सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
ठगी

मासिक २ लाख कमाउने लोभमा भारतमा ठगिँदै नेपाली

अस्तित्व नै नभएको कम्पनी देखाएर पटकपटक ठगी
बुधबार, १६ फागुन २०८०, १९ : ५०
बुधबार, १६ फागुन २०८०

काठमाडौँ । नेपालमा जागिर पाउनै मुस्किल छ । जागिर पाइहाले पनि मासिक रुपमा पाउने औसत तलब भनेको २० हजार रुपैयाँमात्रै हो । उक्त तलबले दैनिकी चलाउनै मुस्किल पर्ने अवस्थामा कसैले न्यूनतम मासिक कमाइ नै ५० हजारदेखि २ लाख रुपैयाँसम्म हुन्छ भन्यो भने तपाईं के गर्नुहुन्छ ? सहज जवाफ छ– अरु सबैकुरा छाडेर त्यही जागिर गर्न गइन्छ ।

हो, अहिले मासिक कम्तीमा ५० हजार नेपाली रुपैयाँ र अधिकतम मासिक २ लाख रुपैयाँसम्मको कमाइ हुने लोभमा धेरै नेपाली युवायुवती भारतको पटना पुगेका छन् । मुख्यतः भारतीय सीमा क्षेत्रमा रहेका युवायुवतीहरु आकर्षक तलब पाउने लोभमा पटना पुगेर १० देखि १५ हजार भारतीय रुपैयाँ तिर्दै ‘मासिक २ लाख रुपैयाँ कमाउने तालिम’ लिइरहेका छन् ।

भारतको पटनामा कारखाना रहेको भनिएको ‘मोडर्न फेसन ट्रेड मार्ट’ नामक कम्पनीमा बिहान ६ बजेदेखि बेलुकासम्म उनीहरुले तालिम गरिरहेका छन् । कम्पनीले तालिम दिँदा गार्मेण्ट कम्पनीको काम रहेको, त्यहाँ सिलाइकटाइ लगायतको तालिम हुने र फेसनेबल कपडा उत्पादन हुने भनेको छ । तर तालिम दिने स्थानमा फ्याक्ट्री, गोदाम लगायतका कुनै संरचना छैन । मानिसहरु यो वा त्यो नाममा नेपालबाट भारतको पटनामा रोजगारीको लोभमा पुगिरहेका छन् ।

यतिबेला उदयपुरकी सविना राई पनि भारतकै पटनामै तालिम गरिरहेकी छन् । उनलाई गार्मेण्टको मार्केटिङ, सिलाइ, कटाइ र व्यापारको तालिम दिइरहेको छ । त्यस बापत उनले १० हजार भारतीय रुपैयाँ तिरेकी छन्, यद्यपि उनीसँग थप ५ हजार भारतीय रुपैयाँ मागिएको छ ।

  • कसरी पुग्छन् पटनासम्म ?

उमेर समूह र क्षेत्र तोकेर भारतीय गिरोहले फेसबुक लगायतको सामाजिक सञ्जालमा पटकपटक विज्ञापन गरिरहेको छ । भारतको बिहारमा रहेको मोडर्न फेसन ट्रेड मार्ट नामक कम्पनीमा प्याकिङ सहायक, सुरक्षा गार्ड, सेल्सम्यान, ड्राइभर आदि आवश्यक परेको र मासिक तलब २२ हजारदेखि ४० हजार रुपैयाँसम्म हुने भन्दै विज्ञापन आउँछ । तर त्यसमा मोबाइल नम्बर प्रयोग गरिएको हुँदैन र त्यहाँ ह्वाट्सएप नम्बरमात्रै दिइएको हुन्छ ।

Modern Fashion Trade Mart 4

त्यस्तै प्रकारमा अन्य कैयन् विज्ञापन फेसबुकमै देख्न सकिन्छ । अर्को विज्ञापनमा फ्याक्ट्रीमा काम गरिरहेको फोटो, गार्मेण्टबाट तयार भएको कपडाको फोटो, सिलाइ तथा कटाइ गरिरहेको फोटो र सेक्युरिटी गार्डको फोटो राखेर विज्ञापन गरिएको छ ।

त्यस्तै अर्को फोटोमा पनि महिलाहरुले सिलाइकटाइ गरिरहेको फोटो राखेर सोही कम्पनीको नामबाट कर्मचारी आवश्यकता भन्ने विज्ञापन गरिएको छ । तिनै विज्ञापन हेरेर नेपाली युवायुवतीले विज्ञापनमै दिइएको भारतीय नम्बरको ह्वाट्सएपमा सम्पर्क गर्छन् र रोजगारी सम्बन्धी कुरा गर्छन् । कम्पनीका तर्फबाट कुराकानी गर्ने व्यक्तिहरु नेपाली नै छन् र उनीहरुलाई एक साताको तालिम लिएपछि मासिक न्यूनतम २२ हजार भारतीय रुपैयाँदेखि माथि तलब हुने गरी जागिर पाइन्छ भनिन्छ ।

Modern Fashion Trade Mart 3

तालिम लिएर काम गर्नेहरुले मासिक १२ लाख रुपैयाँसम्म कमाइ गरिरहेको कुरा पनि सुनाइन्छ र राम्रोसँग मेहनत गरे तपाईंहरुले पनि त्यति रकम कमाइ गर्न सक्ने दाबी गरिन्छ ।

सुरुमा कुरा गर्दा आफूहरुको ठुलो फ्याक्ट्री भएको, भारत तथा नेपालको विभिन्न स्थानमा समेत फ्याक्ट्री सञ्चालनमा रहेको, विदेशमा समेत कपडा निर्यात गर्ने गरेको जानकारी दिइन्छ ।

यतिमात्र होइन, भारतमा काम गरे पनि पाइने र नेपालकै फ्याक्ट्रीमा काम गर्न पनि पाइने बताइन्छ । तालिम एक सातादेखि २ साताको हुने र खाने–बस्ने व्यवस्था पनि कम्पनीले नै गरिदिने बताइन्छ । तर तालिम लिएपछि नभागुन् भनेर १० देखि १५ हजार रुपैयाँ तालिम बापत तिर्नुपर्ने बताइन्छ ।

फेसबुकमा मोडर्न फेसन ट्रेड मार्टको नामबाट यस्ता धेरै विज्ञापन पाइन्छ । सोही कम्पनीको नामबाट पोष्ट गरिएको एउटा भिडियोमा फ्याक्ट्रीमा काम गरिरहेको दृश्यसमेत देखाइएको छ । मुख्यतः सीमा क्षेत्रका नेपाली युवायुवतीलाई लक्षित गरी विज्ञापन गर्ने र उनीहरुलाई यस्तै कुरामा कन्भिन्स गरेर भारतको पटना पुर्‍याउने गरिएको छ ।

तर उक्त कम्पनीले आफ्नो फेसबुक र युट्युबमा पोष्ट गरेको भिडियो उसको आफ्नै कम्पनीको भने होइन । भिडियोमा देखाइएको कम्पनी नेपालको ललितपुरमा रहेको थ्रेड गार्मेण्टसको हो, जुन भिडियो कम्पनी आफैँले तयार पारी अपलोड गरेको थियो । थ्रेड गार्मेण्टलाई मोडर्न फेसन ट्रेड लिङ्क के हो भन्ने पनि थाहा छैन र उक्त कम्पनीसँग कुनै साइनो वा सम्बन्ध पनि छैन । तर पटनामा तालिम दिने समयमा गिरोहले उक्त गार्मेण्ट आफूहरुको भएको र नेपालमा समेत कम्पनी खोलिएको भन्ने गरेको छ ।

थ्रेड गार्मेण्टका सञ्चालक कृष्णराज तिमिल्सिनाले मोडर्न फेसन ट्रेड मार्ट कहाँको कुन कम्पनी हो र त्यसले के काम गर्छ भन्ने आफूलाई थाहा नभएको बताए । आफ्नो फोटो तथा भिडियो उक्त संस्थाले अनधिकृतरुपमा प्रयोग गरिरहेको उनको भनाइ छ ।

मोडर्न फेसन ट्रेड मार्टले यस कम्पनीको मात्रै फोटो पोष्ट गरेको छैन, अन्य धेरै कम्पनीमा काम गरिरहेका कर्मचारीहरु, गोदाम आदि स्थानको फोटो पनि त्यसैगरी पोष्ट गर्ने गरेको छ र नेपालबाट युवायुवती लगेर शुल्क लिएर तालिम गर्न लगाएको पाइएको छ ।

रातोपाटीलाई प्राप्त एक सानो भिडियोमा नेपालबाट गएका युवायुवतीहरु तालिमपश्चात एउटा भाडामा लिइएको घरको छतमा खाना खाइरहेको देख्न सकिन्छ । उनीहरुलाई बस्नका लागि कुर्सीसमेत उपलब्ध गराइएको छैन भने एउटै कोठामा १० देखि १२ जनासम्म राखेर सुताएको पाइएको छ ।

  • तालिम सकिएपछि लगानीका लागि दबाब

उक्त कम्पनीमा पहिले गइ तालिम गरेर फर्किएकाहरुका अनुसार उक्त कम्पनीले सुरुमा तालिम भनेर पैसा लिन्छ र त्यसपछि लगानीसमेत गर्न लगाउँछ । एक पटकमा २ लाख लगानी गरेपछि रोजगारी पनि पाइरहने र मासिक १२ लाख रुपैयाँसम्म कमाइ हुने लोभ देखाइन्छ ।

तालिम सकिएपछि त्यहाँ कोट, पाइन्ट लगाएका मानिस निम्त्याइन्छ र तालिम लिएर लगानी गरी काम गर्न थालेपछि मासिक १२ लाख रुपैयाँसम्म कमाइ भइरहेको भन्न लगाइन्छ । आफूहरुको कपडा फ्याक्ट्री रहेको र त्यहाँबाट सिलाइ गरिसकेको कपडाको मार्केटिङ तथा बिक्री गर्ने काम भएको बताइन्छ । अनि त्यसका लागि २ लाख नेपाली रुपैयाँ लगानी गर्न बाध्य बनाइन्छ ।

ठगी यतिमै रोकिँदैन । पहिले तालिम गरेर लगानी गरिसकेपछि अर्को धन्दा सुरु हुन्छ, नेपालबाट तालिम र मार्केटिङका लागि थप मान्छे लिएर आउने । त्यसका लागि नेपालबाट मान्छे ल्याएर तालिम लिइ लगानीसमेत गरेपछि त्यसको कमिसन आउने लोभ देखाइन्छ । पिरामिड शैलीमा सदस्य बनाएपछि कमिसन आउने लोभ देखाएर सदस्य बनाउन बाध्य पारिन्छ । उनीहरुलाई पनि २ लाख लगानी गर्न लगाइन्छ र लाखौँ कमाइको लोभ देखाइन्छ ।

उदयपुरकी सविना राई पनि त्यस्तै पिरामिड शैलीबाट सदस्य बन्ने चरणमा छिन् । सुरुमा उनले १० हजार भारतीय रुपैयाँ दिएर तालिम लिइरहेकी छन् भने यही बिहीबार उनको तालिम सकिँदैछ । त्यसपछि उनले लगानीसमेत गर्ने तयारी गरेकी छन् ।

रातोपाटीलाई प्राप्त सविना र उनका साथीको कुराकानीको स्क्रिनसटमा सविनाले अहिले तालिम लिइरहेको र अब २ लाख लगानी गर्ने तयारी गरेको उल्लेख छ । सविनाका साथीले उक्त कम्पनी ठग हो र पिरामिड शैलीको कम्पनी भएकाले लगानी नगर्न सम्झाएका छन् । तर सविनाले उल्टै प्रतिउत्तर दिएकी छन्– २ लाख लगानी गरेर १२ लाखसम्म कमाइ हुन्छ भने किन लगानी नगर्ने ?’

collage

  • कम्पनी ठग रहेको भन्दै त्यहाँ नजान पीडितको सुझाव

जब कम्पनीले कर्मचारी आवश्यक परेको भन्दै विज्ञापन गर्छ, त्यसको केही समयमै उक्त पोष्ट डिलिट गर्ने गरेको छ । त्यतिमात्रै होइन, कम्पनीले पटकपटक कम्पनीको नामसमेत परिवर्तन गरिरहेको पाइएको छ ।

धेरै नेपालीहरु उक्त कम्पनीमा कामका लागि भनेर गएको र ठगिने गरेको पाइएको छ । उक्त विज्ञापनमा धेरै नेपालीले कमेण्ट गर्दै कम्पनी ठग भएको र विश्वास नगर्न भनिरहेका छन् । तर पनि त्यहाँ पुगेर नेपालीहरु ठगिने क्रम रोकिएको छैन ।

एक पीडित नेपालीले आफूलाई सुरुमा तालिम र त्यसलगत्तै रोजगारी हुन्छ भनी लगेको तर पछि आफूलाई अरुकोमा काम गर्ने होइन, आफैँ मालिक बन्नुपर्छ भनेर २ लाख ५० हजार रुपैयाँ लगानी गर्न लगाएको बताएका छन् ।

त्यसपछि मात्रै आफू जागिरे हुने र अन्य १० जनालाई २ लाख ५० हजार रुपैयाँका दरले लगानी गर्न ल्याएपछि उक्त रकम फिर्ता पाउने, नत्र त्यो रकम पनि जफत हुने भनिएको उनको भनाइ छ । लगानी गर्न नसक्नेको हकमा तालिमका लागि लगेको करिब २० हजार रकम खाएर रित्तै घर फर्कनुपर्ने अवस्था हुने उनको पोष्टमा उल्लेख छ ।

हेर्नुहोस्, पोष्ट

Fraud 3

त्यस्तै कर्मचारी चाहिएको सम्बन्धी विज्ञापनमा अर्का एक व्यक्तिले पनि कमेण्ट गर्दै कम्पनी ठग रहेको उल्लेख गरेका छन् । यु डी नामक फेसबुक युजरले उक्त कम्पनी ठग भएको र पछि प्रत्येकसँग २–२ लाख लुट्ने भएकाले भ्रममा नपर्न भनेका छन् ।

Modern Fashion 3

त्यस्तै रुपेश चौधरी नाम गरेका फेसबुक युजरले पनि आफूसमेत ठगिएको भन्दै भ्रममा नपर्न भनेका छन् ।

Modern Fashion Trade Mart 2

सामाजिक सञ्जालमा यस्ता कमेण्ट आउनेबित्तिकै कम्पनीले त्यस्ता कमेण्ट डिलिट गर्ने र कतिपय विज्ञापन नै डिलिट गर्ने गरेको पाइएको छ । नेपालका सीमा क्षेत्रका धेरै मानिस यस्तो ठगीमा परिसकेको र ठगिएको आफ्नो पैसा उठाउन अन्य व्यक्तिलाई समेत त्यहाँ लाने गरिएको पाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप