सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जाजरकोट भूकम्प : रुकुम पश्चिममा ३१ हजारले पाए पहिलो किस्ता

शनिबार, १९ फागुन २०८०, १४ : ५९
शनिबार, १९ फागुन २०८०

त्रिवेणी । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुरयाएको रुकुमपश्चिममा हालसम्म ३० हजार आठ सय ३१ लाभग्राहीले पहिलो किस्ताबापतको रकम प्राप्त गरेका छन् । अस्थायी आवास निर्माण गर्न जिल्लाका छ वटै पालिकाका ३० हजार आठ सय ३१ लाभग्राहीले पहिलो किस्ताबापत रु २५ हजारका दरले रकम प्राप्त गरेका हुन् । सबैभन्दा बढी आठबीसकोट नगरपालिकाका नौ हजार सात सय ३२ र सबैभन्दा कम मुसीकोट नगरपालिकामा एक हजार छ सय ६० लाभग्राहीले पहिलो किस्ताबापत रकम प्राप्त गरेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए ।

उनका अनुसार सानीभेरी गाउँपालिकामा पाँच हजार आठ सय चार, त्रिवेणी गाउँपालिकामा लाभग्राही कायम भएका तीन हजार सात सय ४७, चौरजहारी नगरपालिकामा छ हजार दुई  सय ६९ र बाँफीकोट गाउँपालिकामा दुई हजार छ सय ४१ लाभग्राहीेले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् ।

सहायक प्रजिअ बढुवालले ६ वटै स्थानीय तहमा हालसम्म रु २५ हजारका दरले रु ७७ करोड १० लाख २५ हजार रकम  लाभग्राहीलाई उपलब्ध गराइएको जानकारी दिए । उनका अनुसार जिल्ला विपद् व्यवस्थापन कोषबाट ३१ हजार नौ सय ६२ लाभग्राहीका लागि स्थानीय तह विपद् जोखिम न्यूनीकरण कोषमा रु ७९ करोड ९० लाख ५० हजार पठाएको छ । 

जिल्लामा हालसम्म २८ हजार तीन सय ३४ अस्थायी आवास निर्माण सम्पन्न भएका छन्भने तीन हजार चार सय ४६ निर्माणको चरणमा रहेका सहायक प्रजिअ बढुवालले जानकारी दिए । अब जिल्लामा पहिचान भएका एक हजार एक सय ३१ लाभग्राहीले पहिलो किस्ता पाउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप