क्रेमलिनका आलोचकद्वारा एलेक्सी नाभाल्नीको शव आमालाई हस्तान्तरण
मस्को । रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको शव उनको मृत्युको एक साताभन्दा बढी समयपछि उनकी आमालाई बुझाइएको नाभाल्नीका प्रवक्ता किरा यार्मिशको भनाइ उद्धृत गर्दै सिएनएनले बताएको छ ।
सामाजिक सञ्जालमा साझा गरिएको एक पोस्टमा यार्मिशले भनेका छन्, “एलेक्सीको शव उहाँकी आमालाई बुझाइएको छ, हामीसँग यो माग गर्ने सबैलाई धेरै धेरै धन्यवाद ।” उनका अनुसार नाभाल्नीको शव राखिएको आर्कटिक सहर सालेकहार्डमा उनकी आमा ल्युडमिला नाभाल्नाया अझै रहेकी छन् ।
फेब्रुअरी १६ मा एलेक्सी नाभाल्नीको पेनल कोलोनी कारागारमा हुँदा मृत्यु भएको हो । रुसी प्रेस सेवालाई उद्धृत गर्दै सिएनएनले नाभाल्नीले ‘टहलिएपछि अस्वस्थ महसुस गर्नुभएको’ र ‘करिब तुरुन्तै’ बेहोश हुनुभएको बताएको छ ।
यार्मिशले नाभाल्नीको अन्तिम संस्कार सम्बन्धमा अझै योजना नबनाइएको बताएका छन् । “परिवारले चाहेअनुसार र एलेक्सीको चाहनाबमोजिम गर्न अधिकारीहरूले हस्तक्षेप गर्छन् वा गर्दैनन् हामीलाई थाहा छैन”, उनले भने, “खबर आउनेबित्तिकै हामी तपाईंलाई सूचित गर्नेछौँ ।”
नाभाल्नीको परिवार र सहकर्मीहरूले उनको मृत्युका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दोष दिएका छन् । एलेक्सी नाभाल्नीको मृत्यु मार्चमा रुसमा हुन गइरहेको राष्ट्रपति निर्वाचनअघि भएको छ । एलेक्सी नाभाल्नीकी श्रीमती युलिया नाभाल्नायाले पुटिनमाथि नाभाल्नीको मृत्युको कारण लुकाउन र उनको अन्तिम संस्कारमा ठूलो भीड सहभागी हुने डरले शवलाई राख्न आदेश दिएको आरोप लगाएका छन् । क्रेमलिनले उक्त आरोपलाई अस्वीकार गरेको सिएनएनले बताएको छ ।
पछिल्ला धेरै दिनदेखि नाभाल्नीको परिवारले रुसी अधिकारीहरूसँग उनको शव दिन अनुरोध गरिरहेको थियो । एलेक्सी नाभाल्नीकी आमा ल्युडमिला नाभाल्नायाले आफ्नो छोराको मृत्युपछि तुरुन्तै शव निकाल्न सालेकहार्डको भ्रमण गरेका थिए । यद्यपि उनको अनुरोधलाई रुसी अधिकारीहरूले बारम्बार अस्वीकार गरेका थिए ।
यसैबिच एलेक्सी नाभाल्नीको श्रीमती र छोरीले फेब्रुअरी २२ मा सान फ्रान्सिस्कोमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गरेका छन् । युलिया नाभाल्नाया र दशा नाभाल्नायासँगको भेटका क्रममा बाइडेनले कारागारमा रुसी नेताको मृत्युपछि ‘हार्दिक समवेदना’ व्यक्त गरे । उनले एलेक्सीलाई असाधारण साहस र भ्रष्टाचारविरुद्ध लड्ने उनको विरासतको प्रशंसा गरे ।
विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति बाइडेनले एलेक्सी नाभाल्नीको असाधारण साहस र भ्रष्टाचारविरुद्ध लड्ने उहाँको विरासत र कानूनी शासन सबैका लागि समानरूपमा लागु हुने एक स्वतन्त्र तथा लोकतान्त्रिक रुसका लागि प्रशंसा व्यक्त गर्नुभयो ।”
बाइडेनले एलेक्सीको विरासत रुस र विश्वभरका मानिसले उनको क्षतिमा शोक मनाउने र स्वतन्त्रता, लोकतन्त्र तथा मानवअधिकारहरूका लागि लड्ने माध्यमबाट जारी राख्नेमा जोड दिनुभएको छ । ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “ह्वाइट हाउस प्रशासनले एलेक्सीको मृत्यु, रुसको दमन र आक्रामकता तथा युक्रेनमा रुसको क्रुर र अवैध युद्धको जवाफमा भोलि रुसविरुद्ध नयाँ प्रतिबन्धको घोषणा गर्ने उहाँले पुष्टि गर्नुभएको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण