शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ

माघमा थपियो २२ अर्ब ९७ करोड सार्वजनिक ऋण

सरकारमाथि २३ खर्ब ८६ अर्बको भुक्तानी दायित्व
बिहीबार, ०३ फागुन २०८०, १७ : २३
बिहीबार, ०३ फागुन २०८०

काठमाडौँ । पछिल्लो महिना सरकारले २२ अर्ब ९७ करोड सार्वजनिक ऋण थपेको छ । यसअघिको मौज्दात सावाँ ब्याज भुक्तानीमा ३८ अर्ब ६६ करोड ६७ लाख रुपैयाँ खर्च गर्दैगर्दा सरकारले सोही महिना २२ अर्ब ९७ करोड ६ लाख रुपैयाँ सार्वजनिक ऋण लिएको हो ।

कूल ऋणमध्ये आन्तरिकतर्फ २२ अर्ब रुपैयाँ र बाह्यतर्फ ९७ करोड ६ लाख रुपैयाँ उठाइएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

योसँगै सरकारको कूल तिर्न बाँकी सार्वजनिक ऋणको आकार २३ खर्ब ८६ अर्ब ७७ करोड २७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो महिना (पुस मसान्तसम्म) २३ खर्ब ८४ अर्ब ४८ करोड ६० लाख भुक्तानी दायित्व बाँकी रहेकोमा पछिल्लो माघ महिनामा २ अर्ब २८ करोड ६७ लाख रुपैयाँ थपिएको हो ।

आर्थिक वर्षको भुक्तानी

चालु आर्थिक वर्षको ७ महिनामा सरकारले आन्तरिक र बाह्य गरी कूल १ खर्ब ५५ अर्ब २४ करोड ७२ लाख रुपैयाँ ऋण भुक्तानी गरेको छ । सोमध्ये साउनदेखि माघ मसान्तसम्ममा सरकारले आन्तरिकतर्फ १ खर्ब ३० अर्ब ११ करोड ६७ लाख रुपैयाँ र बाह्यतर्फ २५ अर्ब १३ करोड ५ लाख रुपैयाँ भुक्तानी गरेको हो ।

तर, यसैअवधिमा सरकारले २ खर्ब २ अर्ब ४३ करोड ऋण लिएको छ ।

भुक्तानी गर्ने भन्दा लिने ऋण थपिदैगर्दा सरकारमाथि दबाब सिर्जना भएको छ । चालु आर्थिक वर्षको बजेट व्यवस्थापनका लागि सार्वजनिक ४ खर्ब रुपैयाँ बराबरको ऋण लिने जनाएको सरकारले अपेक्षित ऋण नपाउँदैगदा अर्कोतर्फ दायित्व समेत थपिँदै गएको छ । जसले स्रोतमाथिको दबाबका कारण बजेट घटाउनुपरेको सरकारले बताएको छ ।

आर्थिक वर्षको १७ खर्ब ५१ अर्ब ३१ करोडको कूल बजेटबाट सरकारले २ खर्ब २१ अर्ब कटौती गरिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप