आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए विभाजनको भागिदार कांग्रेस हुनु हुँदैन

बिहीबार, १० फागुन २०८०, १० : ४१
बिहीबार, १० फागुन २०८०

गैरआवासीय नेपाली संघको निर्वाचन गत असोजमा काठमाडौँमा सहमतिमा भयो । निर्वाचन गराउने प्रविधि र कम्पनी समेत एकमतले छनोट गरियो । यसमा कसैले असहमति जनाएको वा ‘नोट अफ डिसेन्ट’ लेखेको सुनिएन । उम्मेदवार बन्ने, विधानविपरीत समूह नै बनाएर चुनाव लड्ने प्रतिस्पर्धा पनि भयो, तर परिणाम आफ्नो पक्षमा नपरेपछि पराजितहरूबाट विद्रोहस्वरूप समानान्तर कमिटीका नाममा बलमिच्याइँ समेत भयो । यो जति लाजमर्दो घटना दुनियाँमा अन्त सायद नहोला ।

दुई वर्षदेखि समानान्तर कमिटीलाई तानिरहेका शेष घलेहरूको विभाजन जुँगाको लडाइँ हो भने बद्री केसी (निर्वाचित सभापति) नमान्ने समूहहरूको विद्रोह केटाकेटीको जिद्दीपन हो । गैरआवासीय नेपाली संगठनभित्रको जात्रा कहीँ नभएको हाँडीगाउँको जात्राजस्तो हो । तीन–तीन अध्यक्ष, १३ उपाध्यक्ष संसारमा कहीँकतै नदेखिएको चलन हो, न कतै देखिएको घटना नै हो । यो रोगबाट ग्रसित मानिसहरू आज पनि विद्रोह गरेर ८–८ महिनाको अध्यक्षीय व्यवस्था ल्याउने दाउमा छन् । यो खेलका सकुनी र दुर्योधनलाई संसारभरिका गैरआवासीय नेपालीले चिनेका छन् । यो स्वार्थको खेलमा नेपालको सबैभन्दा पुरानो र प्रजातान्त्रिक भनिने दल नेपाली कांग्रेसलाई धृतराष्ट्र (परराष्ट्र मन्त्रालय भएकाले) बनाइएको छ ।

विगतमा पनि परराष्ट्र मन्त्रालयले यो संस्थाको विधानविपरीत पद माग्ने र लिन मिल्ने जतिलाई पदाधिकारी स्वीकार गरेर यो संस्थालाई रणमैदान बनाउने मुख्य भूमिका खेल्यो ।

बद्री केसीसँग पराजित नेपाली कांग्रेस समर्थित उम्मेदवार भनेर प्रचारित समूह यतिखेर परराष्ट्र मन्त्रालयको दैलो ढुकेर बसेको छ । परराष्ट्रमन्त्री एनपी साउदलाई फकाएर, रिझाएर वा बुढानीलकण्ठ होस् या सिंहदरबारलाई प्रयोग गरेर जसरी पनि निर्वाचित अध्यक्ष केसीलाई आधिकारिकता नदिने र परराष्ट्रमार्फत विगतको जस्तै पालैपालो नेतृत्व गराउने रणनीतिमा यो समूह लागेको छ । यसको अगुवाइ अमेरिका, युरोप र बेलायत बस्ने एकथरी कांग्रेसीले गरिरहेका छन् । अर्काथरी कांग्रेसी भने नियमसम्मत भएको निर्वाचनलाई स्वीकार गरी बद्री केसीसँग निर्वाचित कांग्रेसीलाई साथमा लिएर संस्थालाई विधानसम्मत काम गर्न दिनुपर्छ भन्नेमा छन् ।

नेपाली कांग्रेसको आधिकारिक प्रवासी संस्था जनसम्पर्क समितिको अवस्था र भूमिका प्रवासमा लज्जाजनक र मुख छोप्नुपर्ने खालको छ । गैरआवासीय नेपाली संघमा आफ्नो भूमिका र हिस्सा खोज्ने जनसम्पर्क समिति वा गैरआवासीय कांग्रेसीको पनि चर्चा गर्नु सान्दर्भिक होला ।

कांग्रेसले विदेशस्थित जनसम्पर्क समितिलाई पार्टीको भ्रातृ संस्थाको रूपमा स्वीकार गरी पार्टीको महाधिवेशनमा सहभागी गराउने भनेको थियो, यसपछि कांग्रेसको क्रियाशील सदस्यताका लागि विदेशका गल्लीगल्लीमा दोकान लाग्यो । पार्टी र नेताका पहुँचवाला भाइ–भारदारले दिन मिल्ने वा नमिल्ने दुवैलाई सदस्यता बाँडे । भूकम्प पीडितलाई भनेर उठाएको राहत अपचलन गर्ने कांग्रेसीहरूलाई क्रियाशील सदस्यता अर्को कमाई खाने भाँडो भयो । युरोप तथा अमेरिकामा रहेका राजनीतिक शरणार्थीले नेपालबाट पार्टीको साधारण सदस्यता नपाउने अवस्थामा घरदैलोमै क्रियाशील सदस्यता ! योभन्दा बढी के चाहियो ?

नेपाली कांग्रेसको क्रियाशील सदस्यता सस्तो र जसले पनि पाउने कुरा होइन । काठमाडौँ जानकै लागि क्रियाशीलको दोकानमा कुम जोडेर फोटो सेसन गर्न हीनताबोध हुनुपर्ने हो, संस्थाको बदनाम गर्नेहरूलाई । आपसमा जति लडे पनि आफ्नो स्वार्थका लागि यिनीहरू एक ठाउँमा भइहाल्छन् । यिनीहरूको झगडा वा मित्रता संस्थाका लागि होइन, स्वार्थका लागि हो भन्ने कसैलाई पनि भ्रम छैन होला । संस्थाको ढुकुटी लुट्नेहरू क्रियाशीलको व्यापार गर्न योग्य र आधिकारिक भएको देख्दा सबै अचम्भित छन् ।

बीपी कोइरालाले कल्पना गरेको जनसम्पर्क समितिमाथि सौता थपेर ‘जय नेपाल फाउन्डेसन’ जन्माउनेहरू, कांग्रेसको विधानले नचिनेको ‘विश्व सञ्जाल’ बनाउनेहरू, पटक–पटक जनसम्पर्क समिति फुटाउनेहरू, संस्थाको नेतृत्व छाडेपछि मरिन्छझैँ गर्नेहरू, कांग्रेसको पत्र र क्रियाशील सदस्यताको पसल थाप्ने बदनाम प्रवासी कांग्रेसीहरू ‘एनपी दाइ ! यो बद्री केसी र उनको समूह एमाले हो । यसलाई मान्यता दिनु हुन्न, जसरी पनि यिनीहरूलाई खारेज गरिदिनुपर्‍यो । बाँकी हामी मिलाउँछौ’ भनेर साउदलाई मूर्ख बनाउन काठमाडौँमा व्यस्त छन् । एनपी साउद नेविसंघकै नेतृत्व गरिसकेको व्यक्ति, उनले पक्कै पनि राम्रोसँग बुझेका छन्— वरिपरि बसेर कांग्रेसको हवाला दिनेहरू र बद्री केसीसँग सहकार्य गर्ने कांग्रेसीहरू को कस्ता छन् भनेर ।

कांग्रेसको नाममा गैरआवासीय नेपाली संघ फुटाउँदा यसको घाटा नेपाली कांग्रेसलाई कति हुन्छ भनेर एनपी साउदलाई राम्ररी थाहा छ । बद्री र गौरी जोशीहरूलाई एमालेको नाम दिने केही व्यापारी कांग्रेसीहरू माओवादीहरूलाई गैरआवासीय नेपाली संघको सत्ता सुम्पिन काँधमा बोकेर कान्तिपुर नगरीको फन्को मार्दै छन् । यसो गर्दै जाँदा कतै गैरआवासीय नेपाली संघ एमालेको पोल्टोमा नजाओस्, जसले जे भने पनि नेपाली कांग्रेसले २०८४ को आम निर्वाचनमा प्रवासमा बस्ने आफ्ना सदस्य र शुभचिन्तकको साथ र सहयोग लिन प्रवासमा भएका समर्थकको भावनामा चोट पुर्‍याउन हुन्न । गैरआवासीय नेपाली संघको आफ्नै विधान र व्यवस्था छ, त्यसैअनुसार चल्न दिनुपर्छ र उनीहरूसँग भएको पैसा र प्रविधि देशमा लैजान प्रोत्साहन गर्नुपर्छ ।

(लेखक अमेरिकास्थित नेपाल जनसम्पर्क समितिका नेता तथा गैरआवासीय नेपाली संघका अन्तर्राष्ट्रिय समन्वय समिति सदस्य हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विनोद भट्ट
विनोद भट्ट
लेखकबाट थप