आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानी निर्वाचनको नतिजा घोषणा, ४ प्रान्तमा कसको सरकार बन्ला ?

आइतबार, २८ माघ २०८०, १६ : ०९
आइतबार, २८ माघ २०८०

इस्लामावाद । पाकिस्तानमा आम चुनाव सम्पन्न भएको तीन दिनपछि निर्वाचन आयोगले राष्ट्रिय र प्रान्तीय सभाको करिब सबै नतिजा घोषणा गरेको छ । नतिजाअनुसार स्वतन्त्र उम्मेदवारहरूले १०१ सीट जितेका छन् । यीमध्ये ९३ सीटमा पूर्वप्रधानमन्त्री इमरान खानको दल पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीले समर्थन गरेका उम्मेदवारहरु विजयी भएको बीबीसी हिन्दीले उल्लेख गरेको छ । 

दोस्रो स्थान पूर्वप्रधानमन्त्री नवाज शरिफको दल पाकिस्तान मुस्लिम लिग (एन)ले ७५ सिट हाँसिल गरेको छ । बिलवाल भुट्टोका दल पाकिस्तान पिपुल्स पार्टी ५४ सिटका साथ तेस्रो स्थानमा रहँदा एमक्यूएम पाकिस्तानले १७ सिट ल्याएको छ । चारै प्रदेशको विधानसभा निर्वाचनको नतिजा पनि आएको छ । 

पंजाब विधानसभा

निर्वाचन आयोगका अनुसार पञ्जाब विधानसभामा पीएमएल (एन)ले सबैभन्दा बढी १३७ सिट प्राप्त गरेको छ । जित्ने स्वतन्त्र उम्मेदवारको संख्या १३८ भए पनि सबै उमेदवार पीटीआई समर्थित होइनन् । पञ्जाबमा पीपीपी १० सिटका साथ तेस्रो स्थानमा छ भने पीएमएल–क्यूले ८ सिट पाएको छ । पञ्जाब विधान सभामा २९७ सीट छन् । एक सीटमा चुनाव स्थगित गरिएको छ । 

सिन्ध विधानसभा

१३० सदस्यीय सिन्ध विधानसभामा पीपीपीले ८४ सिटसहित साधारण बहुमत प्राप्त गरेको छ । २८ सिटसहित एमक्यूएम दोस्रो ठूलो पार्टी बनेको छ ।

खैबर पख्तुनख्वाह

खैबर पख्तुनख्वा प्रान्तीय सभामा पीटीआई समर्थित उम्मेदवारहरू सरकार बनाउने स्थितिमा छन् । ११५ सिट भएको सदनमा ९० सिट जितेका छन् । यहाँ जमियत उलेमा–ए–इस्लाम सात सिटसहित दोस्रो र पीएमएलएन पाँच सिटसहित तेस्रो दल बनेको छ ।

बलुचिस्तान विधानसभा

बलुचिस्तान विधानसभाको ५१ मध्ये ५० सिटको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार पीपीपी र जमियत उलेमा–ए–इस्लामले ११/१ सिट जितेका छन् भने पीएमएल (एन)ले १० सिट जितेका छन् । यहाँ ६ स्वतन्त्र उम्मेदवारले पनि जित हासिल गरेका छन् । अवामी पार्टीले चार र नेशनल पार्टीले तीन सिट पाएका छन् । 

पाकिस्तानको पञ्जाब प्रान्तको लाहोर सहरमा इमरान खानको पार्टी पीटीआईले प्रस्तावित विरोध प्रदर्शनलाई मध्यनजर गर्दै कडा सुरक्षा व्यवस्था गरिएको छ । निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै पीटीआईले दिउँसो २ बजेदेखि शान्तिपूर्ण प्रदर्शनको घोषणा गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप