बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आचार्यको उपचारमा भएको खर्चमा सरकारले आवश्यक सहयोग गर्छ: प्रधानमन्त्री

मङ्गलबार, १५ फागुन २०८०, १४ : ०३
मङ्गलबार, १५ फागुन २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्व. भक्तराज आचार्यको उपचारमा भएको खर्चबारे सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।सोमबार निधन भएका आचार्यको पार्थिव शरीर मंगलबार अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य प्रतिष्ठानमा राखेसँगै श्रद्धाञ्जली अर्पण गर्न पुगेका प्रधानमन्त्री दाहालले सो प्रतिबद्धता जनाएका हुन् । 

उनले वरिष्ठ गीतकार, संगीतकार भक्तराज आचार्यको निधनले देशलाई अपूरणीय क्षति पुगेको बताए । उनले स्व. आचार्यले गीत, संगीतको क्षेत्रमा पुर्‍याएको योगदान अजर अमर रहने बताए । प्रधानमन्त्री प्रचण्डले उनका सिर्जनाहरू कालजयी रहने बताए ।

उनले भने, ‘वरिष्ठ गीतकार, संगीतकार भक्तराज आचार्यको निधनले हामी सबैलाई स्तब्ध बनाएको छ । शोकको यो घडीमा सबैभन्दा पहिला त म भजन शिरोमणिको रूपमा स्थापित भक्तराज आचार्यप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । सबै शोकाकुल परिवार र सबै संगीत र कलाको क्षेत्रमा समर्पित व्यक्तित्वहरूलाई पनि समवेदना व्यक्त गर्दछु । हामी सबै शोकमा छौँ र लामो अस्वस्थतापछि आज हामी उहाँको अन्तिम बिदाइ गर्दैछौँ । सबैलाई यसले भावविह्वल बनाएको छ । उहाँले गीत संगीतको क्षेत्रमा जुन योगदान गर्नुभएको छ, त्यो अमर अजर नै रहन्छ । कालजयी नै छन् उहाँका योगदानहरू । त्यसले गीत संगीतका क्षेत्रलाई लामो समयसम्म उत्प्रेरणा दिइरहनेछ, दिशा निर्देश गर्नेछ नै । उहाँको उपचारको सन्दर्भमा भएको खर्चका सम्बन्धमा र आउने दिनमा गर्नुपर्ने अन्य कामहरूको बारेमा म परिवारका अन्य सदस्यहरू जो आफैँ पनि संगीत र कलाको क्षेत्रमा स्थापित हुनुहुन्छ, कुराकानी गरेर जे गर्न सकिन्छ, नेपाल सरकारको तर्फबाट त्यो सहयोग हुने विश्वास व्यक्त गर्दछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप