शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
राेजगार

सीपमूलक तालिमले स्वरोजगार भए महिलाहरू

फुर्सदको समय सदुपयोग गरेर दैनिक ३ देखि ५ सय आम्दानी
शुक्रबार, ०४ फागुन २०८०, १० : ०५
शुक्रबार, ०४ फागुन २०८०

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–४ को वडा कार्यालयले सञ्चालन गरेको ७ दिनको तालिमपछि औराहाकी सपना राई घरमै बसीबसी आम्दानी गर्न थालेकी छन् । धूप बत्ती बनाउने तालिमपछि राईले घरमै फुर्सदको समय सदुपयोग गरेर आम्दानी गर्न थालेकी हुन् ।

‘यो तालिम लिएपछि घरमै बसेर हामीलाई रोजगारी र पैसा दुवै मिलेको छ, भारी उचाल्न पनि पर्दैन, भारी बोकेर हिँड्न पनि परेन, घरमा अरु काम भ्याएर यो काम गर्छु,’ राईले भनिन्, ‘घरमा सानोतिनो खर्च, बच्चाको खाजा खर्च, आफ्नो पकेट खर्च यसले धानेको छ ।’

वडा कार्यालयको ३ लाख बजेटबाट श्री गढीमाई केमिकल सप्लार्यसले स्थानीय महिलालाई धूप बत्ती बनाउने तालिम दिएको हो । उक्त तालिम लिएपछि १२० जनाभन्दा धेरै महिला अहिले घरमै बसेर आयआर्जन गर्दै छन् ।

उनीहरुले घरधन्दा भ्याएर फुर्सदको समय सदुपयोग गर्दामात्रै पनि दैनिक ३ देखि ५ सय रुपैयाँ आम्दानी गरिरहेका छन् । स्थानीय महिलाले बनाएको धूप बत्तीलाई तालिम प्रदायक संस्थाले घरमै पुगेर लिने र हात हातमा पैसा दिने गर्दछ ।  

औराहाकै भगवती परियार यसअघि घरमा खाना पकाउने, बच्चाहरूलाई स्कुल पुर्याउने र ल्याउने काममात्रै गर्दथिन् । सामान्य २÷४ सय रुपैयाँ पकेट खर्चका लागि पनि श्रीमानसँग माग्नुपर्थ्यो । तर अहिले उनी घरधन्दा, बालबच्चा सम्हालेर पनि फुर्सदको समयमा काम गरेर दैनिक आम्दानी गर्दछिन् ।

‘हामीले घरबाहिर अरु काम केही गरेका थिएनौँ तर अहिले वडाले यो तालिम ल्याएदेखि धेरै सजिलो भएको छ, बच्चाको खाजा, आफ्नो पकेट खर्च पुगेको छ,’ परियारले भनिन् ।

d5

तालिमपछि महिलाहरुले धूप बत्तीको लागि आवश्यक धुलो, नेपाली कागज र अन्य सामग्री लिएर घरमै बसेर काम गर्दछन् । तयारी भएको सामानलाई कम्पनीले ब्राण्डिङ गरी पोखरा, काठमाडौँ, विराटनगरसम्म बिक्री गर्ने गर्दछ ।

कम्पनीले अहिले दैनिक १ लाख धूप बत्ती उत्पादन गरेर बजारसम्म पुर्याउने गरेको छ ।

तालिम सञ्चालक श्री गढीमाई केमिकल सप्लार्यसका प्रमुख जनक दाहालले नाफा कमाउने उद्देश्यले भन्दा पनि वडाका दलित, गरिब र विपन्न महिलाहरूलाई सक्षम बनाउने उद्देश्यले आफूले सो तालिम सञ्चालन गरेको बताए ।

‘तालिम पश्चात् हामीले कच्चा पदार्थ घरघरमै पुर्याइदिएका छौँ, उहाँहरूले घरमा बनाएको धूप बत्ती लिएर पैसा पनि घरमै पुर्याइदिएर, आफ्नो सामानको ब्रान्ड बनाएर बिक्री गर्ने गरेका छौँ,’ उनले भने, ‘हामीले खास ८०÷८५ जना महिलालाई तालिम दिएका थियौँ तर अहिले म पनि गर्छु भन्दै १२५ जनाभन्दा धेरै महिला हामीसँग जोडिनु भएको छ ।’

बाटेको धूप बत्तीमा नेपाली कागजसँगै कपुर, निम, धुपीको धुलो, श्रीखण्ड प्रयोग हुने गर्दछ । ‘दिनमा २ लाख पिससम्म उत्पादन गर्न सकियो र १ पिस बराबर १ पैसा फाइदा भयो भने अझ धेरै महिलालाई यो रोजगारीमा जोड्न सकिने दाहाल बताउँछन् ।

d4

दाहालले धूप बत्तीको लागि कच्चा पदार्थको अभाव भएकाले गाउँघरमै पाइने फूलहरूबाट कच्चा पदार्थ बनाएर प्रशोधन गर्ने तयारी गरिरहेको बताए । उनले हाल दैनिक ८ देखि १० हजारको नेपाली कागज खपत हुने गरेको र नेपाली कागज झापाबाट ल्याउने गरेको बताए ।

जीतपुरसिमरा–४ का वडाध्यक्ष भोजबहादुर खत्रीले थोरै बजेटबाट सञ्चालन गरेको तालिमले पनि धेरै महिला प्रत्यक्ष लाभान्वित भएको बताए ।

‘विगतमा हामीले वडा र नगरपालिकाको ५ - १० लाख बजेटबाट धेरै तालिम सञ्चालन गर्यौँ, त्यो खासै प्रभावकारी भएन तर यो सानो बजेटको तालिमबाट धेरै महिलाले अहिले घरमै बसेर रोजगारी पाएका छन्, दैनिक २-४ सय आम्दानी गरेका छन्,’ वडाध्यक्ष खत्रीले भने । 

d1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप