शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

युक्रेन आक्रमणको आपत्तिजनक आलोचकहरूको सम्पत्ति जफत गरिने

बुधबार, ०२ फागुन २०८०, १९ : ५१
बुधबार, ०२ फागुन २०८०

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार क्रेमलिनको युक्रेन आक्रमणविरुद्ध बोलेको अभियोगमा दोषी ठहरिएका व्यक्तिहरूको सम्पत्ति जफत गर्न अधिकारीहरूलाई अनुमति दिने कानुनमा हस्ताक्षर गरेका छन् ।  

मस्कोले सन् २०२२ मा युक्रेनमा सेना पठाएपछि कडा कानुन लागू गर्दै यसको आलोचनामाथि प्रतिबन्ध लगाएको छ र सार्वजनिकरूपमा यसको विरोध गर्नेहरूलाई कडा कारबाही गरेको छ । 

उक्त कानुनले अधिकारीहरूलाई आपत्तिजनक आलोचना गर्ने दोषी व्यक्तिहरूको धन, सम्पत्ति र बहुमूल्य वस्तुहरू जफत गर्न सक्षम बनाउँछ । कानुनले आफ्नो मुलुक छाडेर भागेका तर अहिले पनि घरमा सम्पत्ति भएका महत्त्वपूर्ण रुसी निर्वासितहरूलाई सम्भावितरूपमा निशाना बनाउँछ । 

रुसको संसद् ड्युमाले विधेयकलाई समर्थन गरेको दुई सातापछि पुटिनले उक्त दस्तावेजमा हस्ताक्षर गरेका हुन् । ड्युमाका सभामुख व्याचेस्लाभ भोलोदिनले गत महिना भनेका थिए, “आफ्नो मातृभूमिसँग विश्वासघात गरेका र अहिले हाम्रा सैनिकहरूको पिठ्युँमा थुक्ने बदमास र गद्दारहरूलाई यो कानुनले निशाना बनाउँछ ।”

मस्कोले नियमितरूपमा सैन्य अभियानको विरोधमा आफ्नो मुलुक छाड्ने लाखौँ रुसीलाई देशद्रोहीको संज्ञा दिएको छ । उक्त कानुन युक्रेन आक्रमणको दोस्रो वर्ष प्रवेश र रुसको राष्ट्रपति निर्वाचनभन्दा एक महिनाअघि लागू भएको छ । -(रासस/एएफपी) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप