शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
भन्सार विभाग तथ्यांक

सात महिनामा नेपाललाई ८ खर्ब ११ अर्ब व्यापार घाटा

बुधबार, ०९ फागुन २०८०, १२ : ३१
बुधबार, ०९ फागुन २०८०

काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को ७ महिनाको अवधिमा नेपालले वैदेशिक व्यापारमा ८ खर्ब ११ अर्ब रुपैयाँ घाटा बेहोरेको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि माघ महिनासम्मको अवधिमा ८ खर्बभन्दा बढीको वैदेशिक व्यापार घाटा बेहोरेको हो ।  गत आर्थिक वर्षको यही अवधिको तुलनामा १.७७ प्रतिशतको गिरावट हो ।

गत आर्थिक वर्ष २०७९/८० को ७ महिनाको अवधिमा नेपालले ८ खर्ब २५ अर्बभन्दा बढीको व्यापार घाटा बेहोरेको थियो । यो चालू वर्षको तुलनामा १३ अर्बभन्दा धेरै हो । यस्तै, यस अवधिमा नेपालले विदेशबाट ८ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँको आयात गरेको छ ।

यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा २.३१ प्रतिशतले कम हो । गत आर्थिक वर्षको ७ महिनाको अवधिमा नेपालमा ९ खर्ब १९ अर्ब १६ करोड रुपैयाँको आयात भएको थियो । यो चालू वर्षको तुलनामा २१ अर्बभन्दा धेरै आयात हो ।

यसबाहेक, ७ महिनाको अवधिमा निर्यात व्यापारमा ७.०७ प्रतिशतको गिरावट आएको छ । तथ्यांकअनुसार यस अवधिमा नेपालबाट ८६ अर्ब ८३ करोड रुपैयाँको निर्यात भएको छ । गत वर्षको यही अवधिमा नेपालबाट ९३ अर्ब ४३ करोड रुपैयाँभन्दा धेरैको निर्यात भएको थियो । जुन, चालू वर्षको तुलनामा ६ अर्ब रुपैयाँले बढी हो ।

आयात र निर्यात नै घटेपछि ९ खर्ब ८४ अर्ब ७७ करोड रुपैयाँको कूल वैदेशिक व्यापार भएको छ । गत आर्थिक वर्षको यही अवधिमा १० खर्ब १२ अर्ब ५९ करोड रुपैयाँको कूल वैदेशिक व्यापार भएको थियो । तथ्यांकअनुसार गत आर्थिक वर्षको ७ महिनाको अवधिको तुलनामा यो वर्ष कूल वैदेशिक व्यापार २.७५ प्रतिशतले खुम्चिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप