिस्तान र सबै इस्लामिक देशमा बन्दुकधारी आतङ्कवादीहरू देखाउँछ । हो, एकै क्लिकमा हामी सञ्जाल र संसारसँग त जोडिन्छौँ, तर कुन संसारसँग जोडिने हो, त्यसको निर्णय हाम्रा लागि अरु कसैले गरिरहेको हुन्छ । 

यही सूचनामाथिको एकाधिकार र स्वार्थ साधकहरूको नियत बुझेर भारतले आफ्नै आर्टिफिसियल इन्टेलिजेन्स निर्माण गर्न सुरु गरिसकेको छ । 

हामी आफ्नै कुरा गरौँ । हाम्रो पत्रकारिताको अवस्था के छ त ? यस्तो स्रोत–साधन र शक्ति सम्पन्न सामाजिक सञ्जालसँग नेपालमा पत्रकारिताले कसरी कम्पिट गर्ने ? सामाजिक सञ्जाल विज्ञापनका लागि प्लेटफर्म भएको छ— औद्योगिकीकरण, आधुनिकीकरण विश्वव्यापीकरण सबैको एउटै प्याक बनाएर बेच्ने ठाउँ । अहिले शक्तिशाली मुलुकहरूले वैश्विक सभ्यताको प्रचार सुरु गरिसकेका छन् । सूक्ष्म रूपले हेर्ने हो भने यसलाई नव–साम्राज्यवाद भन्न सकिन्छ । 

विज्ञापनसँग उहिलेदेखि नै प्रेम र घृणाको सम्बन्ध छ समाचारको । चाहे त्यो प्रिन्टमा होस् वा टेलिभिजनमा । जब सामानको उत्पादन हुन्छ, तब कम्पनीहरूले प्रचारका लागि मिडियाको प्रयोग गर्छन् । यहाँ त औद्योगिकीकरण आएकै छैन । त्यसैले त्यसका दुष्प्रभावलाई पनि हामीले खोतल्नुपरेको छैन । तर जुन जुन मुलुक औद्योगिकीकरणको बाटोमा लागे, ती सबै ठाउँहरूको पत्रिकामा गम्भीर विषयले ठाउँ पाउन छाड्यो । तैपनि समाचार र विज्ञापनबिच संघर्ष जारी छ । 

नेपालमा २०४६ सालमा परिवर्तन आयो, २०६२÷६३ सालमा आमूल परिवर्तन आयो । त्यसपछि २०७२ सालमा संविधान आयो । देशमा विभिन्न थरीका राजनीतिक र सामाजिक परिवर्तन ल्याउन खोजियो । तर, मात्र संविधानमा लेखेर समाजमा परिवर्तन ल्याउन सकिँदैन । लोकतन्त्र र प्रेस स्वतन्त्रतालाई अभ्यासले मात्र सार्थकता दिन सक्छ । खासमा भन्ने हो भने सामाजिक सञ्जाल र प्रविधिलाई हामीले लोकतन्त्र र पत्रकारिताको पक्षमा प्रयोग नै गर्न सकेका छैनौँ । 

नेपालमा धेरै पत्रकारहरू अहिले परिचयको संकट (आइडेन्टिटी क्राइसिस) भोगिरहेको हुनुपर्छ । यस्तो स्थितिमा नेपालमा पत्रकारिताको भविष्य के हो त ?

केही महिनाअघि मात्र नेपाल सरकारले टिकटकमा प्रतिबन्ध लगाएको छ । नेपालले भन्दा पहिले अमेरिका, अस्ट्रेलिया, बेलायत, बेल्जियम, क्यानडा, डेनमार्क, नर्वे, नेदरल्यान्ड, न्युजिल्यान्ड, ताइवान, सोमालिया, भारत र अफ्गानिस्तान लगायत विभिन्न देशले आंशिक र पूर्ण प्रतिबन्ध लगाइसकेका थिए । विकसित देशहरूले राष्ट्रिय सुरक्षामाथि खतरा भयो भनेका छन् । प्रतिबन्ध लगाउनुको लगभग उस्तै–उस्तै कारण दिएका छन्, विकसित मुलुकहरूले । विकासोन्मुख देशहरूले टिकटकको प्रयोगले पोर्नोग्राफी, बालबालिका शोषण र जुवा व्यवसायलाई प्रोत्साहन दियो भन्ने कारण दिएका छन् । अफ्गानिस्तानको सरकारले टिकटकले इस्लाम धर्म बिथोलियो भनेका छन् । नेपाल सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउनुको कारण यसले सामाजिक विसंगति ल्यायो भनेको छ । सामाजिक लय बिथोल्यो भनेको छ, तर पत्रकारिताका लागि र राज्यका लागि पनि प्रश्न के छ भने हिजो टिकटकमा रमाएर बसेका मानिस राज्यले टिकटकमाथि प्रतिबन्ध लगाएपछि पत्रिका पढ्न वा समाचार हेर्न थालेका छन् त ? 

हो, हाम्रो शिक्षाको गुणस्तर कमजोर छ । अध्ययनशीलताको कमी व्यापक छ, तर विचार, दृष्टिकोण र अनुभूति खोज्ने पाठकहरू पनि टन्नै छन् । उनीहरूले के पढ्ने, के हेर्ने ? अनि कस्तो दृष्टिकोण बनाउने ? त्यसको मानक के हुने ? स्थानीय सरकारले शक्ति र स्रोत पाएपछि प्रभावकारी काम गरिरहेका धेरै मेयर र अध्यक्षहरू छन् । तर सामाजिक सञ्जालमा स्टन्टबाज मेयरहरू मात्रै किन छ्यापछ्याप्ती हुन्छन् ? जनप्रतिनिधिको प्रचार–प्रसारको नैतिक आधार के हो ? सामाजिक सञ्जालमार्फत यस्ता प्रश्नले विचार निर्माण गर्न सक्दैन । त्यसका लागि पत्रकारिता नै चाहिन्छ । 

कसैले भनेका छन्, कसले भनेको याद आएन । भन्नेको नाम गुगलमा पनि भेटिनँ । तपाईहरूलाई मन पर्‍यो भने मैले नै भनेको भन्ठान्नु भए पनि हुन्छ— हामीले आफ्नो कथा आफैँले लेख्दैनौँ भने हाम्रो कथा अरु कसैले लेख्नेछ र त्यो हाम्रो पक्षमा नहुन पनि सक्छ । हामीले आफ्नो अधिकारको प्रयोग गरेनौँ भने अरु कसैले त्यही अधिकार हाम्रो विरुद्धमा प्रयोग गर्नेछ ।    

पत्रकारिताको व्यावसायिक पक्ष कम पीडादायक छैन । आफ्नो उत्पादन, व्यवसाय नभएको मुलुकमा हामीले पत्रकारितालाई कसरी धान्ने ? रिडर, भ्युअरले कन्टिनेन्टल खानाको स्वाद पाइसकेका छन् । कन्टिनेन्टल त टाढाको कुरो, हामीले आफ्नो मौलिक स्वादको दालभात पनि राम्ररी पस्किन सकेका छैनौँ । संविधानमा लेखेको भरमा मात्रै स्वतन्त्र पत्रकारिता झन् कसरी धान्ने ? पत्रकारले समयमा तलब नपाउने, रिपोर्टिङका लागि फिल्डमा जान बजेट नपाउने भएपछि उसको अनुभव र ज्ञानको वृद्धि कसरी हुन्छ ? ऊ कसरी कल्पनाशील र सिर्जनशील हुन सक्छ ? मासिक कोठाभाडा तिरेर बस्ने पत्रकारको एक महिना ९० दिनको भएपछि घरबेटीलाई के जवाफ दिने ? सधैँ आधारभूत कुराकै चिन्ता गरिरहनुपरेपछि अकाउन्टेबिलिटी, ब्यालेन्स, क्रेडिबिलिटी सबले हावा खान्छ । 

अनि पत्रकारहरू कोही पार्टीको हुन्छ । कोही कुनै व्यापारीको हुन्छ । कोही एनजीओको हुन्छ । 

तर, पत्रकारिताको जिम्मेवारी के छ त ? लोकतन्त्रको रक्षा गर्ने । गणतन्त्रलाई प्रभावकारी बनाउने ।

मेरो विचारमा, नेपालमा धेरै पत्रकारहरू अहिले परिचयको संकट (आइडेन्टिटी क्राइसिस) भोगिरहेको हुनुपर्छ । यस्तो स्थितिमा नेपालमा पत्रकारिताको भविष्य के हो त ?

हो, पत्रकारिता अप्ठ्यारोमा छ, तर सामाजिक सञ्जाल त्यो अप्ठ्यारो देखिएको एउटा तत्त्व मात्रै हो । अझ भनौँ, सामाजिक सञ्जालले नेपालमा पत्रकारिताको निरीहता देखाएको छ ।

अन्त्यमा, एल्डरिज क्लिभर, अमेरिकन राइटर र पोलिटिकल एक्टिभिस्टको भनाइ उद्धृत गर्न चाहन्छु ः

There is no more neutrality in the world. You either have to be part of the solution, or you're going to be part of the problem.

(पूर्ण निरपेक्ष भन्ने चिज संसारमा कहीँ हुँदैन । तपाईं कि त समाधानको पक्षमा उभिनुस् । होइन भने तपाईं स्वतः समस्याको एउटा पाटो बन्नुहुनेछ ।)

(प्रेस काउन्सिल नेपाल र व्यावसायिक पत्रकारिता अध्ययन केन्द्र (सीपीजेएस) को सहकार्यमा आयोजित सम्पादक संवादमा केन्द्रका कार्यकारी अध्यक्ष रुचि श्रेष्ठद्वारा प्रस्तुत कार्यपत्र ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रुचि श्रेष्ठ
रुचि श्रेष्ठ
लेखकबाट थप