शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङमा सादा पोसाकका प्रहरी हटाइने

सोमबार, १४ फागुन २०८०, १८ : २१
सोमबार, १४ फागुन २०८०

विराटनगर । मोरङ प्रहरी प्रमुख भएर आएका नयाँ एसपी नवराज कार्कीले जिल्लामा सादा पोसाकमा परिचालन हुने घुमुवा प्रहरी नराख्ने भएका छन् । विराटनगरमा आज संसारकर्मीहरूसँगको एक कार्यक्रममा उनले तत्काललाई सादा पोसाकका प्रहरी नराख्ने बताएका हुन् । 

सूचना संकलनका लागि भनेर यसअघिका एसपी दीपक पोखरेलले परिचालन गरेको पाँच जना सादा पोसाकका प्रहरीलाई कार्कीले फिर्ता बोलाएर उनीहरूको दरबन्दी रहेको जिल्लामै सरुवा गरिदिएका छन् । 

फागुन ७ गते मोरङ प्रहरी प्रमुख भएर आएका कार्कीले कार्यभार सम्हाले लगत्तै सादा पोसाकमा खटिएका वरिष्ठ नायव निरीक्षक राजेन्द्र कटुवाल, सहायक प्रहरी हवलदार सुदर्शन कालाखेती, प्रहरी जवानहरू चुँडामणि सुयल, अमृत श्रेष्ठ र काचुम भोटेको सरुवा गरेका हुन् । 

वरिष्ठ नायव निरीक्षक कटुवालको उच्च अदालत विराटनगरमा, सहायक प्रहरी हवलदार कालाखेतीको जिल्ला प्रहरी कार्यालय खोटाङ, प्रहरी जवानहरू अमृतको तेह्रथुम, भोटेको ओखलढुङ्गा जिल्ला प्रहरी कार्यालयमा सरुवा भएको हो । 

सरुवा भएका प्रहरीहरूले मङ्गलवार नै रमाना बुझेर दरबन्दी भएको ठाउँमा खटिएका छन् । यसअघि सादा पोसाकमा रहेका प्रहरी सहायक हवलदार गणेश श्रेष्ठ प्रहरी चौकी बखरीमा सरुवा भएका छन् ।

एसपी कार्कीले तत्काल सादा पोशाकको प्रहरी नराख्ने प्रतिबद्धता जनाएपनि आवश्यकता परेको खण्डमा परिचालन भने हुने बताए । 

एसपी कार्कीले चाँडै कार्य योजना बनाएर शान्ति सुरक्षा व्यवस्थापन, अपराध रोकथाम र नियन्त्रणमा काम गर्ने बताए । ‘चाँडै कार्य योजना तयार हुनेछ । त्यसपछि योजना अनुसार काम हुनेछन् । लागूऔषध नियन्त्रण, चोरी, तस्करी, अवैध भन्सार छली रोक्न प्रहरी लागि पर्नेछु,’ उनले भने, ‘त्यसमा सबैको साथ सहयोगको खाँचो रहेको छ ।’ आफू आएलगत्तै एक हप्तामा दुई लाख भन्दा बढी भन्सार छली गरेको सामान बरामद गरेको उनले जानकारी दिए । जिल्ला प्रहरी र मातहतको इलाकाबाट सेवाग्राहीलाई सेवा प्रवाह चुस्त र दुरुस्त बनाएर लैजाने उनले बताए । ‘सेवाग्राहीको रेस्पोन्स चाँडो भन्दा चाँडो गर्नेछु,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप