बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

महासमिति बैठकबाट धार्मिक स्वतन्त्रतामा जाऔँ : सभापति बानियाँ

आइतबार, २८ माघ २०८०, १५ : ०९
आइतबार, २८ माघ २०८०

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले आसन्न महासमिति बैठकबाट नेपाललाई धार्मिक स्वतन्त्र बनाउनुपर्ने बताएका छन् । काठमाडौँमा  भएको एक कार्यक्रममा उनले भने आगामी फागुन ७—१० को महासमिति बैठकमा धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्रको पक्षमा कांग्रेस उभिनुपर्ने बताए ।

‘अहिले धर्मको कुरा उठ्न थालेको छ । धर्म निरपेक्ष मुलुक भएपछि धर्म मासियो भन्ने अफवाह फैलाइएको छ । कि हामीले राज्यको धर्म हुँदैन । धर्म व्यक्तिले धारण गर्ने हो,’ उनी भन्छन्, ‘ जनताको पक्षमा ठिक र सत्य काम गर्नु नै धर्म हो भनेर भन्न सक्नुपर्‍यो । यो कुरा जनतालाई बुझाउन सकिँदैन भने महासमिति बैठकबाट धर्म निरपेक्षको ठाउँमा धार्मिक स्वतन्त्रता भनौँ ।’

संघीय लोकतान्त्रिक गणतन्त्र धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र बनाउन कांग्रेसले पुनर्विचार गर्नुपर्ने सभापति बानियाँको तर्क छ । ‘यो अहिले कांग्रेसले नगरे अर्कोले अहिलेको अवस्थालाई खलबल्याउन खोजेको छ । धार्मिक स्वतन्त्रतासहितको हिन्दु राज्यबारे पुनर्विचार गर्ने होकि ? कांग्रेसले समयसापेक्ष निर्णय गर्नुपर्छ । अहिलेको समय बुझ्नुपर्छ,’ उनी भन्छन् ।

कांग्रेसको नीति अधिवेशनले मुलुकको संविधान र कांग्रेसको विधानमा प्रभाव पार्नुपर्ने उनको भनाइ छ ।

यस्तै उनले मिसन ८४ को नारासँग चर्चा कांग्रेस डराउन नहुने बताए । ‘कांग्रेसले चौरासी गर्दै आएको हो । हिजो राणाको चौरासी गरेको थियो । राजाको चौरासी गरेको थियो,’ उनी भन्छन्, ‘बन्दुकबाट सत्ता कब्जा गर्छु भन्ने माओवादीको पनि चौरासी गरेर शान्तिपूर्ण राजीनामा ल्याएको हो कांग्रेसले । नेपाली कांग्रेस सबैको चौरासी गर्दै जनताप्रति केन्द्रित भएर आएको पार्टी हो ।’

प्रदेश सभापति बानियाँले कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रमुखहरुलाई पदलाई प्रतिष्ठामा बदल्न आग्रह गरे । ‘पदले प्रतिष्ठा पनि दिन्छ पतन पनि गराउँछ । तपाईहरुले पतनको बाटो रोज्नु भयो भने कांग्रेस पनि पतन हुन्छ । हामीले काम र विज्ञापन पनि सँगसँगै गरेर जानुपर्छ । हामीले बोली र व्यवहार एउटै गर्नुपर्‍यो । भाषण मात्र होइन जनताको काम पनि गर्नुपर्‍यो,’ उनी भन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप