आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

‘नेपाली कांग्रेस मधेसमा जसपाको पछुवा बनेको छ’

आलोपालोको सहमति भएको छ भने त्यो कार्यान्वयन हुनुपर्छ : रामसरोज यादव
बिहीबार, ०३ फागुन २०८०, १५ : १२
बिहीबार, ०३ फागुन २०८०

मधेस सरकारका मुख्यमन्त्री सरोज यादवले विश्वास मत लिनका लागि विभिन्न दलका नेता तथा सांसदहरूसँग भेटघाट र आन्तरिक छलफललाई तीव्रता दिएका छन् । नेपाली कांग्रेसलाई सरकारको नेतृत्व लिने हतार छ तर जसपा छाड्ने पक्षमा देखिँदैन । 

कांग्रेसले मधेस सरकार आलोपालोमा सञ्चालन गर्ने सहमति भएको र त्यो सहमतिलाई कार्यान्वयन हुनुपर्छ भन्दै आएको छ । तर जसपाले त्यस्तो कुनै सहमति नभएको र यसका लागि गठबन्धनमा सहमति हुनुपर्ने बताइरहेको छ । 

उता सरकारले राम्रो काम गर्न नसकेको भन्दै मुख्यमन्त्री यादवको आलोचना पनि भइरहेको छ । यिनै विषयमा केन्द्रित रहेर कांग्रेस मधेस प्रदेश समितिका सदस्य एवम् प्रदेश सभा सदस्य रामसरोज यादवसँग रातोपाटीले गरेको कुराकानीको सम्पादित अंश: 

  • मधेस प्रदेश सरकार परिवर्तनको चर्चा चलिरहेको छ । यस बारेमा कांग्रेसले के गरिरहेको छ ?

-यसबारे मलाई थाह थिएन, यस विषयमा मैले दलका (कांग्रेस मधेस प्रदेश) नेतासँग कुरा गरेको थिएँ । उहाँबाट थाह पाए कि गठबन्धनमा सरकार नेतृत्वका लागि आलोपालोको सहमति भएको रहेको छ । यदि त्यस्तो सहमति भएको छ भने त्यो कार्यान्वयनमा आउनुपर्छ । दलका नेता कृष्ण यादवबाट बुझ्दा दुई-दुई वर्षका लागि आलोपालो गर्ने सहमति भएको रहेछ । जनमत पार्टीले सरकारको समर्थन फिर्ता लिएको छ । कानुनले के भन्छ, अहिले त्यतापट्टि नजाऔँ । तर व्यवहारिक कुरा के हो भने सरकारलाई दिएको विश्वासको मत यदि कुनै दलले फिर्ता लिँदा बहुमत छ भने पुनः विश्वासको मत लिनुपर्दैन । व्यवहारत भने अहिलेको सरकारबाट जनमतले समर्थन फिर्ता लिएकाले सरकारले पुनः बहुमत साबित गर्नुपर्छ ।

  • यदि मधेस सरकारले विश्वासको मत लियो भने कांग्रेसले दिन्छ कि दिँदैन ?

-गठबन्धनको सरकार हो, हामी पनि गठबन्धनमा छौँ भने विश्वासको मत दिनुपर्छ तर त्यसका साथै केही कुरामा सहमति भएको छ भने त्यसलाई पनि कार्यान्वयनमा ल्याउनुपर्छ । गठबन्धन दलसँग कुनै सहमति भएको छ भने त्यो कार्यान्वयनमा ल्याउन पनि भन्नुपर्छ । तर गठबन्धन सरकारलाई जोगाउन पनि आवश्यक छ । मैले हाम्रो पार्टीका संसदीय दलका नेता कृष्ण यादवलाई भनेको छु, यदि कुनै कुरामा सहमति भएको छ भने सरकारका नेतृत्वकर्ता दललाई दबाब दिनुस्, त्यसलाई कार्यान्वयनका लागि बढाउनुस् । सरकार मात्र होइन, सरकारसँग सम्बन्धित धेरै ठाउँमा नियुक्तिहरू भइरहेका छन्, त्यहाँ कांग्रेसले आफ्नो वर्चस्व देखाउन सकेको छैन । सरकारको नीति आयोग छन्, विभिन्न बोर्ड, लोक सेवा आयोग, समिति, प्राधिकरणहरू छन् तर त्यसमा जसपाले एकलौटी रूपमा नियुक्तिहरू भएका छन् । तर कांग्रेसले बोलिरहेको छैन । त्यसमा पनि कांग्रेसले आफ्नो उपस्थिति देखाउनुपर्छ ।

  • तपाईं कांग्रेसको वरिष्ठ नेता हुनुहुन्छ, प्रदेश सभाको सदस्य पनि हुनुहुन्छ । तपाईंले पनि दबाब दिँदा, कुरा उठाउँदा हुन्छ होला नि पार्टीका अन्य नेतालाई मात्र दोष दिएर हुन्छ त ?

-म पार्टीको नेता भए पनि प्रदेश सभा सदस्यबाहेक अरू कुनै पनि पदमा छैन । न पार्टीको सभापति छु, न संसदीय दलको नेता छु, न सरकारमा छु । मेरो कुरा कसले किन सुनोस् त । मैले बोले पनि, केही भने पनि त्यसको सुनुवाइ हुँदैन । अरू पार्टी तथा सरकारले सल्लाह लिने कुरा टाढाको कुरा हो । आफ्नै पार्टीका दलका नेता तथा सरकारका मन्त्रीले सल्लाह लिँदैन भने आफैँ कति सल्लाह दिँदै हिँड्नु त । 

मैले आफैँ पार्टीका संसदीय दलका नेता कृष्ण यादवलाई केही सल्लाह दिएको छु । त्यसलाई मान्नु भयो भने ठिकै छ नत्र यस्तै चलिरहन्छ । म कृष्ण यादवबाट पार्टी सभापतिमा हारेको हुँ तर निकटतम प्रतिद्वन्द्वी भएको नाताले पार्टीमा भइरहेका काम कारबाहीको बारेमा सल्लाह तथा छलफल गर्नुपर्ने हो तर कुनै कुराको सल्लाह लिनुहुन्न । राष्ट्रिय सभाको सदस्यका लागि भएको चुनावमा एकपटक पनि मसँग कुनै सल्लाह वा छलफल गरेन । मसँग सल्लाह लियो भने पार्टीलाई फाइदै हुन्छ, घाटा हुँदैन । मधेस प्रदेशको कांग्रेस पार्टी ठिकसँग सञ्चालित भइरहेको छैन, यही पाराले सञ्चालन भइरह्यो भने मधेसमा यो पार्टीको अवस्था राम्रो हुनेछैन भन्ने निश्चित छ । 

  • यसअघि तपाईं पनि संसदीय दलको नेता हुनुहुन्थ्यो, सरकारमा मन्त्री पनि हुनुहुन्थ्यो । तपाईंमाथि पनि यस्तै आरोप लागिरहेको थियो होइन ?

-म संसदीय दलको नेता थिएँ, मन्त्री पनि भए । पार्टीको सभापति थिइनँ । कृष्ण यादव केही हुनुहुन्थेन । म संसदीय दलको नेता हुँदा अहिलेको जस्तो अराजकता थिएन । म सबैसँग सल्लाह लिन्थे, पार्टीले दिएको निर्देशन अनुसार काम गर्थे । सरकारमा हुँदा पनि म अडान लिन्थे । जनताको हितमा काम गराउँथे । कहिले पनि म निरिह जस्तो बसिनँ । मान्छेको चाहना अनन्त हुन्छ, सबै पुरा गर्न सकिँदैन । तर म मन्त्री भएको बेला जो जो आए सबैलाई केही न केही दिएकै छु । नपत्याए त्यतिबेलाको रेडबुक पल्टाएर हेर्दा हुन्छ । पार्टीभित्र वा बाहिर कसैलाई गुनासो गर्ने मौका दिइनँ । अहिले पनि कांग्रेसबाट नेताहरू सरकारमा छन्, अवस्था के छ भनेर पार्टीका नेताहरूलाई नै गएर सोध्नुस् । जसपा कांग्रेसबाट कसरी हाबी भएको छ । मधेस प्रदेशमा कांग्रेस दोस्रो ठुलो दल हो, जसपा तेस्रो ठुलो दल हो तर जसपाले कांग्रेसलाई कुन अवस्थामा राखेको छ त्यो प्रष्ट देखिन्छ । 

  • तपाईंहरुकै पार्टीभित्रै एक अर्काप्रति यस्तो अविश्वास छ भने बाहिरका दलहरूसँग कसरी लड्नु हुन्छ ?

-त्यो कुरा त अहिले नेतृत्व लिएका नेताहरूले बुझ्नुपर्ने हो । मेरो एउटा बानी छ । म कुनै नेताको घरमा जाँदिनँ । प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्रीलाई समेत भेट्न जाँदिनँ । पार्टीमा कब्जा जमाएर बसेकाहरूले कुनै मतलब राखेका छैनन् भने मैले किन मपाई गर्न जानु ? तर यस्तै अवस्था रहने हो भने मधेसमा कांग्रेसको हालत निकै खराब हुन्छ । अस्ती पार्टीका सभापति जनकपुर आउँदा भन्नुभएको थियो कि कांग्रेसको आधार क्षेत्र मधेस हो । जब-जब मधेसमा कांग्रेस बलियो हुन्छ तब-तब केन्द्रमा बलियो हुन्छ । मधेसमा कमजोर भएपछि केन्द्रमा पनि कमजोर हुन्छ । यदि यस्तो हो भने पार्टीको नेतृत्व गर्ने व्यक्तिले बुझ्नुपर्छ । 

  • यसो कुरा बुझ्दा त तपाईंहरुकै पार्टीभित्रको असमझदारीका कारण जसपाले एकलौटी रूपमा सरकार सञ्चालन गरिरहेको छ होइन ?

-हो हाम्रो पार्टी(मधेस प्रदेश)को नेतृत्वकर्ताको असमझदारीका कारण पार्टी जसपाजस्तो पार्टीको पछुवा बनेर हिँडेको छ । कांग्रेस यस्तो ठुलो पार्टी हुँदा हुँदै भएका सम्झौता र सहमति जसपाले किन मान्न तयार छैन त ? हाम्रो पार्टीका सभापति कृष्ण यादवले भन्नुहुन्छ कि जसपासँग आलोपालोका लागि समझदारी भएको छ, यदि समझदारी भएको छ भने त्यो कार्यान्वयनको लागि दबाब दिनुपर्ने हो नि । कांग्रेसले मधेस सरकारको नेतृत्व लिने बेला भइसकेको छ भने लिनुपर्ने हो नि । कांग्रेस कसको बाटो कुरेर बसेको छ ? गठबन्धनको सरकार हो भने हरेक कुरामा साझेदार हुनुपर्छ । कांग्रेसले आफ्नो दबाब बढाउन सकेको छैन । गर्न सकेको छैन भने ठाउँ छाडिदिनुपर्‍यो अरूलाई सुम्पिदिनुपर्‍यो, गरेर देखाउन अरू तयार छन् । 

  • भन्नाले सरकारमा कांग्रेस पार्टीकै पर्फमेन्स राम्रो छैन ?

-कांग्रेसको मात्र होइन, सरकारकै पर्फमेन्स राम्रो छैन । सरकारले प्रदेश सभालाई बिजनेस दिन सकेको छैन । बजेट घोषणा भएको नौ महिना भइसक्यो तर अहिलेसम्म विकास निर्माणको काम सुरु भएको छैन । अब तीन चार महिनामा कति काम हुन्छ, अर्को बजेट आउने बेला भइसकेको छ । त्यो कमजोरी कसको हो ? बजेट चलाउन, विकासका काम गर्ने अधिकार त प्रदेश सरकारलाई दिएको हो भने उसले समयमा काम गर्नुपर्‍यो नि । सबै दोष केन्द्रलाई देखाएर मात्र हुँदैन । केही नीतिगत अप्ठ्याराहरू होलान्, त्यो बिस्तारै सुधार हुँदै गर्छ तर जे काम प्रदेश सरकारले गर्न सक्छ त्यो काम पनि अगाडि बढेको छैन । संसद् तथा सरकार ठप्प जस्तै छ । मुख्यमन्त्रीजीले खाली केन्द्रतिर औँला तेर्स्याउनु हुन्छ । त्यो दोषबाट उम्किने बहाना मात्र हो । खर्च नै गर्न सकिँदैन भने किन चाहियो बजेट किन चाहियो साधन स्रोत ? 

  • पूर्वमुख्यमन्त्री लालबाबु राउतको पनि त्यतिबेला निकै आलोचना भएको थियो तर अहिले सरोज यादव नेतृत्वभन्दा लालबाबु नेतृत्वकै सरकार ठिक थियो भने चर्चा सुरु हुन थालेको छ, तपाईंको कुरा सुन्दा पनि त्यस्तै बुझिन्छ के लालबाबु राउत नेतृत्वको सरकार ठिक थियो त ?

-कसैले लालबाबु नेतृत्वको सरकार नै ठिक थियो भनिरहनु भएको छ भने त्यो साँच्चै भनेको होला । त्यतिबेला मधेस प्रदेशमा सरकार छ भन्ने भान जनतालाई हुन्थ्यो तर अहिले प्रदेशमा सरकार छ भने जनताले अनुभूति नै गरेका छैनन् । जनताभित्र त्यही कारणले उकुसमुकुस बढेको छ । 

  • सरकारले काम गर्न नसक्नुको मुख्य कारण के हुनसक्छ जस्तो लाग्छ तपाईंलाई ?

-एक लाइनमा भन्ने हो भने राइट प्लेस, राइट म्यान नभएको कारण यस्तो भएको हो । मुख्यमन्त्री र मन्त्री मात्र बनेर हुँदैन कस्तो व्यक्ति बनेका छन्, को बनेका छन् त्यो मुख्य कुरा हो । सरकार चलाउनु, मन्त्रालय चलाउनु कुनै केटाकेटीको खेल होइन । त्यसको लागि भिजन चाहिन्छ, रोडम्याप चाहिन्छ, जसको अभाव मैले त्यहाँ देखेको छु ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप