आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
कर्जा लगानी

प्राथमिकताका चार क्षेत्र : के बैंकहरूले ४० प्रतिशत कर्जा प्रवाह गरेका छन् ?

बुधबार, ०२ फागुन २०८०, १३ : ३६
बुधबार, ०२ फागुन २०८०

काठमाडौँ । कृषि, पर्यटन, ऊर्जा तथा जलस्रोत र लघु, घरेलु तथा मझौला उद्योग (एसएमई) – यी चार क्षेत्र सरकारको विशेष प्राथमिकतामा छ । त्यसैले अर्थतन्त्रको खास मेरुदण्ड मानिएका यी चार क्षेत्रको उत्थानमा सरकारको विशेष निगरानी तथा नीति पनि छ । 

बैंक तथा वित्तीय संस्थाहरूलाई जारी निर्देशनअनुसार २०८० असार मसान्तसम्म वाणिज्य बैंकले कूल कर्जा लगानीको कम्तीमा ४० प्रतिशत लगानी प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । 

  • कति भइरहेको छ लगानी ?

केन्द्रीय बैंकको पछिल्लो पुस मसान्तको रिपोर्ट अनुसार बैंकहरूले कूल ६१ खर्ब ३१ अर्ब ६ करोड रुपैयाँ निक्षेप सङ्कलन गर्दै ५० खर्ब ८२ अर्ब ८२ करोड रुपैयाँ बराबरको कर्जा लगानी गरेका छन् । 

सोमध्ये कृषि क्षेत्रमा समीक्षा अवधिमा ३ खर्ब ८५ अर्ब ४४ करोड ६० लाख रुपैयाँ (माछापालनसहित) कर्जा लगानी भएको छ । यस्तै, पर्यटन क्षेत्रमा २ खर्ब २१ अर्ब १२ करोड २० लाख रुपैयाँ प्रवाह भएकोमा ऊर्जा, ग्यास तथा पानीको क्षेत्रमा ३ खर्ब ३३ अर्ब ६६ करोड ३० लाख रुपैयाँ र औद्योगिक क्षेत्रमा ८ खर्ब ४६ अर्ब ९४ करोड ५० लाख रुपैयाँ (ठुला उद्योगसहित) कर्जा प्रवाह भएको केन्द्रीय बैंकले जनाएको छ । 

यसो गर्दा समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले चालु आर्थिक वर्षको ६ महिनामा यी चार प्राथमिकताप्राप्त क्षेत्रमा कूल १७ खर्ब ८७ अर्ब १७ करोड ६० लाख रुपैयाँ कर्जा लगानी गरेको देखिन्छ । 

यो कूल कर्जा लगानीको ३५.१६१ प्रतिशतको लगानी हो । यद्यपि, चालु आर्थिक वर्षको ६ महिनामा बैंकहरूले गरेको लगानीको स्थितिलाई हेर्दा आर्थिक वर्षभित्र प्राथमिकताप्राप्त क्षेत्र तोकिएको लगानी पुग्ने देखिन्छ ।

नेपाल बैंकर्स संघका अध्यक्ष एवम् एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले बैंकहरूले तोकिएको प्राथमिकता प्राप्त क्षेत्रमा तोकिएको कर्जा प्रवाह गर्न तयार रहेको बताएका छन् । 

मौद्रिक नीतिको दोस्रो त्रैमास (अर्धवार्षिक) समीक्षाले सोही प्राथमिकता प्राप्त क्षेत्रमा जाने कर्जामा २ करोड रुपैयाँसम्मलाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था केन्द्रीय बैंकले गरिदिएपछि थप बैंकहरूलाई सहज भएको उनले बताए । यसले थप ३० अर्ब रुपैयाँ तरलता प्रवाहमा सहज भएको उनको भनाइ छ । 

  • अघिल्लो वर्ष कति लगानी भएको थियो ?

२०८० असार मसान्तसम्म बैंक तथा वित्त कम्पनीहरूले ५७ खर्ब ७१ अर्ब २३ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गर्दै ४८ खर्ब ७७ अर्ब ४० करोड ७० लाख रुपैयाँ लगानी गरेका थिए ।

कूल लगानीमध्ये कृषि क्षेत्रमा ३ खर्ब ८४ अर्ब ६३ करोड ९० लाख रुपैयाँ बराबरको लगानी गरेकामा सोही अवधिमा बैंकहरूले जलविद्युत, ग्यास तथा पानीमा ३ खर्ब ७ अर्ब ४५ करोड ७० लाख रुपैयाँ लगानी गरेका थिए । 

यस्तै, पर्यटन क्षेत्रमा २ खर्ब ११ अर्ब १६ करोड रुपैयाँ लगानी भएकोमा औद्योगिक क्षेत्रमा ७ खर्ब ८२ अर्ब ५३ करोड ६० लाख रुपैयाँ हाराहारी लगानी भएको केन्द्रीय बैंकले जनाएको छ । 

समीक्षा वर्षमा प्राथमिकता प्राप्त चार क्षेत्रमा कूल १६ खर्ब ८५ अर्ब ७९ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । यो कूल प्रवाहित कर्जाको ३४.५६ प्रतिशत हो । तुलनात्मक रूपमा अघिल्लो वर्षभन्दा यो वर्ष बैंक तथा वित्तीय कम्पनीहरूले प्राथमिकता प्राप्त क्षेत्रमा केही कर्जा लगानी बढाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप