आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
दरबन्दी घटाउने अभियान

राष्ट्रपति कार्यालयमा कर्मचारी दरबन्दी कटौतीको तयारी

आइतबार, २८ माघ २०८०, १७ : ४३
आइतबार, २८ माघ २०८०

काठमाडौँ । राष्ट्रपति कार्यालयका निजामतीतर्फका कर्मचारीको दरबन्दी कटौती गरिने भएको छ । तर राष्ट्रपतिका विज्ञ र कर्मचारीको जम्बो टोली भने यथावत् हुने छन् । गत मंसिर २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले ‘राष्ट्रपतिको कार्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृति दिने निर्णय’ गरे बमोजिम निजामतीतर्फका कर्मचारीको दरबन्दी घटाउन लागिएको हो ।

कार्यालयमा हाल सचिवदेखि कार्यालय सहायकसम्म ६८ दरबन्दी कायम छ । त्यसलाई ६० को संख्यासम्म घटाउने गरी तयारी भइरहेको शीतल निवास स्रोतले रातोपाटीलाई आइतबार जानकारी दिएको छ ।

राष्ट्रपति कार्यालयका सचिव डिल्लीराम शर्मा, व्यवस्थापन महाशाखा प्रमुख सहसचिव कृष्णप्रसाद लम्साल, उपसचिव बसन्तप्रसाद पन्थी र अर्थ मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका एक एक सदस्य रहेको पाँच सदस्यीय समितिले संगठन र व्यवस्थापन सर्वेक्षण गरिरहेको छ ।

कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले समितिको प्रतिवेदन तयारी अन्तिम चरणमा रहेको जानकारी दिइन् । ‘अनावश्यक दरबन्दी कम गर्ने र कार्यालयको थपिएको कार्य प्रकृतिलाई हेरेर सो अनुकूल सङ्ख्या थप्ने गरी प्रतिवेदन तयार हुँदै छ । कूल सङ्ख्यामा त्यति धेरै फरक नपर्ला’, उनले भनिन् ।

शीतल निवास सूत्रका अनुसार, कर्मचारीको सङ्ख्या उपयुक्त आकारमा तय गरिनेछ । कार्यालयको कार्य प्रकृतिमा थपिएको चुनौती अनुकूल दरबन्दी कायम हुनेछ । 

समितिले केही दिनमै आफ्नो प्रतिवेदन सामान्य प्रशासन मन्त्रालयमा पठाउदैछ । सो प्रतिवेदन अर्थ मन्त्रालय हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेपछि मन्त्रिपरिषद् बैठकबाट अनुमोदन भएपछि लागू हुनेछ ।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ६८ दरबन्दी कटौती गरिएको थियो ।

तर, राजनीतिक नियुक्ति पाएका सल्लाहकार र विज्ञको सङ्ख्या भने घटाइएको छैन । राष्ट्रपति कार्यालयले पनि विज्ञ र राजनीतिक नियुक्ति पाएका कर्मचारीको सङ्ख्या नघटाउने जनाएको छ । 

प्रधानमन्त्रीले ४५ जनासम्म सल्लाहकार र सहयोगीहरु नियुक्त गर्न पाउँछन् भने राष्ट्रपतिले १९ जना कर्मचारी राख्न पाउने व्यवस्था राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक सुविधा सम्बन्धी ऐन, २०७४ मा छ । उनले सात जना विज्ञ पनि नियुक्त गर्न सक्ने सुविधा पनि पाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप