शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षा मानव जीवनको प्रत्यक्ष कर्मसँग जोडिनुपर्छ : मुख्यमन्त्री शर्मा

शनिबार, १२ फागुन २०८०, ०६ : ११
शनिबार, १२ फागुन २०८०

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शिक्षालाई श्रम, सीप, प्रविधि र संस्कारसँग जोडेर लैजानुपर्ने बताएका छन् । उनले भने ‘ परम्परागत मान्यताबाट माथि उठेर शिक्षालाई वैज्ञानिक, व्यवहारिक र उत्पादनमूलक बनाउनुपर्दछ ।  गरिखाने शिक्षा आजको मूल आवश्यकता हो  । ’

कोपिला भ्याली स्कुल वीरेन्द्रनगरको १३औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मुख्यमन्त्री शर्माले सूचना र प्रविधिको विकाससँगै शिक्षा मानव जीवनको प्रत्यक्ष कर्मसँग जोडिनुपर्ने बताए । “हाम्रा शैक्षिक संरचनाहरू योग्य नागरिक उत्पादन गर्ने कारखानाका रूपमा विकास हुनुपर्छ,” उनले भने“टाउकोले टेक्ने खालको हाम्रो शिक्षा नीति खुट्टाले टेक्ने बनाउनुपर्दछ ।”

सरकारले गर्नुपर्ने काम कोपिला भ्याली स्कुलले गरेको बताउनुभएका मुख्यमन्त्री शर्माले श्रम, सीप, प्रविधि र संस्कारसँग जोडिएको शिक्षा पनि यो स्कुलले दिएको उल्लेख गरे । उनले शैक्षिक क्षेत्रको उन्नयन र सुदृढीकरणका लागि सबै सरोकारावालाहरुको साझा भूमिका अपरिहार्य रहेको बताए । उनका अनुसार नागरिक खुसी र सुखी बन्ने अवस्था सिर्जना नहुञ्जेलसम्म समृद्धि कोरा भाषणमा मात्र सीमित हुन्छ ।

जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले कर्णालीको शैक्षिक विकास र यहाँका पहुँचविहीन तथा विपन्न समुदाय बालबालिकाका लागि कोपिला भ्याली वरदान साबित भएको बताए । उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोपबहादुर मल्लले विसं.२०६७ सालमा बाँसको टहराबाट सुरु गरेकोको १३ वर्षपछि हरित विद्यालयसम्म निर्माण गर्न सकिएको बताए ।

विद्यालयका सहसंस्थापक म्याग्गी डोयनले लामो सङ्घर्षपछि विद्यालय कोपिलाहरूको आश्रय उपत्यका बन्न पुगेको बताए । 

सो वार्षिकोत्सवमा नर्सरीदेखि कक्षा १२ मा अध्ययनरत बालबालिका तथा शिक्षिकहरुले आफ्ना कलात्मक सांस्कृतिक तथा साहित्यिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनाल, शिक्षाप्रेमी, समाजसेवी, अभिभावक, सहयोगी, शुभेच्छुकलगायत पत्रकारहरूको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप