हिन्दूराष्ट्र अभियानका नेता देउवा निवासमा, औपचारिक प्रस्ताव ल्याउने प्रयास
काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठकमा वैदिक सनातन हिन्दूराष्ट्र स्थापना अभियान सञ्चालन गरिरहेका नेताहरू सभापति शेरबहादुर देउवाको निवास पुगेका छन् । अभियानको प्रस्तावलाई औपचारिक रूपमै महासमिति बैठकमा प्रस्तुत गर्न पाउनुपर्ने उनीहरूको माग रहेको छ ।
बुढानीलकण्ठमा बुधबार भएको भेटमा देउवाले जारी महासमिति बैठकमा प्रस्ताव पेश गर्न सुझाव दिएका छन् । ‘देउवाले प्रस्ताव पेश गर्नुस् भन्नुभयो, समय चापका कारण छलफल गराउन सकिन्न होला भन्नुभयो । हामीले यो अजेण्डा पारित नगरे पार्टीभित्रदेखि सरकारसम्मलाई अफ्टेरो पर्ने चेतावनी दियौं’ भेटपछि अभियानका संयोजक शंकर भण्डारीले रातोपाटीसित भने ।
अभियानले हालसम्म ८ सय पचास महासमिति सदस्यहरूको हस्ताक्षर जुटाइसकेको छ .। हजार सदस्यहरूको हस्ताक्षर जुटाउने लक्ष्य रहेको अभियानका सदस्य लोकेश ढकालले बताए । बहुमत सदस्यहरूको हस्ताक्षर जुट्न सकेमा औपचारिक प्रस्तावका रूपमा अभियानको एजेन्डा महासमितिमा प्रवेश गराउने अभियन्ताहरूको रणनीति देखिन्छ ।
यो अभियानलाई नेपाली कांग्रेसकै जनजाति, मुस्लिम भ्रातृ संगठन र केही शीर्ष नेताहरूले असहयोग गरिरहेको अभियानका सदस्यको भनाई छ ।
हिजो मंगलबार मात्र पूर्वमहामन्त्री एवं केन्द्रीयसदस्य डा सशांक कोइराला र पूर्वसभामुख एवं पूर्वमहामन्त्री तारानाथ रानाभाटले पनि हस्ताक्षर गरिसकेका छन् ।
कांग्रेसको केन्द्रीय समिति बैठकमा २२ जना केन्द्रीय सदस्यहरूले हिन्दु राष्ट्रका पक्षमा २०८० फागुन ४ गते लिखित प्रस्ताव गरेका थिए । महासमिति बैठकमा हिन्दु राष्ट्रका बारेमा प्रतिनिधिहरूले व्यक्तिगत धारणा राख्ने जनाएका छन् ।
कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा ‘गणतान्त्रिक, वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र’ महाअभियान अन्तर्गत हस्ताक्षर संकलन गरिएको हो । अभियानका संयोजक भण्डारीले मुलुक र धर्म सँगसँगै रहने भएकाले आफूहरू सनातन वैदिक धर्म सापेक्ष हिन्दु राष्ट्रको पक्षमा रहेको स्पष्ट पारे ।
नेपालको संविधान २०७२ जारी गर्दाका बखत गरिएको जनमत संकलनमा ८० प्रतिशत नागरिकले हिन्दु राष्ट्रको माग गरेको भएपनि त्यसको विरुद्धमा संविधानमा धर्म निरपेक्ष राष्ट्र लखिएको भन्दै भण्डारीले आपत्ति पनि जनाए ।
गौतम बुद्ध जस्ता महान् व्यक्तित्व जन्मेको हिमालय मुलुक हरेक क्षेत्रमा कमजोर भइरहेको बताउँदै देशको स्वाधीनता र स्वाभिमानसँगसँगै लाने नेपाली कांग्रेस र सरकारले गम्भीर छलफल गर्नुपर्ने बेला भएको नेता भण्डारीको भनाइ छ ।
महासमिति बैठकको उद्घाटन सत्रको शुभारम्भसँगै महासमिति सदस्यहरूले बैठकको सभा हल अगाडी ‘धर्मनिरपेक्ष राष्ट्र खारेज गरेर धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन हिन्दुराष्ट्र नेपाल’को पक्षमा हस्ताक्षर अभियान जारी राखेका छन् ।